
काठमाडौं । आगामी सातासम्म नेपाल राष्ट्र बैंकको नयाँ गभर्नर सिफारिस गर्न समिति बन्ने भएको छ । सरकारले गभर्नर डा. चिरञ्जीवी नेपालको कार्यकाल आगामी चैत ५ गतेबाट सकिन लागेकाले नयाँ गभर्नर सिफारिस गर्न समति गठन गर्न लागिएको हो ।
अर्थमन्त्रालय स्रोतका अनुसार, आगामी साता नयाँ गभर्नर सिफारिस गर्नका लागि समिति बन्ने बढी सम्भावना रहेको छ । गभर्नर नियुक्तिका लागि समिति गठन गर्न ढिला भइसकेकोले पनि आगामी सातासम्म समिति गठन हुने अनुमान गर्न थालिएको छ ।
गभर्नर सिफारिस गर्न बन्ने समितिको अध्यक्ष भने अर्थमन्त्री हुनेछन् । समितिमा पूर्व गभर्नरहरु मध्येबाट एकजना सदस्य हुन्छन् भने अर्को सदस्यमा सरकारले तोकेको ब्यक्ति हुने प्रावधान छ । गभर्नर हुनका लागि ब्यक्ति आर्थिक, मौद्रिक, बैंकिङ, वित्तीय तथा वाणिज्य कानूनको क्षेत्रमा लब्धप्रतिष्ठित हुनु पर्ने छ भनिएको छ ।
राष्ट्र बैंक ऐनमा बहालवाला गभर्नरको पद रिक्त हुनुभन्दा सामान्यतया एक महिना अगाडि नै अर्को गभर्नर नियुक्ति हुनुपर्ने प्रावधान छ । यस हिसाबले सरकारले फागुन ५ गतेभित्र नयाँ गभर्नर नियुक्त गरिसक्नु पर्ने थियो । तर, उक्त समय भित्र समिति समेत गठन हुन सकेको छैन् ।
पाँच वर्षे कार्यकाल पूरा गरी वर्तमान गभर्नर नेपालले आगामी चैत ५ गते अवकाश पाउदै छन् । अहिलेसम्म सरकारले समिति समेत बनाउन सकेको छैन् । हुन त अहिलेका अर्थमन्त्री डा. युवराज खतिवडा गभर्नर हुँदा पनि ढिला नै समिति गठन गरिएको थियो र उनी गभर्नरबाट अबकास पाएपछि नयाँ गभर्नर नियुक्ति गरिएको थियो । नयाँ गभर्नर नियुक्त गर्न एउटा समिति गठन गरेर त्यसबाट सिफारिस भएका व्यक्तिमध्येबाट एक जनालाई नियुक्त गर्नुपर्ने कानुनी प्रावधान छ ।
अहिलेसम्म पनि समिति गठन नभएकाले गभर्नर नियुक्तिमा ढिलाई हुने भएको छ । नयाँ गभर्नर नियुक्ति ढिलाइ हुने भएपछि वहालबाला गभर्नर डा.नेपालले अन्तिम दिनसम्म काम गर्नु पर्ने अवस्था आउने सम्भावना बढेको छ । नयाँ गभर्नर नियुक्ति गर्न ढिलाइ भएका कारण यसअघिका गभर्नर खतिवडा पनि अन्तिम दिनसम्म राष्ट्र बैंक गएर काम गरेका थिए । तर, समयमै गभर्नर नियुक्ति हुने हो भने वहालवाला गभर्नर एक महिनाअघि नै विदा बस्ने चलन छ ।
अहिलेका गभर्नर डा. नेपाल पनि नयाँ गभर्नर चाँडै नियुक्त भए एक महिनाअघि नै बिदा बस्ने योजनामा बनाएका थिए । त्यही योजना अनुसार नै फागुन पहिलो सातासम्म चालु वर्षको मौद्रिक नीतिको अर्धवार्षिक समीक्षा सक्ने तयारीमा जुटेका थिए । तर, अर्थमन्त्री डा. खतिवडाले मौद्रिक नीतिको समिक्षा गर्न हतार नगर्न आग्रह गरेपछि मौद्रिक नीतिको समिक्षा पनि आगामी साता मात्रै हुने भएको छ ।
समितिले गभर्नरका लागि सिफारिस गर्दा आर्थिक, मौद्रिक, बैंकिङ, वित्तीय, वाणिज्य, ब्यवस्थापन तथा वाणिज्य कानुन क्षेत्रको लब्धप्रतिष्ठित ब्यक्तिहरू मध्येबाट दुईजना र एकजना भने राष्ट्र बैंकका डेपुटी गभर्नर मध्येबाट छान्नुपर्ने कानुनी ब्यवस्था छ । समितिले कुल तीन जनाको नाम सिफारिस गर्छ । तिनै नामभित्र रहेर मन्त्रिपरिषद्ले एक जनालाई गभर्नर नियुक्त गर्ने छ ।
यसअघि गभर्नर सिफारिसमा दुवैजना डेपुटी गभर्नर परेका थिए भने बाहिरबाट डा. नेपालको नाम सिफारिस गरिएको थियो । बहिरबाट गभर्नर नियुक्ति गर्दा बिबाद आयो भने डेपुटी गभर्नरबाट गभर्नर नियुक्ति गरिने चलन भएको पूर्वगभर्नरहरुको भनाइ छ ।
नेपाल राष्ट बैंकको नयाँ गभर्नरका लागि डेपुटी गभर्नर चिन्तामणि सिवाकोटी, मुख्यसचिव लोकदर्शन रेग्मी, लगानी बोर्डका प्रमुख कार्यकारी अधिकृत महाप्रसाद अधिकारी, डा. मिनबहादुर श्रेष्ठलाई गभर्नको दौडमा अग्रपक्तिमा छन् ।
यसैगरी, अर्थ सचिव डा. राजन खनाल, राष्ट्र बैंकका पुर्व कार्यकारी निर्देशकहरु भाष्करमणी ज्ञावली, बासुदेव अधिकारी लगायतका पनि गभर्नरको दौडमा रहेका छन। यसपाली पनि बिगतमा जस्तै यूनतम योग्यता पुगेका तर, राजनीतिक पँहुच बढी भएका व्यक्तिलाई गभर्नर नियुक्ति गर्ने सम्भावना बलियो बन्दै गएको छ ।
प्रतिक्रिया दिनुहोस