
काठमाडौं। तपाईंलाई आवश्यकपर्ने पैसा बैंक तथा वित्तीय संस्थाबाट कसरी निकाल्नुहुन्छ ? एटीएम मेसिनको प्रयोग गर्नुहुन्छ वा चेकमार्फत् गर्ने गर्नुभएको छ ? साक्षर व्यक्तिले सहजैरुपमा एटीएम मेसिनमा कार्ड राखेर सहजै पैसा निकाल्न सक्लान् । निरक्षर, कम अध्ययन भएका वा अंग्रेजी भाषा नजान्नेका लागि एटीएमको प्रयोग कसरी गर्ने भन्नेमा नै समस्या हुने गरेको छ ।
उपभोक्ताको समस्यालाई समाधान गर्ने लक्ष्यका साथ नेपाल राष्ट्र बैंकले एटीएम मेसिनमा नेपाली भाषाकोसमेत सहज प्रयोग गर्ने/गराउने वातावरण बनाउन लागिपरेको छ ।
सहजरुपमा आवश्यक रकम निकाल्नका लागि प्रयोगमा ल्याइएका एटीएम मेसिनमा नेपाली भाषा प्रयोगमा नल्याइँदा ग्राहकले असुविधा भोग्ने गरेका छन् । राष्ट्रिय वाणिज्य बैंकले सन्चालनमा ल्याएका एटीएममा नेपाली भाषा रहेको भएपनि अन्य बैंक तथा वित्तीय संस्थाका एटीएम मेसिनमा भने नेपाली भाषा राखिएको छैन ।
नेपाल राष्ट्र बैंकको भुक्तानी प्रणाली विभागले ‘अटोमेटेड टेलर’ मेसिनमा नेपाली भाषा प्रयोग गरी कारोबार गर्ने व्यवस्था गर्न बैंक तथा वित्तीय संस्थालाई निर्देशन दिएको छ ।
बैंक तथा वित्तीय संस्थाले सन्चालनमा ल्याएका एटीएम मेसिनमा नेपाली भाषाको प्रयोग गरी कारोबार गर्नसकिने सुविधा नभएको भनी गुनासो प्राप्त भएकाले केन्द्रीय बैंकले सूचनामार्फत् आग्रह गरेको हो ।
बैंकले सूचना प्रकाशित भएको मितिले ३० दिनभित्र एटीएम मेसिनमा अनिवार्यरुपमा नेपाली भाषा प्रयोग गरी कारोबार गर्ने व्यवस्था मिलाउन आग्रह गरेको छ ।
नेपाली भाषा प्रयोग गरी एटीएम चलाउन सकिने व्यवस्था गरी सोको जानकारी गराउनसमेत केन्द्रीय बैंकले निर्देशन दिएको छ । तोकिएको अवधिभित्र नेपाली भाषाको प्रयोग गरी कारोबार गर्नसकिने व्यवस्था मिलाइएको नपाइएमा भुक्तानी तथा फर्छ्योट ऐन, २०७५ अनुसार कारबाही गरिने राष्ट्र बैंकले उल्लेख गरेको छ ।
विज्ञान–प्रविधिको विकाससँगै बैंक तथा वित्तीय संस्थाले पछिल्ला दिनमा ग्राहकलाई सहज सेवा दिने लक्ष्यका साथ एटीएम मेसिन सन्चालनमा ल्याएका हुन् । बैंक तथा वित्तीय संस्था, वित्त कम्पनी तथा सहकारी संस्थालेसमेत एटीएम मेसिन सन्चालनमा ल्याएका छन् ।
नेपाल राष्ट्र बैंककाअनुसार देशभर ४० लाख ७१ हजारले नियमितरुपमा एटीएम कार्ड प्रयोग गर्छन । कुल ५९ लाख ६० हजारले एटीएम कार्ड लिएका छन् । सरकारले नयाँ वर्षको सुरुआतसँगै सुरु गरेको ‘खाता खोलौं’ अभियानले पनि एटीएम कार्ड लिनेको संख्यामा वृद्धि हुने देखिएको छ ।
प्रतिक्रिया दिनुहोस