
काठमाडौं । सरकारले चालु आर्थिक वर्षको बजेट वक्तव्यमा सुनलाई निक्षेप रुपमा राख्न पाइने घोषणा गरेको बल्ल कार्यान्वयनमा आउने भएको छ । नेपाल राष्ट्र बैंकले सुनलाई निक्षेपको रुपमा लिने कार्यलाई मूर्त रुप दिन बिहीबार बैंक तथा वित्तिय संस्थाहरुलाई एकीकृत निर्देशन जारी गरेको छ । नेपाल राष्ट्र बैंकले बिहीबार कार्यविधि बनाइ नेपाली नागरिकहरुसँग रहेको सुनलाई निक्षेपको रुपमा स्वीकार गर्न संचालक समितिबाट नै निर्णय भएको सात दिन भित्र जानकारी गराउन समेत सूचनामा भनिएको छ । सुन निक्षेपमा राख्नका लागि न्यूनतम २५ ग्राम परिमाण हुनु पर्ने राष्ट्र बैंकले जनाएको छ ।
साथै बैंकमा राख्ने सुन निक्षेपको अवधि कम्तिमा ३ वर्ष तथा अधिकतम ५ वर्षको हुनुपर्ने समेत राष्ट्र बैंकले उल्लेख गरेको छ । चालु आर्थिक वर्षको बजेटमै समावेस गरेको विषायलाई कार्यान्वयन गर्न बुधबार राष्ट्र बैंकले उक्त सर्कुलर जारी गरेको हो ।
समग्रमा भन्नुपर्दा सीसीडी रेसियोमा सुनलाई निक्षेपको रुपमा गणना गर्ने उद्देश्य पनि हुनसक्छ । यसो गर्दा नगदलाई सजिलै परिचालन गर्न सकिन्छ । प्राविधिक रुपमा भन्नुपर्दा यसरी सुनलाई नै निक्षेपको मान्यता दिने हो भने बजारमा नगदको प्रवाह अहिलेको भन्दा धेरै नै बढी हुन्छ । जसले गर्दा हरेक ३–३ महिनामा देखिने गरेको हालको तरलता अभावको समस्या हट्न सक्छ ।
बाणिज्य बैंकहरुले मात्र सुनलाई निक्षेपका रुपमा लिन पाउने छन । वाणिज्य बैंकहरुले सुन निक्षेप लिने सम्बन्धमा नीति तथा विस्तृत कार्यविधि बनाइ संचालक समितिबाट पारित गराउनु पर्ने छ । यसरी सुन निक्षेप स्वीकार्ने भएमा राष्ट्र बैंकमा उक्त निर्णय भएको सात कार्यदिनभित्र जानकारी गराउनु पर्नेछ। सुन निक्षेप लिंदा निक्षेपकर्ताबाट उपलब्ध हुने सुनको शुद्धता तथा तौलको जाँच गर्ने संयन्त्रको स्थापना गरी कम्तीमा ९९५।० को सुनमात्र स्वीकार गर्नुपर्नेछ ।
बाणिज्य बैंकहरुले निक्षेपको रुपमा प्राप्त सुनलाई ढुकुटी दाखिला गरी शुद्धता तथा तौलको आधारमा अलग गरी सुरक्षित तबरले ढुकुटी भित्र राख्ने व्यवस्था गर्नुपर्नेछ । ढुकुटी सुरक्षाका लागि सीसीटीभी क्यामरा, स्ट्रंग रुम, दोहोरो चाबी लगायत आवश्यक प्रबन्ध मिलाउनु पर्नेछ निर्देशिकामा उल्लेख छ।
त्यस्तै, न्यूनतम २५ ग्राम परिमाणको सुनलाई निक्षेपका रुपमा राख्न सकिने छ। निक्षेपकर्ताले सुन निक्षेप राख्न आएमा प्राप्त सुनलाई तोकिएको शाखामा जाँच गराइ शुद्धता तथा तौल यकिन गरी प्रमाण पत्र दिनुपर्नेछ । बैंकहरुले सुन निक्षेप राख्न आएका ग्राहकलाई सुन निक्षेप लिदाका बखत नै आफूले जम्मा गरेको साँवा सुन तथा ब्याज सुनमै फिर्ता लिने वा नगदमा लिने सो को यकिन गराउनुपर्नेछ। ।
निक्षेप स्वीकार गर्ने बैंकको ढुकुटीमा रहेको सुनलाई यस बैंकको निर्देशन बमोजिम कायम गर्नु पर्ने सिआरआर तथा एसएलआरमा गणना गर्न सकिनेछ । यस प्रयोजनको लागिको अधिकतम २५ प्रतिशतसम्म मात्र सुन निक्षेपको रुपमा गणना गर्न सकिनेछ। सुन निक्षेप प्रमाणपत्रलाई सोही बैंकमा धितो राखी निक्षेपमा रहेको सुनको ७० प्रतिशतसम्म कर्जा प्रदान गर्न सकिनेछ। यस्तो कर्जाको ब्याज दर बैकले सुन निक्षेपमा दिइएको ब्याज दरमा २ प्रतिशतसम्म थप गरी तोक्न सक्ने छन्।
प्रतिक्रिया दिनुहोस