aarthiknews.com आइतबार, १२ जेठ २०८२   Sunday, 25 May, 2025
 

पर्यटन उद्योग धराशायी हुन नदिन बैंकको व्याज र करमा छुट दिनुपर्छः सांसद भट्टराई

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • विहीबार, २९ फागुन २०७६
पर्यटन उद्योग धराशायी हुन नदिन बैंकको व्याज र करमा छुट दिनुपर्छः सांसद भट्टराई

काठमाडौं । नेकपा सांसद विद्या भट्टराईले कोरोनाको संक्रमणबाट खर्बौ लगानी भएको पर्यटन उद्योग धराशायी बनेको बताएकी छिन् । बिहीवार प्रतिनिधि सभा बैठकको विशेष समयमा बोल्दै भट्टराईले पर्यटन व्यावसाय धराशायी हुने अवस्था आएकोले यसलाइ बचाउन बैंकको ब्याजदर घटाउने, पुनःकर्जाको व्यवस्था गर्ने र बैंकको किस्तालाई केही पर सार्ने निर्णय गर्न माग गरेकी हुन् । 

‘कोरोना भाइरसका कारण नेपालीहरूको बीचमा सन्त्रास निम्तिरहेको देखेका छौँ, खासगरी कोरोना भाइरसले सामाजिक जनजीवन प्रभावित बनाइरहेको छ । मुलुकको अर्थतन्त्रमा नकारात्मक असर पर्ने सम्भावना देखेका छौं,’ उनले भनिन्, ‘कोरोनाका कराण नेपालको सम्भावना बोकेको पर्यटन क्षेत्र प्रत्यक्ष शिकार बन्न पुगेको छ, खर्बौं लगानी भएको पर्यटन उद्योग धराशायी हुने जोखिम बढेको छ ।’

‘खर्बौं लगानी रहेको पर्यटन क्षेत्रको अकुपेन्सी अहिले १० र १५ प्रतिशतमा झरेको छ । बैंकबाट ऋण लिएर स्थानीय तहमा पर्यटनको पूर्वाधार बनाएको र राष्ट्रिय पूँजी निर्माणमा लगानी गरिरहेको छ । कोरोनाका कारण पर्यटन क्षेत्रले उच्च ब्याजदर र मासिक किस्ता तिर्न नसक्ने अवस्था आएकाले बैंकको ब्याजदर घटाउन, पुनःकर्जाको व्यवस्था गर्न र एक वर्षसम्मको किस्ता पछाडि धकेल्न कर्जा पुनःताजगी गरेर केही पर सार्न आग्रह गर्छु,’ उनले भनिन्, ‘पर्यटन क्षेत्रका कर्मचारी पलायन हुन नदिन होटलहरूले नेपाल सरकारलाई तिर्ने कर, राजस्व र स्थानीय करमा ५० प्रतिशत सहुलीयत प्रदान गर्न सकियो भने केही राहत पुग्न सक्छ ।’

देशको अर्थतन्त्रको महत्त्वपूर्ण हिस्सा र विदेशी मुद्रा आर्जनको क्षेत्र पर्यटन उद्योगलाई धराशायी बन्न नदिन उनले बैंकको ब्याजदर घटाउन तथा होटलले राज्यलाई बुझाइरहेको करमा छूट दिन माग गरिन् ।

प्रतिक्रिया दिनुहोस