
काठमाडौं । तत्कालीन गभर्नर डा चिरञ्जीवी नेपालको कार्यकाल सकिएको १९ दिनपछि सरकारले महाप्रसाद अधिकारीलाई नयाँ गभर्नरका रुपमा नेपाल राष्ट्र बैंकले पाएको छ ।
मन्त्रिपरिषद्को सोमबार बैठकले लगानी बोर्डका प्रमुख कार्यकारी अधिकृत रहेका अधिकारीलाई गभर्नरमा नियुक्त गरेको छ । झण्डै तीन दशकभन्दा बढी समय केन्द्रीय बैंकको विभिन्न भूमिकामा रहेर काम गरेका अधिकारी आगामी पाँच वर्षसम्म सोही बैंकलाई नेतृत्व लिन पुगेका छन ।
खोटाङमा जन्मेका अधिकारीले भारतबाट चार्टर्ड एकाउन्टेन्टको अध्ययन पूरा गरेका छन । चार्टर्ड एकाउन्टेन्टको पृष्ठभूमिबाट राष्ट्र बैंकमा गभर्नर बन्ने अधिकारी पहिलो व्यक्तित्व हुन पुगेका छन ।
अधिकारी पछिल्लो चार वर्षदेखि लगानी बोर्डको प्रमुख कार्यकारी अधिकृतका रुपमा कार्यरत छन । अधिकारीले बोर्डको प्रमुख कार्यकारी अधिकृत भएर दुईवटा अन्तर्राष्ट्रिय लगानी सम्मेलनको समेत आयोजना गरे । बोर्डले संयोजन गरेका केही आयोजना कार्यान्वयनको चरणमा छन् । भारतीय कम्पनी सतलज विद्युत् निगमले सङ्खुवासभामा ९०० मेगावाट क्षमताको अरुण तेस्रो जलविद्युत् आयोजना निर्माण गरिरहेको छ ।
यस्तै नेपाली साझेदारसहित चिनियाँ लगानीकर्ता समूहले होङ्सी शिवम् सिमेन्ट उद्योग सञ्चालनमा ल्याइसकेको छ । यस्तै धादिङमा अर्को चिनियाँ समूहले ह्वासिन सिमेन्ट उद्योग सञ्चालनमा ल्याउने तयारी गरेको छ । अधिकारीले ‘बिजिनेस एड्मिनिस्ट्रेशन’ मा सन् १९८९ मा स्नातक गरेका छन भने भारतबाट १९९३ मा चार्टर्ड एकाउन्टेन्टको डिग्री लिएका हुन । केन्द्रीय बैंकको वित्तीय व्यवस्थापन, बैंकिङ अफिस, बैंक सुपरिवेक्षण, बैंक तथा वित्तीय संस्था नियमन विभागमा बसेर काम गरिसकेको अनुभव अधिकारीसँग छ । रासस
प्रतिक्रिया दिनुहोस