
काठमाडौं । नेपाल क्लियरिङ्ग हाउस लिमिटेडबाट सञ्चालनमा रहेका प्रणालीहरु मध्ये ईलेक्ट्रोनिक चेक क्लियरिङ्ग र अन्तरबैंक भुक्तानी प्रणालीमा विहीबारदेखि लकडाउन पूर्वको अवस्था बमोजिमको समयसम्म क्लियरिङ्ग र सेटल्मेन्ट हुने भएको छ ।
सोही व्यवस्था अनुसार NHCL-ECC को रेगुलर सेसनमा दिनको १:३० बजेसम्म जम्मा गरिएका चेकहरु र NCHL-IPS मा दिनको १स्०० सम्म प्राप्त भएका भुक्तानी आदेशहरु सोही दिनमा फर्छौट हुने छन् । उक्त समय सीमा पछी प्रणालीमा आएका कारोबारहरु अर्को दिनमा फर्छौट हुने व्यवस्था रहेको छ ।
हालको लकडाउनको अवस्थामा बैंक वित्तिय संस्थाहरुका सीमित शाखाहरुबाट मात्र कारोबार हुँदै आएको र ग्राहकहरुलाई शाखासम्म पुग्न समेत अप्ठेरो भएकोले, लकडाउनको दोस्रो हप्तासम्म NCHL-ECC / NCHL-IPS मार्फत् प्रत्येक दिन ११स्३० बजे सम्म प्राप्त भएका कारोबारको मात्र सोही दिनमा क्लियरिङ्ग हुँदै आएको कम्पनीले जनाएको छ ।
चैत्र मसान्तमा अत्यावश्यक सेवा सुविधा अन्तर्गतका भुक्तानीहरुको चाप अधिक हुने हुँदा लकडाउनको तेस्रो हफ्ताको लागि क्लियरिङ्ग र सेटल्मेन्टको समय परिवर्तन गरिएको हो । कर्मचारीहरुको तलब भत्ता, सरकारी भुक्तानीहरु, सप्लायर÷पार्टी पेमेन्टहरु, कस्टमर फण्ड ट्रान्स्फर लगायतका भुक्तानीहरु चैत्र मसान्तमा अधिक मात्रामा हुने गर्दछन् ।
एनसीएचएलको connectIPS बाट भने साविक बमोजिम चौबिसै घण्टा यसको मोबाईल एप्स, वेबसाइट अथवा बैंक वित्तिय संस्थाका मोबाईल र ईन्टरनेट बैंकिङ्गबाट कारोबार गर्न सकिन्छ ।
लकडाउनको दौरान एनसीएचएलले पहिलो र दोस्रो हफ्तामा क्रमश १८.६ अर्ब र ३५.६ अर्ब बराबरको कारोबार फर्छौट गरेको छ । एनसीएचएलले हाल NCHL-ECC, NCHL-IPS, connectIPS, connectRTGS र NPI गरी पाँचवटा राष्ट्रिय भुक्तानी प्रणालीहरु सञ्चालन गर्दै आएको छ, जसमा नेपाल राष्ट्र बैंक लगायत प्राय सबै बैंक वित्तिय संस्थाहरु आबद्ध छन् ।
प्रतिक्रिया दिनुहोस