
चीनको हुवे प्रान्तस्थित वुहान शहरबाट शुरु भएको कोरोना भाइरस (कोभिड–१९) को महामारीले सन् २०२० अप्रिल ५ सम्म आइपुग्दा करिब ६५ हजार मानिसको मृत्यु भएको विश्व स्वास्थ्य संगठनले जनाएको छ । त्यसैगरी विश्वभर यो महामारीबाट संक्रमित हुनेको सङ्ख्या १२ लाख नाघिसकेको छ । जसमध्ये करिब ५ प्रतिशतको अवस्था अत्यन्त गम्भीर रहेको जनाइएको छ । विश्वका लगभग सबै देशहरुमा कोभिड–१९ को प्रकोप फैलिइसकेको छ । यो महामारीले विश्वभरको वित्तीय क्षेत्रको ‘इकोसिस्टम’मा नै प्रतिकुल प्रभाव पारिरहेको छ ।
विश्वभरका बैंक तथा वित्तीय संस्थाहरु कोभिड–१९ को प्रकोपको सामना गरिरहेका छन् । यस महामारीसँगै वित्तीय क्षेत्रमा नयाँ प्रवृत्तिहरु समेत स्थापित भएको छ । कोरोना भाइरसको प्रकोपले वित्तीय बजार र उपभोक्ताको व्यवहारमा प्रत्यक्षतः नकारात्मक प्रभाव पारेको छ । तर यस सँगसँगै उपभोक्ताको डिजिटल बैकिङ्गप्रतिको आकर्षण भन्ने ह्वात्तै बढेको छ । परम्परागत तरिकाले सेवा दिइरहेका बैंक तथा वित्तीय संस्थाहरुलाई डिजिटल तथा नवप्रर्वतनात्मक प्रयत्नहरु गर्न दबाब बढेको छ । त्यसैगरी नयाँ डिजिटल प्रोडक्टहरु मार्फत् आफ्नो व्यवसाय विस्तार एवं प्रतिस्पर्धी क्षमता प्रदर्शन गर्ने अवसर पनि उपलब्ध भएको छ ।
“कोरोना भाइरसको प्रकोपले वित्तीय बजार र उपभोक्ताको ब्यवहारमा प्रत्यक्षतः नकारात्मक प्रभाव पारेको छ तर यस संगसंगै उपभोक्ताको डिजिटल बैकिङ्ग प्रतिको आकर्षण भन्ने ह्वात्तै बढेको छ ”
अर्थतन्त्रमा प्रणालीगत स्थायित्व कायम गर्ने मुख्य भूमिका बैंकहरुलाई हुन्छ । यस प्रकोपको सामना गरी अर्थतन्त्रलाई स्थायित्व प्रदान गर्न गम्भीर भएर कार्य गर्ने निर्णय बैंकहरुले यस अगाडि नै गरिसकेका छन् । बैकहरुमा केन्द्रीय कार्यदल गठन, यात्रामा प्रतिबन्ध, सीमित कर्मचारीहरुबाट सेवा प्रवाह, भेन्डरसँग तत्काल अन्तर्क्रिया, छिटो-छरितो सुचना सम्प्रेषण लगायत तत्काल गर्नुपर्ने कार्यहरु प्रायःजसो बैंकहरुले गरिसकेका छन् ।
बैंकहरुले तल उल्लेखित उपायहरुलाई विशेष ध्यान दिई जैविक रोग तथा बजारको दवावलाई कुशलताका साथ सामना गर्ने क्षमता विकास गर्नुपर्दछ । चीन, अमेरिका इटाली लगायत अन्य थुप्रै देशहरुको अनुभवले के देखाएको छ भने देशहरुबीच आर्थिक तथा राजनीतिक संरचना, स्वास्थ्य सेवा प्रणाली, सामाजिक तथा साँस्कृतिक मुल्य मान्यताहरु फरक फरक हुन सक्दछन् तर यस्ता महामारीमा अपनाउने उपायहरु साझा हुन्छन् ।
“हरेक बैंकले आफ्नो कर्मचारीको सुरक्षा एवं कोभिड १९ को नियन्त्रणको लागि सक्रिय एवं पर्याप्त उपायहरु अवलम्वन गर्नु पर्दछ”
१.बैंकिङ जनशक्तिलाई प्रोत्साहन गर्ने
