aarthiknews.com शुक्रबार, १० जेठ २०८२   Friday, 23 May, 2025
 

सवा दुई करोड बैंक खाताको २ लाखका दरले निक्षेपको बीमा

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • विहीबार, ०२ जेठ २०७६

काठमाडौं, जेठ २ । निक्षेप तथा कर्जा सुरक्षण कोषले दुई करोड २१ लाख ३६ हजार ८४ वटा निक्षेप खाता सुरक्षण (बीमा) गरेको छ । कोषले उक्त खातामा प्रतिखाता दुई लाख रुपैयाँका दरले ६ खर्ब तीन अर्ब ३७ करोड निक्षेप सुरक्षण गरिएको हो ।

कोषमा प्राकृतिक व्यक्तिको नाममा रहेको बचत, चल्ती, कल तथा मुद्दती निक्षेपमा रहेको निक्षेप सुरक्षण गरिएको हो । सुरक्षण गरिएको निक्षेप निक्षेपकर्ताले बैंक तथा वित्तीय संस्था डुबे पनि प्रतिव्यक्ति प्रतिबैंक खाता दुई लाख रुपैयाँका दरले फिर्ता पाउँछन् । कोषले प्रतिबैंक प्रतिव्यक्ति खाता दुई लाखका दरले सुरक्षण गर्दै आएको छ । 
कोषले उल्लेख्य रुपमा निक्षेप सुरक्षण बढाउनुको साथै सुरक्षण शुल्क समेत ७८.४१ प्रतिशतले बढाएको छ । आर्थिक वर्ष २०७५/७६ को चैतसम्ममा गरेको निक्षेप सुरक्षण उल्लेख्य रुपमा वृद्धिमात्रै भएको छैन । यसबाट कोषले मनग्य सुरक्षण शुल्क पनि आम्दानी गरेको छ । कोषले ६ खर्ब निक्षेप  सुरक्षण गरेवापत ५९ करोड १५ लाख रुपैयाँ शुल्क प्राप्त गरेको कोषका प्रमुख कार्यकारी अधिकृत विष्णुबाबु मिश्रले जानकारी दिए ।

कोषले गएको आवको चैतसम्म एक करोड ७९ लाख ८२ हजार निक्षेप खाताको चार खर्ब १० अर्ब ९५ करोड निक्षेप सुरक्षण गरेको थियो । गएको आवको असारमसान्तसम्म ८५ वटा बैंक तथा वित्तीय संस्थाले निक्षेपकर्ताको निक्षेप सुरक्षण गराएको मिश्रले जानकारी दिए । 

एक करोड ८० लाख ४५ हजार पाँच सय १९ वटा ‘क’ वर्गका वाणिज्य बैंकको खाता सुरक्षण गरेको छ । उक्त खातामा रहेको चार खर्ब ९९ अर्ब १६ करोड ४३ लाख निक्षेप सुरक्षण भएको छ,’ मिश्रले भने–‘सो अवधिसम्म कोषमा ३२ वटा विकास बैंकमा रहेका खातामध्ये ३५ लाख ४२ हजार दुई ११ खातामा रहेको ९० अर्ब ७७ लाख ३५ करोड रुपैयाँ निक्षेप सुरक्षण भएको छ ।’


त्यस्तै ‘ग’ वर्गका २३ वटा वित्तीय संस्थाले १२ अर्ब ४८ करोड रुपैयाँको निक्षेप सुरक्षण गराएका छन् । सो निक्षेप ५० लाख निक्षेपकर्ता हो । ‘घ’ वर्गका २ वटा लघुवित्त वित्तीय संस्थाले ४८ हजार तीन सय २२ खातामा रहेको रकममध्ये प्रतिखाता दुई लाखका दरले ९५ करोड २९ लाख निक्षेप सुरक्षण गराएका छन् । 

कोषले सर्वसाधारण र बैंक तथा वित्तीय संस्थामा रहेको पुँजी एउटै बैंकमा नराखी ‘क’ वर्गका वाणिज्य बैंकदेखि ‘घ’ वर्गका लघुवित्त बैंकसम्म परिचालन गर्न प्रतिबैंक प्रतिखाता गणना गरिने व्यवस्था गरिएको मिश्रले बताए ।

यसरी गर्दा बैंक तथा वित्तीय संस्था डुबे पनि निक्षेपकर्ताले प्रतिबैंक प्रति निक्षेपकर्ताले दुई लाखका दरले क्षतिपूर्ति कोषले दिन्छ, मिश्रले भने–‘एउटै बैंकमा धेरै रकम राख्दा बैंक डुब्न गएको खण्डमा  निक्षेपकर्ताको धेरै रकम डुब्ने जोखिम न्यून हुन्छ । 

निक्षेप तथा कर्जा सुरक्षण कोष ऐन २०७३ को दफा १९ मा कोषले प्रत्येक सुरक्षित सदस्य संस्थामा खोलिएका प्रत्येक प्राकृतिक व्यक्तिको निक्षेप खातामा रहेको दुई लाख रुपैयाँसम्मको निक्षेप सुरक्षण गर्ने व्यवस्था छ । सुरक्षित निक्षेप रकमको मूल्यांकन गर्दा निक्षेप खातामा रहेको साँवा र सोबाट आर्जित ब्याजसमेत गणना गरिनेछ ।

कुनै पनि निक्षेपकर्ताले एउटै बैंक तथा वित्तीय संस्थमा एकभन्दा बढी निक्षेप खाता सञ्चालन गरेमा वा कुनै संयुक्त निक्षेप खाताको हिस्सा भएमा वा तेस्रो पक्ष लाभकारी निक्षेप खाता भएका सबै खातालाई समष्टीकृत गरी एकै खाता सरह मान्यता दिइने प्रावधान छ ।

गत आवको तुलनामा यस आवमा निक्षेप सुरक्षण बढेको छ । वित्तीय संस्थामा दिन प्रतिदिन निक्षेपकर्ताको संख्या बढ्दै गएकाले सुरक्षण रकम पनि बढेको मिश्रले बताए । सरकारको सबै नेपालीमा बैंकिङ पहुँच पुर्याउने योजनासहित वित्तीय संस्थाले ‘एक घर एक खाता’ योजना सञ्चालन गर्नु, भूकम्पपीडित र वृद्ध/वृद्धा भत्ता बैंक खाताबाटमात्रै रकम भुक्तानी गर्नुलगायत कारण निक्षेपकर्ता र निक्षेप दुवै वृद्धि भएको हो,’ उनले भने । आगामी आवदेखि सरकारले सामाजिक सुरक्षा भत्ता समेत बैंकबाटै दिने व्यवस्था मिलाएको छ । 

प्रतिक्रिया दिनुहोस