
समय यो तरिकाबाट पनि गुज्रिन्छ भनेर शायद हामी कसैले पनि कल्पना गरेका थिएनौ । कोरोना सङ्क्रमण रोक्नका लागि सरकारले आव्हान गरेको लकडाउनका कारण बैक तथा वित्तीय क्षेत्रमा यसको प्रभाव अत्यन्तै बढी परेको छ । यद्यपि बैक तथा वित्तीय संस्थालाई अत्यावश्यक सेवा क्षेत्रमा समावेश गरिएको हुँदा आंशिकरुपमा बैक तथा वित्तीय संस्थाहरूको शाखा कार्यालयहरू खोली रहेका छौँ ।
अत्यावश्यक क्षेत्र त हो तर सेवा कसरी प्रदान गर्ने ? यस क्षेत्रमा काम गरिरहेका कर्मचारीहरूमा सङ्क्रमणको जोखिम कस्तो छ ? यी प्रश्नको उत्तरहरू शायद समयले नै दिनेछ । तर, हामी जो यस दिन रात काम गरिरहेका छौँ हाम्रो वर्तमान अत्यन्तै कष्टप्रद छ । हामीलाई सेवा प्रवाह गर्न वास्तव मै गाह्रो छ । न बजारमा मास्क किन्न पाइन्छ न त सेनिटाइजर नै । हामी प्रत्येक पलहरू जोखिमसँग खेलिरहेका छौँ र हामी चाहन्छौ, यो प्रकोपको अन्त्य चाँडै होस् ।
हप्ताको दुई दिन मात्र भए पनि अथवा ग्राहकको अनुरोध र आवश्यकतालाई ध्यानमा राखी कार्यालय खोली रहँदा हामी सिधै जोखिमसँग खेलिरहेका हुन्छौँ । पैसा जस्तो अत्यन्तै चलायमान बस्तुसँग कर्मचारीहरूले काम गर्नुपर्दा कोरोनाको त्रास अति नै छ । बास्तमा संसारमा सबैभन्दा चलायमान बस्तु पैसा अर्थात् मुद्रा भन्दा फरक पर्दैन होला । बिनिमयमको अवधारणाको विकास सँगै मुद्राले मानिसको भौतिक तथा अन्य आवश्यकमा परिपूर्ति गर्न सहज त बन्यो तर हालको अवस्थामा भने त्यही यमदूत बन्ने सम्भावना छ । मुद्राको प्रत्यक्ष कारोबारले गर्दा कोरोना भाइरसको जोखिम सबैभन्दा बढी बैक तथा वित्तीय संस्थामा कार्यरत तल्लो वर्गका कर्मचारीहरूलाई छ जो नगद काउन्टरमा यो बेला सेवा दिन बसिरहनु पर्छ ।
सन् २०१८ को तथ्याङ्क अनुसार हाम्रो देश नेपालको साक्षरता दर ६७.९० प्रतिशत रहेको छ । तथापि यो सर्वेक्षणमा सामान्य प्रौढ शिक्षा लिएका मानिसहरू समेत समावेश भएका छन् । साक्षरता दर भन्दा बैक तथा वित्तीय संस्थामा संग्लग्नताको दर भने सरदर २० प्रतिशतले कम रहेको छ । विभिन्न बैक तथा वित्तीय संस्थाहरूले आफ्नो नोटिस बोड, विद्युतीय माध्यम तथा अन्य माध्यमहरूबाट आफ्नो ग्राहकहरूलाई डिजिटल प्रविधिको माध्यमबाट कारोबार गर्न आग्रह गरिरहेको छ तर सूचना प्रबधिको उपयोग गर्ने सम्बन्धमा ग्राहकहरूसँग यथेष्ट जानकारी नहुँदा ग्राहकहरू अन्योलमा परको छन् ।
यो महामारी सुरु हुनुभन्दा पहिले बैक तथा वित्तीय संस्थाहरूको अस्वस्थ्य व्यापारिक प्रतिस्पर्धाको कारण ग्राहकको सङ्ख्यात्मक वृद्धिमा मात्र ध्यान पुग्यो । बैक तथा वित्तीय संस्थाहरूले आफ्ना ग्राहकहरूलाई आफूसँग भएको अतिरिक्त सेवाबारे छोटकरीमा जानकारी दिई सेवा प्रदान गरियो । अतिरिक्त सेवा प्रदान गर्नुको एक मात्र उद्देश्य शाखा कार्यालयहरूलाई दिएको वार्षिक बजेटलाई कसरी मुनाफा उन्मुख बनाउने र लक्ष्य हासिल गर्ने भन्ने सम्बन्धमा मात्र ध्यान दिइयो ।
