
काठमाडौं । नेपाल राष्ट्र बैंक मौद्रिक नीतिको अर्धबार्षिक समीक्षामा स्प्रेडदर र अटो लोन पुनरावलोक नगरेको भन्दै बैंकर र व्यवसायी रुष्ट बनेका छन् । केन्द्रीय बैंकले मौद्रिक नीतिको अर्धबार्षिक समीक्षामा स्प्रेडदर र अटो लोनमा पुनरावलोकन गर्ने आश्वासन दिएपनि उक्त बिषयमा पुनराबलोकन नगरेका कारण बैंकर व्यवसायी रुष्ट बन्न पुगेका हुन् ।
उनीहरुले मौद्रिक नीतिको अर्धबार्षिक समीक्षा अघि नै केन्द्रीय बैंकलाई स्प्रेडदर र अटो लोनमा पुनराबलोकन गर्न सुझाव र दवाव दुवै दिँदै आएका थिए । मौद्रिक नीतिको अर्धबार्षिक समीक्षा अघि बैंकरले व्याज दर गणनाको सूत्र परिर्वतन गर्न र अटो व्यवसायीहरुले गाडी खरिद गर्दा ५० प्रतिशतमात्र ऋण बैंक तथा वित्तीय संस्थाले दिन पाउने व्यवस्थामा पुनरावलोकन गर्न दवाव दिँदै आएका थिए ।
राष्ट्र बैंकले स्प्रेडदलाई क्रमिक रुपमा ५ प्रतिशतबाट ४.५ प्रतिशत र अहिले ४.४ प्रतिशतमा ल्याएको छ । तर, पछिल्लो समय राष्ट्र बैंकले दिएको निर्देशनले स्प्रेडदर गणना विधि नै परिवर्तन गरेर अप्रत्यक्ष रुपमा ३.२ प्रतिशतमा झारेको छ ।
४.४ प्रतिशतमा भएको व्यवस्थासम्म ठिकै छ । तर, त्यसबाट पनि झारेर ३.२ प्रतिशत अपत्यक्ष रुपमा ल्याउँदा बैंकको नाफा २५ प्रतिशतले घटने बैंकरको भनाइ छ । यसो गर्नु ठिक नभएको बैंकरहरुको भनाइ छ ।
बैंकरको दवाव पछि राष्ट्र बैंकले मौद्रिक नीतिको अर्धबार्षिक समिक्षामा यस्तो व्यवस्थामा पुनरावलोन गर्ने आश्वासन दिएको थियो । तर, मौद्रिक नीतिको समिक्षामा उक्त बिषयमा राष्ट्र बैंक केही पनि बोलेको छैन् ।
यसैगरी, निजी गाडी खरिद गर्न ५० प्रतिशतसम्म ऋण लिन पाउने व्यवस्थालाई पुनरावलोकन गर्न व्यवसायीले दवाव दिँदै आएका थिए । उक्त बिषयमा पनि राष्ट्र बैंक लचिलो बनेको थियो । त्यसलाई बढाएर ६० देखि ६५ प्रतिशतसम्म ऋण लिन पाउने व्यवस्था गर्ने भनिएको थियो । तर, त्यसमा पनि मौद्रिक नीतिको समिक्षामा केही बोलिएको छैन् ।
अहिले अर्थमन्त्री र गभर्नरको अन्तिम दिन भएकाले पनि सबैसम्बोधन गर्न अप्ठ्यारो परेको हुन सक्ने नेपाल अटो डिलर एसोसिएसनका अध्यक्ष कृष्णप्रसाद दुलालले आर्थिक न्युजडटकमलाई बताए । उनले भने, 'राष्ट बैंकले सार्वजनिक गरेको मौद्रिक नीतिको समिक्षा राम्रोसँग हेर्न पाएको छैन, मौद्रिक नीतिको समिक्षा हेरेपछि थप कुरा गर्ने वला छौ र चैतको पहिलो हप्तासम्म हामी राष्ट बैंकको नीतिमा हाम्रा माग सम्बोधन हुनेछन भन्ने लाग्छ ।'
