aarthiknews.com सोमबार, २७ जेठ २०८२   Monday, 09 June, 2025
 

लघुवित्तलाई आयकरमा छुट दिएर मर्जरमा लैजाने तयारी

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • सोमबार, १९ फागुन २०७६
लघुवित्तलाई आयकरमा छुट दिएर मर्जरमा लैजाने तयारी

काठमाडौं । नेपाल राष्ट्र बैंकले लघुवित्त संस्थाहरुलाई आयकरमा छुट दिएर भएपनि मर्जरमा लैजाने तयारी गरिरहेको छ । लघुवित्त संस्थाहरु स्तहस्फूर्त रुपमा मर्जरमा जानका लागि त्यस्तो व्यवस्था गर्न लागिएको हो ।

मर्जरमा जाने वाणिज्य बैंकलाई आयकरमा छुट दिएजस्तै लघुवित्तलाई पनि त्यस्तै किसिमको आयकरमा छुट दिने तयारी राष्ट्र बैंकले गरेको हो । मौद्रिक नीतिको अर्धवार्षिक समिक्षासम्ममा त्यस्तो नीति ल्याउने तयारी भइरहेको राष्ट्र बैंकका एक उच्च अधिकारीले जानकारी दिए ।

हाल ३१ वटा लघुवित्त कम्पनी मर्जरमा गएर १३ वटा हुनेगरी मर्जरको प्रस्ताव आएको राष्ट्र बैंकको भनाइ छ । स्तहस्फूर्त रुपमा अझै आउन भनेर नै आयकर छुटको प्रस्ताव ल्याउन लागिएको जानकारी पनि ती उच्च अधिकारीले दिए ।

नेपाल राष्ट्र बैंकका अनुसार, गत पुससम्ममा ९० लघुवित्तहरु सञ्चालनमा छन् । बजारमा ती लघुवित्तको उपस्थिति बढी नै भएका कारण आगामी दिनमा मर्जरलाई अझ प्राथमिकतामा राखेर अघि बढने नीति ल्याउन लागिएको राष्ट्र बैंकको भनाइ छ ।

लघुवित्तलाइ मर्जरमा जाने वाणिज्य बैंकलाई दिएका ५ सुविधाजस्तै सुविधा दिने गरी बिशेष प्याकेज ल्याउन लागिएको हो । मर्जरमा जाने लघुवित्तलाई कर छुट लगायतका सुविधा दिने गरी बिशेष प्याकेज ल्याउने तयारी राष्ट्र बैंकले गरेको छ ।

सकेसम्म सकेसम्म फोर्स गरेर, बाध्य पारेर मर्जर नगरौं भन्ने हाम्रो नीति हो,’ राष्ट्र बैंकका ती उच्च अधिकारीले भने,‘स्तहस्फूत रुपमा मर्जरमा आउन भन्नका लािग ५ ओटा ईन्सेन्टिभसहित ल्याएको प्याकेज ल्याउने तयारी गरेका छौ।’

पछिल्लो समय वाणिज्य बैंक, विकास बैंक र वित्त कम्पनी जस्तै लघुवित्त कम्पनीले पनि मर्जरको बाटो अपनाउन थालेका छन् । पुँजीको आकार बलियो भएपछि लगानी गर्न सजिलो हुने भन्दै उनीहरु मर्जरमा जान लागेका हुन् । 

केही लघुवित्त आपसमा मर्ज भएर एकीकृत कारोबार सुरु गरेका छन् । केही लघुवित्तले मर्जरको प्रस्ताव साधारणसभामा लैजाँदै छन् । मर्जरमा जानका लागि केहीले स्वीकृतिका लागि राष्ट्र बैंकमा निवेदन दिएका छन् ।

मर्जरमा जान लघुवित्तलाई बाध्य नबनाइएको तर, स्वाभाविक रुपमा जाने क्रम बढेको राष्ट्र बैंकको भनाइ छ । मर्जरमा जाने लघुवित्तलाई अहिले भने कुनै सहुलियत दिइएको छैन । केन्द्रीय बैंकले लघुवित्त संस्था धेरै भएको भन्दै मर्जरमा जानका लागि सार्वजनिक रुपमा आब्हान गर्दै आएको छ । लघुवित्त संस्थाको संख्या बढे पनि गुणस्तर बढ्न नसकेको भन्दै नेपाल राष्ट्र बैंकले गाभिन प्रोत्साहित गर्दै आएको छ । 

चालु आवको अन्त्यसम्ममा प्रक्रिया पूरा गरी अर्को वर्षदेखि एकीकृत कारोबार सुरु गर्ने तयारीमा केही लघुवित्त संस्था लागेका छन् । असार मसान्तसम्ममा मर्जर प्रक्रिया पूरा गरी साउनदेखि एकीकृत कारोबार गर्ने र गाभिने तयारीमा रहेको एक लघुवित्तका उच्च अधिकारीले बताए । ‘केही लघुवित्त कम्पनीको स्वाप रेसियो र सञ्चालक समिति लगायत विषयमा सहमतिका लागि छलफल हुन थालेको छ,’ उनले भने ।

आगामी दिनमा मर्जरमा जाने लघुवित्त संस्थाको संख्या अझै बढ्ने विज्ञ बताउँछन् केही लघुवित्त गाभिनका लागि वित्तीय संस्था खोज्दै हिँड्ने क्रम पनि जारी छ ।लघुवित्तको संख्या अधिक भएको भन्दै राष्ट्र बैंकले मर्जरको व्यवस्था गरेको छ । लघुवित्त संस्थाहरूले सञ्चालन खर्च घटाउन र ठूलो पुँजी आधार भएको बलियो संस्था बनाउन मर्जरको नीति अगाडि सारेका हुन् ।

राष्ट्र बैंकले एक सयभन्दा बढी लघुवित्त सञ्चालन गर्न अनुमति दिएको थियो । यस्ता संस्था पर्याप्त भएको भन्दै नयाँ लघुवित्त सञ्चालनका लागि आवेदन लिन समेत बन्द गरेको छ । राष्ट्र बैंकले वाणिज्य बैंक, विकास बैंक र फाइनान्स कम्पनीको संख्या बढी भएको भन्दै मर्जरमा जान बाध्य पार्ने गरी चुक्ता पूँजीको प्रस्ताव ल्याएको थियो । उक्त पूँजी बृद्धिको प्रस्तावले ती वित्तीय संस्थाहरु मर्जरमा जान वाध्य भएका थिए । 

लघुवित्तलाई स्तहस्फूत रुपमा मर्जरमा जान पहिले बिशेष सुविधा सहितको प्याकेज ल्याउने त्यो प्याकेजमार्फत पनि मर्जरमा जान हिचकिचावट गरे भने वाणिज्य बैंक, विकास बैंक र फाइनान्स कम्पनीलाई जस्तै पूँजी बृद्धिको प्रस्ताव ल्याउने सम्भावना पनि रहेको राष्ट्र बैंक स्रोतको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस