
काठमाडौँ । विश्व बैंकले आइतबार जारी सार्वजनिक गरेको एक प्रक्षेपण अनुसार चालु आर्थिक वर्षमा नेपालको आर्थिक वृद्धिदर निराशाजनक रहने देखिएको छ । दक्षिण एसियाका ८ वटा मुलुकको सो प्रक्षेपणमा नेपालको आर्थिक वृद्धिदर १.५ प्रतिशतदेखि २.८ प्रतिशतको बिचमा रहने अनुमान गरिएको छ ।
अघिल्लो प्रक्षेपणमा विश्व बैंकले नेपाली अर्थतन्त्र ६.५ प्रतिशतले विस्तार हुने भनी गरिएको प्रक्षेपणलाई संशोधन गर्दै यस्तो सार्वजनिक गरेको हो ।
विश्व बैंकले चालु आर्थिक वर्षमा नेपालमा रेमिटेन्स, व्यापार र पर्यटन क्षेत्र सबैमा कोरोना भाइरसको नकारात्मक प्रभाव पर्ने उल्लेख गरेको छ ।
त्यसैगरि, कोरोना संक्रमण ठुलो मात्रामा देशव्यापीरुपमा फैलन सक्ने र सरकारको कमजोर व्यवस्थापकीय क्षमताको कारण आकस्मिक सहायता र रोकथामका क्रियाकलापहरू हुन नसक्ने भन्दै खतरा रहेको उल्लेख गरेको छ । यो खतराले, गरिबी अत्यन्त उच्च स्तरमा पुर्याउने अनुमान विश्व बैंकको रहेको देखिन्छ ।
नेपालको हालको आर्थिक विकासबारे व्याख्या गर्दै रिपोर्टमा लेखिएको छ, ‘कमजोर कृषिजन्य गतिविधिले आर्थिक विकास घटाएको छ । मनसुनमा आएको ढिलाइ र फौजीकिरा तथा नक्कली बिउको कारण धानको उत्पादनमा आएको कमिको कारण यस्तो देखिएको हो ।’
रिपोर्टमा विशेषगरि होटेल र रेष्टँरामा भारतबाट पर्यटकहरू कम आएका कारण अफ्ठेरो परेको उल्लेख छ । सरकारको तलब बुद्धि र निर्यात वृद्धि गर्ने तथा आयात घटाउने नीतिका कारण मागको पक्षमा भने केही विकास भएको रिपोर्टमा उल्लेख गरिएको छ ।
तेलको मूल्यमा कमी आए पनि सरकारले गरेका कतिपय कर छुट र आयातजन्य वस्तुहरूमा लगाएको उच्च भन्सारका कारण मूल्य बुद्धि बढ्ने विश्व बैंकको ठहर छ । चालू आर्थिक वर्षमा सरकारको चालू खाता घाटा जिडिपीको १०.२ प्रतिशतले बढ्ने सो रिपोर्टमा अनुमान गरिएको छ ।
त्यसैगरि, चालु आर्थिक वर्षमा कुल बजेट घाटा जिडिपीको ७.३ प्रतिशत रहने रिपोर्टमा उल्लेख छ । सरकारले कोरोना भाइरसको रोकथामका लागि स्थापना गर्ने क्वारेन्टाइन र स्वास्थ्य सुविधा अतिरिक्त, तलबका वृद्धि, सामाजिक सुरक्षामा खर्च र स्थानीय सरकारलाई यसबिच गर्नु पर्ने वित्तीय हस्तान्तरणका कारण बजेटमा यस्तो घाटा आउन सक्ने विश्व बैंकको ठम्याई रहेको देखिन्छ ।
विश्व बैंकका अनुसार महाव्याधिको सुस्त प्रभाव सन् २०२२ सम्म नै रहेनछ । सन् २०२२ बाट मात्र अर्थतन्त्र पुनःस्थापना हुनसक्ने उल्लेख छ ।
प्रतिक्रिया दिनुहोस