
काठमाडौं । प्राइम कमर्सिलय बैंकसँग मर्ज भाडिएपछि ओम डेभलपमेण्ट बैंक एनएमबि बैंकसँग गाभिनेका लागि औपचारिक रुपमा घोषणा भएको छ । यस अघि प्राइम कमर्सिएल बैंकसँग एक्यूजिसनको प्रकृया तोडिएको करिब ८ महिनापछि एनएमबि बैंकसँग मर्जका लागि हस्ताक्षर भएको हो । ।
गाभ्ने गाभिने (मर्ज) सम्झौतामा एनएमबि बैंकका तर्फबाट मर्ज समितिका संयोजक प्रदिपराज पाण्डे र ओमका तर्फबाट योगेन्द्रलाल प्रधानले हस्ताक्षर गरेका छन् ।बैंकविचको मर्जर प्रकृया आगामि दुई महिना भित्र सम्पन्न गरी एकीकृत कारोबार गर्ने एनएमबि बैंकका प्रमुख कार्यकारी प्रमुख सुनिलकुमार केसीले जानकारी दिएका छन् ।
प्राइमसँगको मर्ज प्रक्रियामा करिब ८ महिना अघिदेखिको प्रयास भाँडिएपश्चात नेपाल राष्ट्र बैंकले दुबै बैंकलाई तीन महिनाभित्र अन्य बैंक तथा वित्तीय संस्थासँग मर्जर गर्न निर्देशन दिएको थियो । मर्जरमा जाने सहमति भएपनि हालसम्म स्वाप रेसियोको विषयमा भने टुङ्गो लागिनसकेको कम्पनीहरुले जानकारी दिएका छन् ।
दुबै बैंकको सम्पत्ति तथा दायित्व मूल्याङ्कन प्रतिवेदन पश्चात प्राप्त हुने नतिजा अनुसार १० अंक थपघट हुनसक्ने गरि दुबै बैंकबीच सम्झौता भएको जानकारी प्राप्त भएको छ । कार्यक्रममा बोल्दै ओम डेभलपमेन्ट बैंकका सञ्चालक तथा मर्जर कमिटिका संयोजक प्रधानले ओमका शेयरधनीले बैंकले प्रस्ताव गरेको बोनस शेयर पाउने बताए ।
स्वाप रेसियोको बारेमा भने आउँदो आइतबार डीडीए कमिटि गठन गर्ने र उक्त कमिटिले स्वाप रेसियो तय गर्ने बताइएको छ । तर ओम डेभलपमेन्ट बैंकले भने भने १००ः ८० को रेसियोमा आफूहरुले शेयर पाउनु पर्ने माग राखेको बुझिएको छ ।
हाल एनएमबि बैंकको चुक्ता पूँजी ९ अर्ब ६१ करोड ८१ लाख ६३ हजार रुपैयाँ रहेको छ भने ओम डेभलपमेन्ट बैंकको चुक्ता पूँजी २ अर्ब ५१ करोड ५२ लाख ३५ हजार रुपैयाँ रहेको छ । दुबै बैंक एक आपसमा गाभिएपछि चुक्ता पूँजी १२ अर्ब १३ करोड ३३ लाख ९८ हजार रुपैयाँ पुग्नेछ ।
प्रतिक्रिया दिनुहोस