महामारीको यो प्रकोप साम्य हुन केही महिना लाग्न सक्छ । तसर्थ, बैकमा कार्यरत कर्मचारीहरुलाई अझै केही महिना चुनौतीपूर्ण वातावरणमा रहेर सेवा दिन मानसिक रुपमा तम्तयार रहन प्रोत्साहित गर्नु पर्दछ । साथै जनशक्तिको सुरक्षा एवं कोभिड–१९ को नियन्त्रणको लागि सक्रिय उपायहरु अवलम्वन गर्नुपर्छ । हरेक बैंक तथा वित्तीय संस्थाले जनशक्तिको सुरक्षाको निम्ति कम्तिमा पनि तल उल्लेखित उपायहरु अंगिकार गरिएको हुनुपर्छ ।
२. अत्यावश्यक बैंकिङ सेवाको निरन्तरता सुनिश्चित गर्ने
३. व्यक्तिगत र व्यवसायिक कर्जामार्फत् सामाजिक लक्ष्य पूरा गर्ने
बैकिङ्ग क्षेत्रमा कोभिड १९ का असरहरु
“संयुक्त राष्ट्र संघको डिपार्टमेन्ट अफ इकोनोमिक एण्ड सोसल अफेयर्स (डिइएसए) ले कोभिड– १९ का कारण सन् २०२० मा विश्व अर्थतन्त्रमा झण्डै १ प्रतिशतले संकुचन आउने र आर्थिक वृद्घि १.२ प्रतिशत पुग्ने प्रक्षेपण गरेको छ ”
कोरोना महामारीले विश्वमा नै वित्तीय झड्का उत्पन्न भएको छ जुन सन् २००७–२००९ को आर्थिक मन्दीको भन्दा निकै ठूलो मानिएको छ । यसले विश्व अर्थतन्त्रको सप्लाई–चेन र अन्तर्राष्ट्रिय व्यापारमा निकै ठूलो आघात पु्र्याएको छ । एशियाली विकास बैंकले यो महामारीको विश्वव्यापी लागत ४.१ ट्रिलियन अमेरिकी डलर हुनसक्ने चेतावनी दिएको छ ।
कोरोना भाइरसको संक्रमणको कारणले विश्व अर्थतन्त्रमा ठुलो नकारात्मक प्रभाव पर्ने र सन् २००९ पछिकै कम दरमा वृद्धि हुने ‘अर्गनाइजेशन फर इकोनोमिक को–अपरेशन एण्ड डेभलेपमेन्ट(ओइसिडी)’ को प्रक्षेपण छ । संयुक्त राष्ट्र संघको डिपार्टमेन्ट अफ इकोनोमिक एण्ड सोसल अफेयर्स (डिइएसए)ले कोभिड– १९ का कारण सन् २०२० मा विश्व अर्थतन्त्रमा झण्डै १ प्रतिशतले संकुचन आएर आर्थिक वृद्धिदर १.२ प्रतिशतमा सीमित हुने प्रक्षेपण गरेको छ । सन् २००९ मा विश्व अर्थतन्त्रमा १.७ प्रतिशतको संकुचन आएको थियो ।
अर्थशास्त्रीहरु यस पटक कतै आर्थिक वृद्धि ध्वस्त हुने त होइन भन्ने कुरामा चिन्तित छन् । विश्वभर स्टक मार्केटमा र तेलको मुल्यमा ऐतिहासिक कमी आएको छ । अमेरिकामा मात्र ६० लाख र स्पेनमा ९ लाख मानिसहरुले रोजगारी गुमाइसकेका छन् । अफ्रिकाको झण्डै आधा रोजगारी खतरामा रहेको बताइएको छ । १०० भन्दा बढी देशहरुमा यात्रामा प्रतिबन्ध गरिएको छ ।
विश्वभरका उपभोक्ताहरु कोरोना प्रकोप लम्बिने डरले खाद्यान्न संग्रह गर्दैछन् । चीनको मात्र औद्योगिक उत्पादनमा १३.५ प्रतिशतले कमी आएको बताइन्छ । रेमिट्यान्सको भरमा बाँचेका नेपालजस्ता अर्थतन्त्रहरुलाइ कोरोनाले नराम्रोसँग झापड हानेको छ । विश्वभरको बैकिङ्ग क्षेत्र उच्च
जोखिममा रहेको छ । बैंकिङ्ग क्षेत्रमा कोभिड १९ ले पार्ने मुख्य प्रभावहरु निम्नबमोजिम रहेका छन् ।
