aarthiknews.com विहीबार, ०९ जेठ २०८२   Thursday, 22 May, 2025
 

कसरी सम्भव भयो राष्ट्रिय वाणिज्य बैंकको शाखा सिंहदरबार भित्र ?

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • सोमबार, ०२ बैशाख २०७६
कसरी सम्भव भयो राष्ट्रिय वाणिज्य बैंकको शाखा सिंहदरबार भित्र ?

 राष्ट्रिय वाणिज्य बैंकलाई सिंहदरबार भित्र बिधिवत रुपमा भित्र्याइएको छ । भिभिभिआइपी र भिआइपीको गोप्य सूचना मुलुक बाहिर गएको भन्दै संसद भित्र र बाहिर समेत चर्चा र बहसले चर्को रुप लिएपछि एभरेष्ट बैंकको सिंहदरबार भित्रको शाखा निष्कृय पार्ने गरी राष्टिय वाणिज्य बैंकलाई सिंहदरबार भित्र शाखा खोल्न अनुमति दिइएको हो ।

एभरेष्ट बैंकको प्रतिस्पर्धीको रुपमा राष्ट्रिय वाणिज्य बैंकलाई सिंहदरबार भित्र्याइएको छ । यसअघि एभरेष्ट बैंकले गर्दै आएको काम राष्ट्रिय वाणिज्य बैंकलाई दिने र एभरेष्ट बैंक काम विहीन हुने अवस्था पुर्याइएको छ । एभरेष्ट बैंकलाई शाखा सार्न वाध्य पारिएको छ ।

एभरेष्ट बैंकको सिंहदरबार भित्रको शाखालाई लिएर पटक पटक संसद भित्र र बाहिर आवाज उठेको थियो । त्यस्तो विवादले एभरेष्टको विश्वासनियतामा आँच पुगेको एभरेष्ट बैंकले दावी गरेको छ ।

अर्थमन्त्री डा. युवराज खतिवडाले पनि गत फागुन २९ गते संसदमा राष्ट्रिय वाणिज्य बैंकको शाखा सिंहदरबार ल्याउने तयारी भइरहेको बताएका थिए । प्रतिनिधीसभाको बैठकमा सांसदहरुले सरकारी लगानीका बैंकहरुलाई सिंहदरबारमा प्रवेश रोक लगाएर विदेशी लगानीको बैंकलाई सरकारले प्रोत्साहन गरेको भन्दै अर्थमन्त्रीको ध्यानआकर्षण गराएका थिए ।

सांसदले राखेको प्रश्नको जवाफ दिँदै अर्थमन्त्री खतिवडाले पूर्वाधार नभएकाले सरकारी बैंक आउन नसकेको र सरकारी स्वामित्वको राष्ट्रिय वाणिज्य बैंकलाई ल्याउने तयारी भइरहेको बताएका थिए । अर्थमन्त्रीको सोही भनाइलाई कार्यान्वयन गर्दै राष्ट्रिय वाणिज्य बैंकलाई सिंहदरबार भित्र्याउने काम भएको अर्थमन्त्रालय उच्च स्रोतको भनाइ छ ।

नेपालका भिभिआएपी र भिआइपीको आर्थिक कारोबारका नाममा गोप्य सूचना विदेशमा समेत पुग्ने भएको भन्दै चिन्ता व्यक्त गरिदै आएपछि सरकारले यस्तो कदम चाल्न वाध्य भएको हो । सिंहदरबार भित्र एभरेष्ट बैंकले विगत १२ वर्षदेखि एकलौटे सेवा प्रदान गर्दै आएको छ । एभरेष्ट बैंक भारतीय पंजाव नेशनल बैंकको लगानीमा स्थापना भएको हो । उक्त बैंकमा पञ्जाव नेशनल बैंकको २० प्रतिशत शेयर छ ।

प्रतिक्रिया दिनुहोस