बैक तथा वित्तीय संस्थाले प्रदान गर्ने अतिरिक्त सेवाहरूमा न्यून जोखिम तथा कम लगानीमा नै विशुद्ध नाफा अर्थात् कमाई हुने भएकाले प्राय बैकहरूले आफ्नो ग्राहकलाई यो सुविधा लिन बारम्बार आग्रह गर्छन् । जसको अन्तिम उद्देश्य कुल नाफासँग सरोकार राख्दछ । तर, त्यही काम केन्द्रमा परेको थिएन । प्राथमिकतामा परेनन् ।
यो अवस्थामा आइपुग्नु अगावै सरकारले शिक्षा क्षेत्रको पहुँच हरेक क्षेत्रमा राम्रोसँग पुर्याउन सकेको भए आज हाम्रो देशको साक्षरता दर निकै माथि पुगेको हुन्थ्यो । र, हामी आम नेपाली डिजिटल प्रविधिको प्रयोग गर्न सक्षम हुन्थ्यौँ । अब सरकारलाई मात्र दोष दिएर पनि यो समस्याको समाधान हुने होइन । आगामी दिनहरूमा क्रमबद्धताको सिद्धान्त अनुरूप नै साक्षरता दर वृद्धि हुँदै जानेछ । यसमा सरकारी तहबाट कस्ता किसिमको नीति नियमहरू बन्लान् ती भविष्यका कुराहरू हुन् ।
नेपालमा रहेका सम्पूर्ण बैक तथा वित्तीय संस्थाहरू र केही सहकारी संस्थाहरू जसले सीमित कारोबार गर्न नेपाल राष्ट्र बैकबाट इजाजत पत्र लिएका छन् समेतलाई बुझ्नुपर्ने हुन्छ यसको अनुगमन तथा सपरिबेक्षण गर्ने एक मात्र अधिकार नेपाल राष्ट्र बैकसँग छ । डिजिटल प्रविधिको प्रयोगको ज्ञान आम नेपालीहरूमा न्यून हुनमा नेपाल राष्ट्र बैकको फितलो बैक तथा वित्तीय संस्था अनुगमन र सुपरिवेक्षण नीति पनि हो भन्दा शायद आज यो सङ्क्रमणकालीन अवस्थामा फरक पर्दैन ।
मुलत नेपाल राष्ट्र बैक, बैक तथा वित्तीय संस्था अनुगमनको नाममा बचत तथा क्रण कारोबारलाई मात्र सुपरिवेक्षण गरिरहेको छ । डिजिटल भुक्तानी सम्बन्धमा सचेतना मूलक कार्यक्रमहरू अनिवार्य रूपमा प्रदान गर्न आवश्यक नीति पहिले नै बनाएर लागु भएको भए आज धेरै नेपालीहरूले यसको प्रयोग सम्बन्धमा चेतना हुन्थ्यो ।
म एक बैङ्कर भएको नाताले सम्पूर्ण सेवाग्राहीहरूमा अत्यन्तै आवश्यक परेको खण्डमा मात्र सेवा लिन आउनुहुन विनम्र अनुरोध गर्दछु । तपाईँको जस्तै मेरो पनि आमाबुबाले मलाई सधैँ माया गर्नुहुन्छ । उहाँको सहारा म मात्र छु यदि म नै रहिन भने शायद उहाँको खुसी सदाका लागि डढेलो लाग्नेछ । मेरो अभाव मेरी आमालाई यो जन्ममा कहिल्यै कसैले फर्काउन सक्ने छैन । इटाली जस्तो स्वास्थ्य क्षेत्रमा अब्बल मुलुकले आफ्नो सानो गल्तीको कारण आज धेरै ठुलो समस्या भोगिरहेको छ त्यो कसैले भोग्न नपरोस् ।
हजुरहरूलाई सधैँ भगबान मान्ने बैङ्कर
जीवन तामाङ
हाल: सेन्चुरी कर्मशियल बैक, फिदिम शाखा, पाँचथर
प्रतिक्रिया दिनुहोस