aarthiknews.com मंगलबार, २८ जेठ २०८२   Tuesday, 10 June, 2025
 

डलरले मूल्यमा नयाँ रेकर्ड कायम

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • मंगलबार, २७ फागुन २०७६
डलरले मूल्यमा नयाँ रेकर्ड कायम

काठमाडाैं । डलरकाे मूल्य हालसम्मकै सर्वाधिक उच्च रेकर्ड कायम गरेको छ । नेपाल राष्ट्र बैंकले मंगलबारको लागि प्रति एक अमेरिकी डलरको खरिददर ११८ रुपैयाँ २४ पैसा कायम गरेको छ भने बिक्रीदर ११८ रुपैयाँ ८४ पैसा ताेकेकाे छ ।

अघिल्लो दिनको तुलनामा प्रति एक डलरको मूल्य ५६ पैसा बढो हो । सोमबार प्रति एक डलरको मूल्य ११८ रुपैयाँ २८ पैसा रहेको थियो । यो हालसम्मकै सर्वाधिक मूल्य हो । यस अघि प्रति एक डलरको मूल्य ११८ रुपैयाँ ७३ पैसासम्म उक्लिएको थियो । गत वर्ष असोज २४ मा डलरले उक्त मूल्य भेट्टाएको थियो ।

कोरोना भाइरस र कच्चा तेलको मूल्यमा आउन सक्ने गिरावटका कारण भारतीय रुपैयाँ कमजोर भएसँगै नेपाली रुपैयाँमा यसको असर देखिएको हो । भारतीय रुपैयाँसँग स्थिर विनिमय दरका कारण भारतीय मूल्य अवमूल्यन हुँदा नेपाली रुपैयाँ कमजोर भएको छ ।

कोरोना भाइरसका कारण विश्व अर्थतन्त्रमा परेको असरले डलरको मूल्य आकासिएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमले जनाएका छन् । अर्थतन्त्र सुस्ताउँदै जाँदा लगानीकर्ता सुनको स्टक बढाउने तर्फ लागेका छन् ।

जसको असर अन्तर्राष्ट्रिय शेयर बजारमा समेत परेको छ । अन्तर्राष्ट्रिय बजारमा शेयरको मूल्यमा गिरावट आउनु र सुनको मूल्यमा वृद्धि हुनुले डलरको मूल्य बढेको हो ।

डलरको मूल्य बढ्दै जाँदा विप्रेषण प्रवाहमा मुलुकलाई फाइदा हुन्छ । विदेशमा भएका नेपालीले पठाउने रकम बढ्छ । 

डलरको मूल्य बढ्दा निर्यातकर्तालाई समेत फाइदा हुन्छ । विदेशी मुद्रामा उनीहरूले बढी आर्जन गर्न सक्छन् । हाम्राे अर्थतन्त्रमा निर्यात भन्दा अायात अधिकतम हुने भएकाेले तेस्रो मुलुकबाट आयात हुने सामानको मूल्य बढ्ने गर्दछ ।

जसले आयोजनाहरूको लागत थप बढाउने छ । व्यापार घाटाको आकार थप बढ्न सक्ने देखिएकाे छ । पछिल्लो समय ६.१ प्रतिशतले घटेको व्यापार घाटा थप बढ्न सक्ने देखिएकाे छ ।   

चालु आर्थिक वर्षमा मुद्रा स्फिति ६ प्रतिशतमा राख्ने केन्द्र बैङ्कको लक्ष्य रहेकोमा राष्ट्र बैंकले गरेकाे छ महिनाकाे समिक्षामा नै वृद्धि दर ६.४ प्रतिशत पुगिसकेको छ । डलरको मूल्य बढ्दै गएमा यो दर थप बढ्ने देखिएकाे छ ।

प्रतिक्रिया दिनुहोस