
काठमाडाैं । नेपाल राष्ट्र बैंकले २ अर्ब रुपैयाँ बराबरको ट्रेजरी बिल बिक्री गर्ने भएको छ । सरकारलाई आवश्यक रकम जुटाउन राष्ट्र बैंकले फागुन ५ (आज) गते सोमबार उक्त रकम बराबरको ट्रेजरी बिल बोलकबोल प्रक्रियाबाट बिक्री गर्ने सूचना जारी गरिसकेकाे छ ।
सोमबार मध्याह्न ३ बजेसम्म अनलाईन बिडिङ्ग प्रणाली मार्फत बोलकबोल गर्न सकिने राष्ट्र बैंकले जनाएकाे छ । केन्द्रीय बैंकले यसअघि जारी गरेर मिति समाप्त भएका ट्रेजरी बिलहरुको नवीकरण गर्न लागेको हो ।
बैंकले बिक्री गर्न लागेको उक्त ९१ दिन अवधिको २ अर्ब रुपैयाँ बराबरको ट्रजरी बिल २०७७ जेठ ६ गते परिपक्व हुने सूचनामा जनाइएकाे छ ।
बोलकबोल मार्फत बिक्री गर्न लागेको उक्त ट्रेजरी बिलमा सोमबार मध्याह्न ३ बजेसम्म अनलाईन बिडिङ्ग प्रणाली मार्फत बोलकबोल गर्न सकिने केन्द्रीय बैंकले जनाएको छ। फागुन ६ गते मंगलबार जारी हुने ट्रेजरी बिलको बोलकबोलमा बैंक तथा वित्तीय संस्था, संगठित संस्था तथा सर्वसाधारण नागरिक समेत सहभागी हुन सक्नेछन्।
बोलकबोलमा सबैभन्दा बढी मूल्य उल्लेख गर्ने संस्थालाई पहिलो प्राथमिकतामा राखेर क्रमैसँग आह्वान रकमसम्म ट्रेजरी बिलको बाँडफाँड गरिने राष्ट्र बैंकले जनाएको छ ।
ट्रेजरी बिल एक वर्ष वा एक वर्षभन्दा कम अवधिको आन्तरिक ऋण उठाउन प्रयोग गरिने अल्पकालीन सरकारी ऋणपत्र हो । सरकारलाई आवश्यक पर्ने अल्पकालीन अवधिको स्रोत जुटाउन यो बिल बिक्री गरिन्छ।
राष्ट्र बैंकले यसअघि माघ २७ गते पनि ९१ दिन अवधिको १० करोड रुपैयाँको ट्रेजरी बिल बिक्री गरेको थियो ।
प्रतिक्रिया दिनुहोस