
काठमाडौं । चालू आर्थिक वर्षको तेस्रो त्रैमाससम्म प्राइम कमर्सियल बैंकले २ अर्ब ३ करोड ६ लाख ७५ हजार रुपैयाँ खुद नाफा गरेको छ । बैंकले बुधबार सार्वजनिक गरेको यस त्रैमासको वित्तीय विवरण अनुसार गत वर्षको भन्दा यस वर्ष नाफा ३१ प्रतिशत बढी भएको हो । गत वर्षको तेस्रो त्रैमाससम्म बैंकले १ अर्ब ५४ करोड ७९ लाख ४ हजार रुपैयाँ खुद खुद नाफा गरेको थियो ।
गत फागुन २९ गतेदेखि कैलाश विकास बैंकसँग एकिकृत कारोबार गरेको यस बैंकको चुक्तापूँजी १३ अर्ब ९८ करोड ५२ लाख ४९ हजार रुपैयाँ खुद पुगेको छ । यस वर्ष शेयरधनीहरुलाई बैंकले १६ प्रतिशत बोनस शेयर दिएको छ । यस अघि प्राइमले गत भदौ २९ गते कन्काई विकास बैंकसँग एकिकृत कारोबार गरेको थियो । यसै वर्ष दुई विकास बैंकलाई प्राप्ती गरेको यस वैंकको सञ्चालन नाफा बढेकाले नाफा बढेको हो ।
गत वर्ष २ अर्ब १९ करोड रुपैयाँभन्दा बढी सञ्चालन नाफा गरेको यस बैंकले यो वर्ष ३१ दशमलव ६९ प्रतिशत बढी २ अर्ब ८९ करोड रुपैयाँभन्दा बढी सञ्चालन नाफा गरेको छ । तेस्रो त्रैमासम्ममा बैंकको वितरणयोग्य नाफा ६४ करोड १२ लाख १३ हजार रुपैयाँ रहेको छ ।
खुद ब्याज आम्दानी गत वर्षभन्दा २८ प्रतिशत बढी ३ अर्ब ३४ करोड ८ लाख रुपैयाँभन्दा बढी भएको छ । यस वर्ष बैंकले गत वर्षको तुलनामा ५३ प्रतिशत बढी १ खर्ब ११ अर्ब ४६ लाख रुपैयाँ कर्जा प्रवाह गरेको छ भने ४९ प्रतिशत बढी १ खर्ब १४ अर्ब ७३ करोड ३१ लाख रुपैयाँ निक्षेप संकलन गरेको छ ।
गत वर्ष यस अवधिमा १ दशमलव ५८ प्रतिशत रुपैयाँ रहेको बैंकको कर्जा यस वर्ष शून्य दशमलव ९७ प्रतिशतमा सिमित भएको छ । प्रतिशेयर आम्दानी १९ दशमलव ३६ रहेको छ भने प्रतिशेयर नेटवर्थ १४४ दशमलव ६२ रुपैयाँ छ । यस वर्ष गत वर्षभन्दा बैंकको आधार ब्याजदरमा कमि आएको छ । गत वर्ष यस अवधिमा १० दशमलव २० प्रतिशत रहेको आधार ब्याजदर यस वर्ष ९ दशमलव ८५ प्रतिशत कायम भएको छ ।
प्रतिक्रिया दिनुहोस