
विश्वव्यापी रुपमा फैलिएको कोरोना भाइरस कोभिड–१९ को संक्रमण जोखीम न्यूनीकरण गर्ने उद्देश्यले बैंक तथा बित्तीय संस्थाहरूले विद्युतीय भुक्तानकिो कारोवार गर्दा कुनै पनि शुल्क नलिने व्यवस्था गरे । नेपाल राष्ट्र बैंकले बिद्युतिय भुक्तानी कारोवारको दायरा बढायो भने आरटीजीएस प्रणाली मार्फत कारोवार गर्दा हाल लगाउँदै आएको शुल्क मिति २०७६ चैत्र १० गते देखि अर्काे सूचना प्रकाशित नभएसम्म नलाग्ने व्यवस्था सहित सम्पूर्ण वित्तीय ग्राहकहरूलाई बिद्युतीय माध्यमबाट कारोबार गर्न अनुरोध गरियो । यसले अबको बैंकिङ प्रतिस्पर्धाको एक प्रमुख मानक डिजिटल बैंकिङ सेवा समेत रहने प्रष्ट संकेत गरेको देखिन्छ ।
आईटी विज्ञसमेत रहेका अस्गर अलीको नाम जोडेर प्राविधिक स्वामित्वको अधिकार दुरुपयोग गरेका समाचारहरू छापाहरूमा आउँदै गर्दा निजको लगानीमा रहेको एफवान सप्टले बैंकहरूको पेमेन्ट गेटवे र डाटा होस्टिङ समेत गर्दै गरेको अवस्थामा डिजिटल बैंकिङका जोखीमहरू समेत चर्चामा आएका छन् ।
यस विद्यमान अवस्थामा बैंक तथा वित्तीय संस्थाहरुको लागि डिजिटल बैंकिङ एक चुनौती र अपरिहार्य प्रतिष्पर्धी सेवा बन्दै गएको छ । ‘जहाँ चुनौतीहरूको बाँस हुन्छ त्यहाँ अवसरहरूको खानी पनि पाइन्छ’ भने अझै अबको बैंकिङ क्षेत्रको प्रतिस्पर्धा सुरक्षित डिजिटल बैंकिङ सेवामा हुनुपर्दछ । यसको लागि एफवान सफ्टसँग गरिएको सम्झौताका शर्त तथा व्यवस्थाहरू पुनर्मूल्यांकन देखि डिजिटल विभागको गठन र नियमित नविनतम अनुसन्धान तथा अनूगमन हुनु अपरिहार्य छ । सहज र सरल बैंकिङ सेवाको लागि आजका बैंक तथा वित्तीय संस्थाहरूले छरितो प्रक्रियाहरू र सुरक्षित प्रणालीहरूको व्यवस्था गर्नु जरुरी छ ।
अनलाइन तथा डिजिटल बैंकिङ सेवा विस्तार सुस्त गतिले होईन तिब्र गतिले हुनुपर्दछ । कोभिड–१९ को उच्च जोखीम रहेको वर्तमान अवस्थामा सहजै प्रयोगमा ल्याउन सकिने केही डिजिटल बैंकिङको चर्चा देहाय बमोजिम गर्न सकिन्छ ।
(१) अडियो सूचना पाटी
सूचनापाटी भन्ने बित्तिकै सूचनाहरू टाँसिएको भित्ताको बोर्डलाई बुझिन्छ । तर, अबको आवश्यकता अडियो तथा भिडियो सूचनापाटीको हो । भित्तामा टाँसिएको सूचना पढ्नको लागि नजिकै उभिनुपर्ने हुन्छ जसको अगाडी एक सानो भिड नै दखिने गरिन्छ । अडियो सूचनाहरु बसेर पनि सुन्न सकिन्छ भने इन्टरनेट तथा मोबाईलमा समेत सहजै सार्न सकिन्छ जसको प्रयोग बैंकिङ क्षेत्रबाट सुरुवात गर्न सकिन्छ ।
