
काठमाडौं । नेपाल राष्ट्र बैंकले रु छ अर्ब बराबरको विकास ऋणपत्र बिक्री गर्ने भएको छ । बैंकले मंगलबार सूचना प्रकाशित गरी यही जेठ ९ गते बिहीबार ‘विकास ऋणपत्र २०८९ ख’ बिक्री गर्ने जानकारी दिएको हो । बोलकबोलको माध्यमबाट उक्त ऋणपत्र बिक्री गर्न लागिएको हो ।
बैंक तथा वित्तीय संस्था, गैर बैंक वित्तीय संस्था, बीमा कम्पनी, सङ्गठित संस्था तथा नेपाली नागरिकले उक्त ऋणपत्र खरीदका लागि आवेदन दिन सक्नेछन् । ऋणपत्रको ब्याज भुक्तानी अर्धवार्षिकरुपमा हुने र आर्जित ब्याजमा ब्याजकर लाग्नेसमेत सूचनामा उल्लेख छ ।
घटीमा रु ५० हजार र बढीमा कूल बिक्री गर्न लागिएको रकमको सीमामा नबढाई रु ५० हजारले भाग गर्दा निशेष भाग जाने अङ्क बराबरको खरीद गर्न पाइने व्यवस्था गरिएको छ । बैंकका अनुसार ऋणपत्रको दोस्रो बजार कारोवार नेपाल स्टक एक्सचेञ्जमा हुनेछ ।
त्यस्तैगरि, नेपाल राष्ट्र बैंकले रु २३ अर्ब छ करोड रकम पुनरकर्जाको रुपमा लगानी गरेको छ । उत्पादनशील क्षेत्रतर्पm कर्जा लगानी तथा निर्यात विस्तारमा समेत सहयोग पु¥याउने उद्देश्यले बैंकले सहुलियत दरमा प्रदान गर्ने कर्जाको उपयोग बढेको हो । केन्द्रीय बैंकले हालै सार्वजनिक गरेको चालू आर्थिक वर्षको नौ महीनाको अवधिमा पुनरकर्जाको उपयोग गर्नेको सङ्ख्यामा वृद्धि भएको उल्लेख गरेको छ ।
बैंकका अनुसार साधारण पुनरकर्जा रु १८ अर्ब ९७ करोड र निर्यात पुनरकर्जा रु एक अर्ब ४९ करोड उपयोग भएको छ । यस्तै गत चैत मसान्तसम्ममा भूकम्प पीडितलाई आवासीय घर निर्माणको लागि रु दुई अर्ब ५८ करोड रकम प्रदान गरिएको छ । त्यस्तो कर्जा एक हजार ५७७ ऋणीले उपभोग गरेका छन् । नेपाल सरकारबाट पाँच प्रतिशत ब्याज अनुदानमा प्रवाह गरिने कृषि तथा पशुपक्षी व्यवसाय कर्जा लिनेको सङ्ख्यामा १४ हजार ६३९ पुगेको छ ।
सो कार्यक्रमअन्तर्गत रु २५ अर्ब १८ करोड कर्जा बक्यौता रहेको छ भने रु ९८ करोड २२ लाख ब्याज अनुदान प्रदान गरिएको छ । सहुलियतपूर्ण कर्जाका लागि ब्याज अनुदानसम्बन्धी एकीकृत कार्यविधि, २०७५ मा व्यवस्था भएका अन्य क्षेत्रतर्फ रु १३ करोड ६४ लाख कर्जा बक्यौता रहेको छ ।
यस्तै चालू आवको नौ महीनामा वाणिज्य बैंकहरुले रु ११ खर्ब ६५ अर्ब र अन्य वित्तीय संस्थाले रु एक खर्ब ९९ अर्ब ३३ करोडको अन्तर–बैंक कारोवार गरेका छन् । अघिल्लो वर्षको सोही अवधिमा वाणिज्य बैंक र अन्य वित्तीय संस्थाहरुले क्रमशः रु आठ खर्ब ८२ अर्ब ८७ करोड र रु २७ अर्ब ४१ करोड कारोवार गरेका थिए ।
प्रतिक्रिया दिनुहोस