aarthiknews.com मंगलबार, २८ जेठ २०८२   Tuesday, 10 June, 2025
 

एनआईसी एशिया बैंकका ऋणीलाई १० प्रतिशत सहुलियत

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • शुक्रबार, ०५ बैशाख २०७७
एनआईसी एशिया बैंकका ऋणीलाई १० प्रतिशत सहुलियत

  
काठमाडौं । एनआईसी बैंकले बैंकका ऋणीलाई १० प्रतिशत ब्याज सहुलियत दिने निर्णय गरेको छ । नेपाल राष्ट्र बैंकको २०७६ चैत्र १६ गतेको निर्देशन अनुसार २०७६ चैत्र मसान्तभित्र भुक्तानी गर्नुपर्ने मासिक वा त्रैमासिक किस्ताबन्दी कर्जाहरूमा ग्राहकहरूले चैत्र महिनाभित्र नै ब्याज तथा किस्ता बुझाएमा किस्तामा समाविष्ट ब्याज रकममा १०% प्रतिशत छुट प्रदान गर्ने निर्णय गरेको बैंकले जनाएको छ ।  

कोरोना भाइरसको संक्रमण फैलिन नदिन नेपाल सरकारले पूर्ण रुपमा आवतजावतमा प्रतिवन्ध लगाउँदै लकडाउन घोषणा गरेको वर्तमान अवस्थाले मुलुकको उद्योग, कलकारखाना, व्यापार, व्यवसाय, पर्यटन लगायत वित्तीय क्षेत्र समेत प्रभावित भैरहेको यस असहज परिस्थितिमा एन आई सी एशिया बैंकले ग्राहकलाई यस्तो सहुलियत दिएको जनाएको छ । 

बैंक पनि साथी पनि, राम्रो पनि हाम्रो पनि भन्ने मूल नाराका साथ आम जनसमुदायमा केन्द्रित बैंकिङ्ग सेवा प्रदान गर्दै आइरहेको यस बैंकले यस असहज परिस्थितिमा आफ्ना ऋणीहरुलाई सहुलियत प्रदान गर्न तथा यस असहज परिस्थितिबाट उद्दार गर्न ऋणीले बुझाउन पर्ने ब्याज रकममा भारी छुट प्रदान गर्ने योजना सार्वजनिक गरेको छ । 

बैंकबाट कर्जा सुविधा उपयोग गर्नुभएका सम्पुर्ण ग्राहक महानुभावहरुले वैशाख मसान्तसम्ममा चुक्ता भुक्तान गर्नुपर्ने सम्पूर्ण मासिक तथा त्रैमासिक किस्ता, ब्याज लगायत तिर्न बाँकी रहेको वक्यौता साँवा तथा ब्याज भुक्तानी गर्नुभएमा बुझाउनु भएको साधारण ब्याजको १० प्रतिशतले हुन आउने रकम तथा जरिवाना ब्याजको शतप्रतिशत रकम छुट प्रदान गरिने बैंकले बताएको छ । 

यो सुविधा मासिक तथा त्रैमासिक किस्ताबन्दी कर्जाहरुका साथै चालूपुँजी कर्जा तथा अन्य रिभल्विङ प्रकृतिका कर्जाहरुमा लगायत बैंकबाट प्रवाह भएका सम्पूर्ण कर्जाहरुमा लागू हुनेछ । उक्त छुट रकम २०७७ जेष्ठ महिनाको पहिलो हप्ताभित्र सम्बन्धित ग्राहकको खातामा जम्मा गरिनेछ ।

तर यसरी ब्याज छुट दिँदा छुटपश्चात ग्राहक महानुभावले तिर्नुपर्ने ब्याज आधार दरबाट गणना हुने ब्याजभन्दा कम हुनेछैन । यस किसिमको सहुलियत नेपालको बैकिङ्ग इतिहासमा दुर्लभ नै उपलब्ध हुनेहुँदा सम्पूर्ण ग्राहक महानुभावहरुलाई यस मौकाको सदुपयोग गरी अधिकतम लाभ प्राप्त गर्नुहुन बैंकले अनुरोध समेत गरेको छ ।
 

प्रतिक्रिया दिनुहोस