aarthiknews.com विहीबार, ०९ जेठ २०८२   Thursday, 22 May, 2025
 

बैंकहरुमा विश्वासको संकट, एउटा बैंकले ल्याउन लागेको पैसा अर्कोले उडाइ दिएपछि

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • शनिबार, ३० चैत्र २०७५
बैंकहरुमा विश्वासको संकट, एउटा बैंकले ल्याउन लागेको पैसा अर्कोले उडाइ दिएपछि

अहिले बैंकलाई लगानीयोग्य रकम (तरलता) को अभाव छ । यस्तो बेलामा बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) देखि सामान्य कर्मचारी र बैंक सञ्चालकसम्म निक्षेप संकलन कसरी गर्ने भन्ने चिन्तामा छन् ।

लगानीयोग्य रकमको अभावका कारण बैंकको व्यापार व्यवसाय नै खुम्चिने अवस्था आएको छ । बैंकहरुबीच निक्षेप संकलनमा प्रतिस्पर्धा नै चलेको छ ।

एक बैंकले अर्को संस्था वा व्यक्तिबाट लिने तयारी गरिरहेको रकम तेस्रो पक्षले उम्काउने अवस्थासमेत आएको छ । तीन दिन अघि एक बैंकका सीईओले नाम नबताउने सर्तमा भने, ‘पछिल्लो समय बैंकिङ क्षेत्रमा झन् धेरै विश्वासको संकट आएको छ’, उनले भने–‘यसअघि अन्य क्षेत्रमा यस्तो विश्वासको संकट थियो, अहिले त्यो रोग बैंकिङ क्षेत्रमा समेत फैलिएको छ ।’

ती सीईओका अनुसार बैंकमा लगानीयोग्य रकमको अभावको खडेरी परेपछि यस्तो विश्वासको संकट झागिँदै गएको हो । ‘हाम्रो बैंकले एउटा संस्थाबाट ५० करोड लिनका लागि मौखिक रुपमा सहमति थियोे’, उनले आफ्नो बेदना पोख्दै भने–‘त्यसको अर्को दिन अर्को बैंकले केही बढी ब्याज दिने शर्तमा उक्त संस्थाबाट पैसा लगेछ ।’ पछिल्लो समय सरकारी ढुकुटीमा रहेको रकम समेत खर्च नभएपछि बैंकहरुले लगानीयोग्य रकमको चर्को अभाव खेप्दै आएका छन् ।

स्वदेशी संस्था तथा व्यक्तिबाट निक्षेप संकलन गरी बैंकहरुले ऋण दिने गर्छन् । तर, पछिल्लो समय त्यसरी निक्षेप संकलन गर्न नसकेपछि बैंकहरुले विदेशी वित्तीय संस्थाबाट ऋण लिएर स्वदेशमा ऋण प्रवाह गर्न थालेका छन् ।

नेपाल राष्ट्र बैंकले विदेशी ऋण ल्याउनका लागि नीतिगत रुपमा बाटो खोली दिएपछि बैंकले विदेशबाट ऋण लिन थालेका हुन् । स्वदेशमा लगानी गर्ने पैसा नभएपछि विदेशबाट पैसा ल्याएर ऋण लगानी गर्न बैंकहरु तम्सेका हुन् ।

एनएमबी बैंक त्यसरी ऋण लिनेमा पहिलो बैंक बनेको छ । उसले पटक–पटक गरी करिब ५ अर्ब रुपैयाँ भित्र्याइसकेको छ । एनएमबी बैंकले लिएको ऋणको व्याजदर करिब ९ प्रतिशतको हाराहारीमा रहेको प्रमुख कार्यकारी अधिकृत सुनिल केसीले बताए ।

अन्य बैंकसँगै विदेशी साझेदारीमा सञ्चालित बैंकहरुले पनि विदेशबाट ऋण लिने तयारी गरेका छन् । भारती बैंकको साझेदारीमा खुलेका एसबीआई र एभरेष्टले पनि साझेदार बैंकबाट ऋण लिने तयारी गर्दैछन् ।

हाल सञ्चालनमा रहेका २८ वाणिज्य बैंकमध्ये धेरैले विदेशी बैंकसँग ऋणका लागि प्रक्रिया शुरु गरेका छन् । आन्तरिक स्रोतबाट मात्रै नेपालको ऋणको माग धान्न अपुग भएपछि राष्ट्र बैंकले विदेशबाट पैसा ल्याउने बाटो खोली दिएको थियो । त्यही बाटो प्रयोग गरेर बैंकहरुले ऋण लिन थालेका हुन् ।

