aarthiknews.com मंगलबार, २८ जेठ २०८२   Tuesday, 10 June, 2025
 

राष्ट्रिय वाणिज्य बैंकको एक्स्टेन्शन काउन्टर सिन्धुलीमा

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • बुधबार, ०५ चैत्र २०७६
राष्ट्रिय वाणिज्य बैंकको एक्स्टेन्शन काउन्टर सिन्धुलीमा

काठमाडौं । जिल्ला प्रशासन कार्यालय सिन्धुलीमा राष्ट्रिय वाणिज्य बैंक सिन्धुलीको २९औँ ‘एक्स्टेन्शन काउन्टर’ तथा राजश्व सङ्कलन केन्द्र आजदेखि सञ्चालनमा आएको छ । प्रमुख जिल्ला अधिकारी जनार्दन गौतमले आफ्नो खातामा एक हजार १०५ जम्मा गर्दै शाखाको कारोबार सञ्चालन गरेको हो । 

उनले केन्द्र सञ्चालनमा आएपछि कार्यालयले राजश्व बुझाउन बैंक धाउनुपर्ने बाध्यता हटेको बताए । उनले भने, “धरौटी तथा राजश्व कार्यालमा काम गर्ने कर्मचारीले सङ्कलन गर्ने र भोलिपल्ट मात्रै जम्मा गर्ने परिपाटीको अन्त्य भएको छ भने उक्त पैसाको दुरुपयोग हुने सम्भावनाको पनि अन्त्य भएको छ ।”

एक्स्टेन्शन काउन्टर तथा राजश्व सङ्कलन केन्द्र स्थापना गर्नुको मुख्य उद्देश्य भनेको राजश्व सङ्कलन गर्नु नै भएको राष्ट्रिय वाणिज्य बैंक सिन्धुलीका प्रबन्धक खिलानाथ भट्टराईले बताए । उनले बिस्तारै उक्त काउन्टरबाट कर्मचारीको नगद जम्मा तथा चेक कारोबार, नागरिक लगानी कोषलगायत राजश्व सङ्कलन गरिने उनको भनाई छ । 

वाणिज्य बैंकले हाल देशका सातवटै प्रदेशका ७७ वटै जिल्लाबाट २३९ वटा शाखा कार्यालयमार्फत सेवा दिइरहेको छ । बैंकका २०४ एटिएम र २८ वटा एक्सटेन्शन काउन्टरबाट सेवासमेत दिइरहेको छ । बैंकले २०७६ पुस मसान्तसम्म रु १९५ अर्ब निक्षेप सङ्कलन गरी १४७ अर्ब रुपियाँ कर्जा प्रवाह गरेको सो अवसरमा जानकारी दिए । 

प्रतिक्रिया दिनुहोस