(२) अनलाइन क्यालेन्डर अफलाइन ग्यालरी
समयलाई नजिकबाट हेर्न महत्वपूर्ण भूमिका क्यालेन्डरले निभाउँछ । जसमा अंकगणितीय गते, बारमात्र होइन कार्य सञ्चालनका दिनहरू तथा बिदाहरू समेत उल्लेख गरेको हुन्छ । अबको साइवर युगमा भित्तामा होइन एप्समा क्यालेण्डर हेरिन्छ, एप्समै सूचना हेरिन्छन् । सोकारण अबका क्यालेण्डरहरू अनलाइनमा हुनु आवश्यक छ, सूचनाका क्षेत्रहरु बढाउनु जरुरी छ । जुन सूचना तथा क्यालेण्डर प्रत्येक ग्राहकको ग्यालेरीमा बसोस्, नयाँ सूचनाहरु आउँदा घण्टी बजोस् ।
(३) नगद जम्मा गर्न मेसिन (सीडीएम) को प्रयोग
नगद रहित बैंकिङको अवधारणा जबरजस्ती भएपनि नेपाल जस्तो विकासउन्मूख देशमा नगद भुक्तानी गर्ने एटीएमहरू सञ्चानमा आएको इतिहास नै नयाँ छ । एटिएम मेसिनसँंगै डेबिट कार्डकै प्रयोग गरि क्यास डिसपेन्सिङ मेसिन मार्फत निश्चित नगद रकम जम्मा समेत गर्न सकिन्छ । जुन मेसनिको प्रयोग नेपालका बैंकहरूले गर्न सकेका छैनन ।
जुन ठाउँमा पैसा मेसिनबाट झिक्न सकिन्छ । त्यही ठाउँमा जम्मा समेत मेसिनबाट गर्ने व्यवस्था गर्दा ग्राहकहरुले जुनसुकै बेला पनि सेवा पाउने, गोपिनियता झन बढ्ने र कर्मचारीको आवश्यकता समेत नपर्ने हुँदा बैंकिङ कार्यचाप घट्ने देखिन्छ ।
(४) अनलाइन एकाउन्ट ओपनिङ
कतिपय बैंक तथा बित्तीय संस्थाहरूले अनलाइनबाटनै बैंक खाता खोल्न सकिने प्रणाली प्रयोगमा ल्याएपनि अझै अधिकांश बैंकहरूले अनलाइन एकाउन्ट ओपनिङको व्यवस्था गर्न सकेका छैनन् । वर्तमान लकडाउन अवधिमा मात्र इन्टरनेटको खपत दोब्बर बढेको छ, मानिसहरू फुर्सदमा छन्, घरबाटै गर्न सकिने सुविधाहरु खोज्दै छन्, अनलाइन एकाउन्ट ओपनिङ आजको दिनमा अति आवश्यक बैंकिङ सेवा हो ।
(५) ई–अनुरोधमा मोबाईल बैंकिङ र एटिएम
आजको दिनमा पनि मोबाइल बैंकिङ र एटीएम सेवा लिनुपर्दा ग्राहक अनिवार्य बैंक सम्म पुग्नुपर्ने व्यवस्था छ, जुन आवश्यक देखिदैन । घर बाटनै इन्टरनेटको माध्यमबाट अनलाइन फर्म भर्ने, थम्प प्रयोग गर्ने, आवश्यक परिचयपत्र अपलोड गर्ने, निश्चित टर्म र कन्डिशनहरू स्वीकार गर्ना साथ बैंक कर्मचारीले रुजु गरी सेवा सञ्चालन गरिदिन सकिन्छ । तर, कयौ बैंकहरूले मोबाइल बैंकिङ र एटीएम समेत ई–अनुरोध बाट संचालन गर्न सक्ने व्यवस्था गर्न सकेका छैनन् ।