राहत कार्यक्रहरु
“यो महामारीसंग लडी मानिसहरुको जीवन बचाउन मात्रै होइन कि समाजमा यस प्रकोपकै कारण आर्थिक बर्बादी खेपिरहेका कमजोर वर्गलाई सुरक्षित गर्न साथै आर्थिक वृद्घि र वित्तीय स्थायित्व कायम गर्न पनि अझै ठोस तथा प्रभावकारी नीतिगत उपायहरु आवश्यक पर्दछन् ।”
विश्वभरका नियमनकारी निकायहरुले कोभिड १९ को चुनौतीलाइ विश्लषेण गरी बैंकहरुलाइ राहतको नीतिहरु सार्वजनिक गरिसकेका छन् । विश्व बैंक र अन्तर्राष्ट्रिय मुद्रा कोषले कोरोना भाइरसको संक्रमणबाट लड्न र अर्थतन्त्रलाइ बचाउन क्रमशः १२ अर्ब र ५० अर्ब अमेरिकी डलर बराबरको आर्थिक सहयोगको प्याकेज घोषणा गरेका छन् । संयुक्त राष्ट्र संघको डिपार्टमेन्ट अफ इकोनोमिक एण्ड सोसल अफेयर्स (डिइएसए) ले कोभिड–१९ बाट विश्व अर्थतन्त्रलाइ जोगाउन विश्वको कुल गार्हस्थ उत्पादनको १० प्रतिशत रकम आवश्यक हुने जनाएको छ ।
युरोप
युरोपियन केन्द्रीय बैंक (ईसीबी) ले ७५० अर्ब युरोको सार्वजनिक र निजी ऋणपत्र खरिद गर्ने निर्णय गरेको छ । त्यसैगरी ईसीबीले युरोपका बैंकहरुले आफ्नो पुँजी र लिक्विडिटी बफर पूर्णतया प्रयोग गर्न सक्ने घोषणा गरेको छ । युरोजोनका बैंकहरु अस्थायी रुपमा बासेल ३, पिलर २ ले परिभाषित गरेको पुँजीको तह (क्यापिटल कन्जर्भेसन बफर र लिक्विडिटी कभरेज रेसियो) भन्दा कममा सञ्चालन हुन सक्ने छन् ।
त्यसैगरी, ईसीबीले सम्बन्धित देशका केन्द्रीय बैंकहरुलाइ काउन्टरसाइक्लिक बफरमा लचिलो बन्न सुझाव दिएको छ । यस बर्ष युरोपका बैकहरुको नाफा औसतमा ३० प्रतिशतले गिरावट आउने अनुमान गरिएकौ छ ।
अमेरिका
अमेरिका बिश्वको प्रमुख आर्थिक शक्ति हो । अमेरिकी बैकिङ्ग क्षेत्रको नाफा सन् २०१९ मा १९५ बिलियन अमेरिकी डलर भएकोमा सन् २०२० मा १५ बिलियन अमेरिकी डलरले कम हुने प्रक्षेपण गरिएको छ । अमेरिकी सरकार र केन्द्रीय बैंकले अर्थतन्त्रलाइ कोरोना भाइरसको महामारीसँग लड्न र अर्थतन्त्रलाइ जोगाउन २ ट्रिलियन अमेरिकी डलरको वित्तीय एवं मौद्रिक स्टिमुलस कार्यक्रमहरु घोषणा गरेका छन् । यसलाइ दोस्रो विश्वयुद्धपछिको आधुनिक अमेरिकी इतिहासमा सबैभन्दा ठूलो आर्थिक उद्दारको प्याकेज मानिएको छ । अमेरिकी केन्द्रीय बैंक फेडेरल रिजर्भले ब्याजदरमा भारी कटौती गरी लगभग शुन्यमा झारेको छ ।
चीन
चीन विश्वको दास्रो ठूलो अर्थतन्त्र हो भने विश्वको आर्थिक वृद्घिको प्राथमिक इञ्जिन पनि हो । यसको अर्थ चीनको अर्थतन्त्रमा हुने टकरावलाइ तुरुन्तै विश्व अर्थतन्त्रले महशुस गर्दछ । चीनले सन् १९७६ मा कम्युनिष्ट पार्टीका नेता माओत्सेतुङ्ग को निधनपछि संकुचनकारी अर्थतन्त्रको सामना गरेको थियो र त्यसपछि यो पटक सोही अनुभव गर्नुपर्ने अबस्था आउन सक्ने देखिएको छ ।