राष्ट्र बैंकले शुरुमा प्राथमिक पुँजीको २५ प्रतिशतसम्म ऋण ल्याउन पाइने व्यवस्था गरेको थियो । त्यसपछि बढाएर ५० प्रतिशत पुर्याएको थियो । अहिले फेरि बढाएर शतप्रतिशत पुर्याएको छ । कुनै बैंकको चुक्ता पुँजी आठ अर्ब छ भने त्यही बराबराबको रकम विदेशी बैंकबाट ऋण लिन पाउने व्यवस्था गरिएको छ ।

ऋणको माग गर्नेको संख्या दिन प्रतिदिन बढ्दै गएको छ । तर, बैंकमा ऋण दिने पैसाको अभाव भएपछि विदेशी बैंकबाट ऋण लिएर नेपाली बैंकहरुले सर्वसाधारण लगानीकर्तालाई ऋण दिन थालेका हुन् ।

निक्षेप जति संकलन हुन्छ त्यत्ति नै ऋण प्रवाह भइहाल्ने स्थिति छ । राजनीति स्थायित्व, शान्ति सुरक्षा पहिलेको तुलनामा सुधार हुँदै गएको लगायतका कारण बैंकबाट ऋण लिएर लगानी गर्ने क्रम तीव्र रुपमा बढेको विज्ञहरुको भनाइ छ । पछिल्लो समय ऋणको माग बढेकाले त्यसको जोहो गर्न नेपाली बैंकहरुले विदेशी बैंकसँग ऋण लिन बाध्य हुँदै गएका छन् ।

लगानीको वातावरण सहज बन्दै गएकाले सेवा क्षेत्र, जलविद्युत् व्यापारिकलगायत प्रत्येक क्षेत्रमा ऋणको माग बढेको बैंकरको भनाइ छ पछिल्लो समय कर्जाको माग अत्यााधिक हुन थालेको एक बैंकरले बताए । ‘आपूर्तिभन्दा ऋणको माग अत्याधिक बढी छ,’ उनले भने–‘माग र आपूर्तिबीचको असन्तुलनले समस्या पारेको छ ।’

निक्षेप संकलनमा भन्दा कर्जा लगानीमा आक्रामक देखिएका बैंकहरु लगानीयोग्य रकमको समस्यामा छन् । धेरैजसो बैंकको कर्जा–निक्षेप–पुँजी अनुपात (सीसीडी रेसियो) ८० प्रतिशतनजिक पुगेको छ । अर्थात एक सय रुपैयाँ बैंकहरुले सर्वसाधारबाट निक्षेपको रुपमा संकलन गरे भने ८० रुपैयाँभन्दा बढी लगानी गर्न पाउँदैनन् ।

एक सय रुपैयाँको निक्षेप संकलन गर्दा २० रुपैयाँ नेपाल राष्ट्र बैंकको खातामा राख्नुपर्छ । अहिले बैंकहरुले लगानी गर्न सक्ने जति अर्थात ८० प्रतिशत नै लगानी गरिसकेका छन् । त्योभन्दा बढी लगानी गरे राष्ट्र बैंकले कारबाही गर्छ । केही बैंक बाहेक धेरै बैंकले कर्जा प्रवाह गर्न सक्ने अवस्थामा छैनन् ।

राष्ट्र बैंकले बैंकिङ प्रणालीमा तरलता अभाव हुन नदिन विभिन्न उपकरणमार्फत सुधारका कदम चाले पनि यस क्षेत्रको समस्या समाधान हुन सकेको छैन । सरकारले अपेक्षित रुपमा विकास खर्च गर्न नसक्दा बैंकहरुमा लगानीयोग्य रकमको अभाव हुँदै आएको विज्ञहरुको भनाइ छ ।

सरकारी ढुकुटीमा जम्मा भएर बसेको रकम खर्च हुने हो भने तरलता अभाव सहज हुने बैंकरको भनाइ छ । अहिले करिब पौने २ खर्ब रुपैयाँ सरकारी ढुकुटीमा रहेको रकम खर्च नभएकै कारण समस्या आएको उनीहरुको बुझाइ छ । अघिल्लो वर्षदेखि नै वाणिज्य बैंकहरुको निक्षेप संकलन तथा कर्जा विस्तारमा देखिएको असन्तुलन कायमै छ ।

चालू आर्थिक वर्षको शुरुमा तरलताको अभाव केही कम भएजस्तो देखिए पनि त्यसपछि फेरि चर्किएको छ । बैंकमा देखिएको लगानीयोग्य रकम (तरलता) को अभाव कम गर्न पनि बैंकहरुले विदेशी बैंकसँग ऋण लिन शुरु गरेका हुन् ।

प्रतिक्रिया दिनुहोस