निजी गाडी किन्दा ६० देखि ६५ प्रतिशतसम्म बैंकबाट ऋण लिन सकिने व्यवस्था गरिए व्यवसायमा सुधार आउने अपेक्षा व्यवसायीले गरेका थिए । निजी गाडी बिक्रेताहरुको दवाव, सर्वसाधारणको गुनासो र राजश्वमा आएको कमीका कारण अटो लोनमा पुनराबलोन हुने अनुमान गरिएको थियो । तर, उक्त व्यवस्थामा पनि कुनै परिवर्तन गरिएन् ।
यसअघि पनि निजी गाडी बिक्रेताहरुले अर्थमन्त्री डा. युवराज खतिवडालाई पटक पटक भेटी अहिलेको व्यवस्थाले निजी सवारी साधानको बिक्रीमा कमी आएको भन्दै त्यस्तो व्यवस्था परिवर्तनका लागि दवाव दिँदै आएका थिए । अर्थमन्त्री डा.खतिवडाले राष्ट्र बैंकलाई निजी गाडी खरिदमा लगाइएको कडाइलाई खुकुलो बनाउन आश्वासन दिएका थिए ।
अहिले राष्ट्र बैंकले निजी प्रयोजनका सवारी साधन खरिद गर्दा ५० प्रतिशतसम्म बैंक तथा वित्तीय संस्थाबाट कर्जा लिन सक्ने र ५० प्रतिशत ‘डाउन पेमेन्ट’ (नगद भुक्तानी) गरेर कार किन्न पाइने व्यवस्था गरिएको छ ।
गाडी किन्दा कुल मूल्यको आधा रकम तत्कालै तिर्नुपर्ने र बाँकी पैसा बैंक तथा वित्तीय संस्थाबाट चर्को ब्याजदर लिनु पर्ने अवस्था आएका कारण निजी गाडी खरिदमा कमी आएको छ ।पछिल्लो समय सरकारले निजी सवारी साधन किन्ने सर्वसाधारणलाई अर्को जटिलता थपिदिएको छ । कर तिरेर बाँकी रहेको आम्दानीको आधा मात्र ऋण बैंक तथा वित्तीय संस्थाबाट पाइने गरेको छ । आम्दानी गरेको रकममा कर तिरेको प्रमाणपत्र देखाउनु पर्ने र त्यसको आधा मात्र ऋण पाइने भएपछि धेरैको गाडी किन्ने सपना चकनाचुर हुँदै आएको छ ।
कुनै व्यक्तिले कर तिरेर बाँकी हुने मासिक तलब रकम ५० हजार रुपैयाँ छ भने उसले मासिक रुपमा तिर्ने किस्ता २५ हजार रुपैयाँ हुन आउने रकमसम्म मात्रै बैंक तथा वित्तीय संस्थाबाट ऋण लिन पाउँछ ।
कर्मचारीको हकमा त्यस्तो व्यवस्था छ । तर, कसैले आफनो खेतीपाती वा कुनै तरिकाबाट आम्दानी गरेको छ भने त्यसले गाडी किन्नका लागि आम्दानीको स्रोत देखाएर मात्र हुँदैन । आम्दानी गरेको रकमको कर तिरेको प्रमाणपत्र देखाउनु पर्ने भएकाले पनि सर्वसाधारणलाई गाडी किन्न कठिन भएको हो ।
निजी गाडी किन्दा गाडीको कुल मूल्यको आधा रकम तत्काल बुझाउनु पर्ने र बैंकबाट लिएको बाँकी आधा रकमको ब्याज पनि चर्को तिर्नु पर्ने भएपछि गाडी किन्नेहरुमा कमी आएको अवस्थामा फेरी पुस ९ गते राष्ट्र बैंकले झनै जटिल व्यवस्था ल्याएपछि अझै गाडी किन्ने घटेका छन् ।
यस्तो व्यवस्थाले बैंकमा ऋण लिन जाने ग्राहकको संख्या घटेको बैंकरको भनाइ छ । राष्ट्र बैंकले पछिल्लो समय ल्याएको अब्यवहारिक नीतिले बैंकमा आउने ग्राहक सहकारीतिर गएको बैंकका कमचारी बताउँछन् ।
प्रतिक्रिया दिनुहोस