पिपुल्स बैक अफ दी चाइना (पीवीओसी) ले ५० अर्ब युआन रिर्भस रिपो अभियान शुरु गरेको छ । चीनको केन्द्रीय बैंक पीवीओसीले कोरोना भाइरस महामारीको प्रभावका कारण अर्थतन्त्रलाइ पुनर्जीवित गर्न बैंकहरुको ब्याजदरमा ५ वर्षयताकै सबैभन्दा ठूलो कटौती गरेको छ र वित्तीय प्रणालीमा थप ५० अर्ब युआन हालेको छ ।
भारत
भारतले कोभिड १९ महामारीसँग लड्न २३ बिलियन अमेरिकी डलरको राहत कार्यक्रम घोषणा गरेको छ जुन भारतको कुल ग्राहस्र्थ उत्पादन (जीडीपी) को १ प्रतिशत हो । भारतीय केन्द्रीय बैंक आरबिआई. ले व्याजदरमा कटौती गरी कर्जाको किस्ता भुक्तानी अवधि ३ महिनाको लागि स्थगन गरेको छ । उसले आवधिक कर्जाहरुमा मोराटोरियम अवधि थप गर्न सक्ने अनुमति बैकहरुलाइ दिएको छ भने रिपोदरमा समेत कटौती गरेको छ ।
नेपाल
नेपालमा अप्रिल ५, २०२० सम्ममा जम्मा ९ जना व्यक्तिहरुमा कोरोना रोगको संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ भने हालसम्म यस महामारीबाट नेपालमा कसैको पनि ज्यान गएको छैन । कोभिड १९ को महामारीबाट नेपालको अर्थतन्त्रमा पर्ने प्रभावको वारेमा अझैसम्म सरकारबाट ठोस तथ्याङ्कहरु सार्वजनिक भएको देखिँदैन ।
यसैबीच, एशियाली विकास बैंकले सन् २०२० मा नेपालको आर्थिक बृद्घि ५.३ प्रतिशत कायम हुने प्रतिवेदन सार्वजनिक गरेको छ । कोभिड–१९ को महामारीसँंग लड्न र अर्थतन्त्रलाइ बचाउन नेपाल सरकार र नेपाल राष्ट्रबैंकले राहतका कार्यक्रहरु घोषणा गरिसकेका छन् । नेपाल राष्ट्र बैंकले चैत १६ गते१९ बुँदे परिपत्र जारी गर्देै राहतका कार्यक्रहरु अघि बढाएको छ र मौद्रिक नीतिका उपकरणहरुलाई लचिलो बनाएको छ ।
यसअन्तर्गत अनिवार्य नगद मौज्दात अनुपात र बैकदर घटाइ क्रमशः ३ प्रतिशत र ५ प्रतिशत कायम गरिएको छ । त्यसैगरी किस्ताको भुक्तानी अवधि बढाइएको, किस्ताहरुमा कुनै शुल्क वा हर्जाना लिन नपाइने, ब्याजदरमा छुटको व्यवस्था गरिएको र चालुपुँजी प्रकृतिका अल्पकालीन कर्जाहरुको भुक्तानी अबधि बढाइएको छ ।
विद्यमान पुनर्कर्जा कोषलाइ ६० अर्ब बनाएको छ भने काउन्टर साइक्लिक बफरलाइ स्थगन गरेको जनाएको छ । त्यसैगरी नेपाल सरकारले कोभिड–१९ भाइरसको संक्रमणका कारणबाट प्रभावित भएका क्षेत्रहरुलाई राहतका विभिन्न कार्यक्रमहरु घोषणा गरेको छ ।
यो महामारीसँग लडी मानिसहरुको जीवन बचाउन मात्रै होइन कि समाजमा यस प्रकोपकै कारण आर्थिक बर्बादी खेपिरहेका कमजोर वर्गलाई सुरक्षित गर्न साथै आर्थिक वृद्धि र वित्तीय स्थायित्व कायम गर्न पनि अझै ठोस तथा प्रभावकारी नीतिगत उपायहरु आवश्यक पर्दछन् । (अर्जुनबहादुर कँडेल नेपाल बैंकमा बरिष्ठ प्रबन्धक पदमा कार्यरत छन)
प्रतिक्रिया दिनुहोस