(६) ई–अनुरोधमा गैर–कोषिय बैंकिङ सेवा
जब ईलेक्ट्रोनिक थम्प नेपालको कानुनले स्वीकार गर्छ भने बोण्डहरू तथा स्वीप्टको अनुरोध गर्न ग्राहक बैंकमा पुगेर म्यानुयल फर्म भर्नुपर्ने, किन भन्ने प्रश्न आउँछ । ठेक्कापट्ठा समेत अनलाइन भइसकेको र इ–बिडिङ रहेको विद्यमान अवस्थामा ग्राहकहरूले आफ्नै कार्यालयबाट आवश्यक बोण्डहरू तथा स्वीप्टको अनुरोध रुजु गरी तोकिएको समयमा तयार गर्ने व्यवस्था बैंक तथा वित्तीय संस्थाहरूले गर्नु पर्ने आवश्यक छ ।
(७) अनलाइन कर्जा प्रवाहभारतको एचडिएफसि बैंक अनलाइन कर्जा एप्सलाई गरेको दश सेकेण्डमा कर्जा प्रवाह गर्ने व्यवस्था मिलाएको छ जुन धेरै बैंकहरूको लागि उदाहरणीय मेकानिज्म हो । सीमित अल्पकालीन कर्जा अनलाइन मार्फत एप्सबाटै अपडोल गर्दा ब्याज तथा साँवा भुक्तानीको आधार प्रमाणित कागजहरू समेतका आधिकारिक परिचयपत्रहरू अपलोड गरिएको हुन्छ । इएमआए तिर्न सक्ने क्षमता समेत अनलाइन सफ्टवेयरले विश्लेषण गरी बैंक प्रतिनिधिसम्म पुर्याउँछ । यसबाट दश सेकेण्डमा कर्जा प्रभाव हुन्छ । एचडिएफसि बैंकको अनलाइन कर्जा एप्समार्फत प्रवाह भएका कर्जाहरूको एनपीए( खराब कर्जा) शुन्य छ । निश्चित आवश्यक कर्जा प्रभाव गर्न नेपालका बैंकहरूले समेत एचडिएफसि बैंकलाई अनुसरण गर्न सक्छन् ।
बैंकिङ क्षेत्रमा डिजिटल बैंकिङ सेवाको प्रतिस्पर्धा तब मात्र सार्थक हुन्छ जब डिजिटल बैंकिङको लागि वित्तीय साक्षरता प्रभावकारी रुपमा गाउँ गाउँ पुग्छ । बैंक तथा वित्तीय संस्थाहरूको प्रमुख स्रोत नै ग्राहकहरू हुन, सम्भावित ग्राहकहरूको बैंकिङ चेतना मात्र होइन डिजिटल बैंकिङको प्राविधिक शिक्षा समेत आवश्यक छ । अबका औपचारिक शिक्षाका प्रत्येक तहमा डिजिटल बैंकिङ सेवा सम्बन्धी अनिवार्य शिक्षा समेत समावेस गर्नुपर्ने अपरिहार्य भएको छ ।
विद्युतिय माध्यमबाट कसरी भुक्तानी गर्ने तथा आधुनिक डिजिटल बैंकिङ सेवा कसरी सहज उपभोग गर्ने भन्ने सम्बन्धमा वित्तीय साक्षरतासँगै प्रत्येक बैंक तथा वित्तीय संस्थाहरूले २४ सै घण्टा ग्राहकहरूलाई आवश्यक जानकारी दिने उद्देश्यले कल सेन्टर संचालनमा ल्याउनै पर्छ । जसले बैंकिङ क्षेत्रको विकासमा आमूल परिवर्तन सहितको नयाँ बिहानी ल्याउन उल्लेखनीय भुमिका खेल्छ ।
लेखकः
महेश राज जोशी
नेपाल बैंक लिमिटेड, घर्तीगाउँ, शाखाका शाखा प्रवन्धक
प्रतिक्रिया दिनुहोस