
काठमाडौं, चैत ३ । नेपालका चर्चित तीन बैंकका सञ्चालकहरु अहिले बैंक हाँक्ने र गाँठ ल्याउन सक्ने प्रमुख कार्यकारी अधिकृत (सीईओ) को खोजीमा छन् ।
कोमल ओलीको गीत ‘मनमा आँट र गोजी गाँठ भएको...’ भन्ने गीतजस्तै बैंक हाँक्न सक्ने आँट भएको र लगानीयोग्य रकम (गाँठ) ल्याउन सक्ने व्यक्तिको खोजीमा जुटेको एक बैंकका सञ्चालकले बताए ।
सरकारी स्वामित्वको सबैभन्दा पुरानो नेपाल बैंकका सीईओ देवेन्द्रप्रताप शाहले अवकाश पाएसँगै त्यो बैंकमा सीईओ पद खाली छ । उक्त बैंकमा अहिले कामु सीईओको जिम्मेबारी कृष्णबहादुर अधिकारीलाई दिइएको छ । नेपाल बैंकको सीईओ छनोट प्रतिस्पर्धाबाट गर्ने भनिएको छ । तर, त्यहाँ राम्रो सीईओभन्दा पनि हाम्रो सीईओको खोजी भइरहेकोे छ । सरकारी स्वमित्वको बैंक भएकाले सत्तामा रहेको पार्टी नेकपामा आबद्ध त्यसमा पनि प्रधानमन्त्री केपी शर्मा ओली नजिककै व्यक्ति ल्याउने तयारी भइरहेको नेपाल बैंक स्रोतको भनाइ छ ।
त्यस्तै ग्लोबल आइएमई बैंकमा पनि सीईओे नभएको लामो समय भएको छ । उक्त बैंकमा सीईओेको जिम्मेबारी सम्हाल्दै आएका जनक शर्मा पौडेलले राजीनामा दिएपछि सो पद खाली छ । अहिले ग्लोबल आइएमई बैंकको कामु सीईओको जिम्मेबारी महेश शर्मा ढकाललाई दिइएको छ । ग्लोबल आइएमई बैंकका अध्यक्ष चन्द्र ढकालका अति विश्वासनीय व्यक्तिका रुपमा कामु सीईओे महेश ढकाललाई लिने गरिन्छ ।
ग्लोबल आइएमई बैंकका अध्यक्ष ढकालले कामु सीईओे ढकालको कार्य मूल्यांकनका आधारमा सीईओेको जिम्मेबारी दिने कि नदिने भन्ने बारेमा निर्णयमा पुग्ने बताउँदै आएको बैंक स्रोतको भनाइ छ । अध्यक्ष ढकालले बाहिरबाट नयाँ सीईओेको खोजी गरेर ल्याउनुभन्दा उनलाई नै सीईओेको जिम्मेबारी दिने अन्तिम तयारी भइहेको बुझिएको छ ।
कामु सीईओ ढकालले यसअघि टुरिजम डेभलपमेन्ट बैंकको सीईओको नेतृत्वमा रहँदा उक्त बैंकलाई नयाँ उचाइमा पुर्याएकाले उनलाई ग्लोबल बैंकको सीईओेको जिम्मेबारी दिँदा पनि फरक नपर्ने तहमा बैंक सञ्चालक पुगेको बताइन्छ । कामु सीईओे ढकाल बैंक सञ्चालकहरु नजिकको व्यक्ति हाम्रो र राम्रो दुवै भएकाले पनि उनको सीईओे बन्ने सम्भावना धेरै भएको बैंक स्रोतको भनाइ छ । उनलाई बैंक सञ्चालक समितिले कुनै पनि बेला सीईओेको जिम्मेबारी दिन सक्ने स्रोतको दाबी छ ।
यसै गरी सन्राइज बैंकका सीईओे रत्नराज बज्रचार्यको कार्यकाल पनि जेठमा सकिँदै छ । उनको कार्यकाल सकिएपछि कसलाई सीईओेमा ल्याउने भन्ने विषयमा पनि चर्चा परिचर्चा शुरु भएको छ । अहिले सन्राइज बैंकको सिनियर डेपुटी जेनेरल म्यानेजर आशा राना अधिकारीलाई कामु सीईओ जिम्मेबारी दिने र त्यसपछि सीईओेको खोजी गर्ने तहमा बैंक सञ्चालक पुगेको बताइन्छ ।
प्रतिक्रिया दिनुहोस