aarthiknews.com बुधबार, २९ जेठ २०८२   Wednesday, 11 June, 2025
 

नेपाल बैंकले पायो पहिलो पटक ‘ए’ रेटिङ

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • शनिबार, १३ बैशाख २०७७
नेपाल बैंकले पायो पहिलो पटक ‘ए’ रेटिङ

काठमाडौं । रेटिङ एजेन्सी इक्रा नेपाल लिमिटेडद्वारा देशकै पहिलो बैंक नेपाल बैक लिमिटेड लाई ‘ए’ स्तरको रेटिङ कायम गरिएको छ । नेपाल बैंक लिमिटेडले जारी गर्न लागेको २ अर्ब ५० करोड रुपैयाँको डिभेन्चरका लागि इक्रा नेपाल लिमिटेडले रेटिङ्ग प्रदान गरेको हो ।  धितोपत्र उपकरणहरु समयमा वित्तिय दायित्व पूरा गर्ने सम्बन्धमा पर्याप्त मात्रामा सुरक्षीत मानिन्छन् । यस्ता उपकरणहरुमा न्यून क्रेडिट जोखिम रहेको हुन्छ । 

बैंकका प्रवक्ता प्रकाशकुमार अधिकारीले शुक्रबार जारी गरेको विज्ञप्तिमा यस स्तरको रेटिङ प्राप्त गर्ने बैंक तथा वित्तीय संस्थाको आफ्नो वित्तीय तथा आर्थिक दायित्वलाई समयमै भुक्तानी गर्न सक्ने पर्याप्त क्षमता हुने र कर्जा जोखिम न्यून रहेको भन्ने आधार प्रमाणित हुने हुँदा बैंकप्रतिको विश्वसनियता बढ्नुका साथै बैंकको व्यवसाय वृद्घि तथा विस्तारमा महत्वपूर्ण योगदान पुग्ने अपेक्षा गर्न सकिने उल्लेख छ । 

बैंकद्वारा वित्तीय दबाबलाई व्यववस्थापन गर्न कर्जा जोखिम, व्यावसायिक तथा वित्तीय जोखिमको विश्लेषण, व्यवस्थापकीय क्षमता, सञ्चालन प्रभावकारिता, बैंकको प्रभावकारी सञ्चालनमा प्रभाव पार्ने आन्तरिक तथा बाह्य वातावरणीय तत्वको विश्लेषण, बजार हिस्सा, ब्राण्ड तथा इमेज, स्वस्थ मुनाफाको आधार, नीतिगत तथा कानूनी प्रभावको मूल्याङ्कन, पूजी संरक्षण तथा सरकारबाट प्राप्त सहयोग पुग्ने उल्लेख छ । 

 सुशासन कायम गर्नका लागि गरिएका प्रयास, नीति तथा स्थापना गरेका पूर्वाधार, जोखिम बहन गर्नसक्ने क्षमता, सम्पत्तिको गुणस्तर, पर्याप्त तरलता तथा पूँजी कोष, आम्दानीका स्रोत तथा तिनका स्थायित्व, निक्षेपको मिश्रण, कर्जा तथा निक्षेपको अनुपात, पारदर्शिता एवं समग्र इण्डष्ट्रिजको जोखिम आदिजस्ता तथ्यको आधारमा नेपाल बैंक लिमिटेड ‘ए’  रेटिङमा पर्न सफल भएको जनाइएको छ । 

देशकै प्रथम यस बैंकले हालको विषम परिस्थितिमा समेत पूर्ण सुरक्षा सतर्कता अपनाउँदै आफ्ना सबै शाखामार्फत सीमित कर्मचारीलाई संलग्न गराई सीमित बैंकिङ सेवा देशभर सञ्चालन गरिरहेको छ । 

प्रतिक्रिया दिनुहोस