aarthiknews.com मंगलबार, २८ जेठ २०८२   Tuesday, 10 June, 2025
 

बैंक नखुल्दा  सेवाग्राही मर्कामा

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • विहीबार, ०४ बैशाख २०७७
बैंक नखुल्दा  सेवाग्राही मर्कामा

काठमाडौं । कोभिड–१९ को जोखिम हुन नदिन बन्दाबन्दी (लकडाउन)जारी रहदा यहाँका बैंक तथा वित्तीय संस्थाले सेवा प्रवाह नगर्दा सेवाग्राही समस्यामा परेका छन् ।  मकवानपुरका प्रमुख जिल्ला अधिकारी दीपराज नेपालको अध्यक्षतामा हालै  बसेको बैठकले नियमित रुपमा बैंक तथा वित्तीय संस्थाहरु सञ्चालन गर्नुपर्ने  र  एटीएम पनि खुल्ला राख्ने  निर्णय गरेको थियो ।  तर प्रशासनको  निर्णयअनुसार वित्तीय सस्थाले आफ्ना सेवालाई सुचारु नगर्दा सेवाग्राही समस्यामा परेको जनाइएको छ ।   

सेवाग्राहीले बैंकमा रकम झिक्न  र लिन जाँदा बैंकहरु बन्द रहेको बताएका छन् । हेटौँडामा एनआइसी एशिया, सिर्जना, माच्छापुछ्रे, मेघा, नोविल, एनएमबी लगायतका अधिकांश बैंक तथा वित्तीय संस्था बन्द रहेको गुनासो पाइएको छ ।  

सेवाग्राहीका अनुसार बैंकका पहरेदार(गार्ड)ले मुख्यद्वारबाट फर्काउने गरेको तथा एटिएम बिग्रेको तथा कम्प्युटरमा नेटवर्क कम आएको बताउँदै फर्काउने गरेको छ । स्थानीय राम अधिकारीले रकम झिक्न नपाउँदा समस्या परेको बताए ।  

 सरकारी स्वामित्वमा सञ्चालित राष्ट्रिय बाणिज्य बैंक बिहान १० देखि १२ बजेसम्म खुल्ने गरेको छ । त्यहाँ साबुन पानी  र सेनिटाजर लगाएर समाजिक दूरी कायम गरी  प्रवेश गर्न दिइएको छ । ग्रामीण क्षेत्रका बैंक बन्द रहेको गुनासो पाइएको छ ।  

प्रतिक्रिया दिनुहोस