
काठमाडौं । वित्तीय विवरणको उद्देश्य नै यसले कुनैपनि संस्थाको वित्तीय चित्र देखाउनु हो । संस्थाको नाफा, नोक्सान, नगद प्रवाह, वासलात र अन्य सम्पूर्ण अवस्थाहरुको सही चित्रण गर्नकै लागि त्यस्ता रिपोर्टहरु प्रकाशित गरिन्छ । यही रिपोर्टकै आधारमा संस्थाले आफ्नो भावी रणनीति बनाउँछ । संस्थाका ऋणीहरुले सो संस्थासँगको ऋण र कारोबारको निर्णय गर्छन् । बजारका लगानीकर्ताले सम्बन्धित कम्पनीमा लगानी गर्ने कि नगर्ने ? भनेर निर्णय समेत गर्छन् ।
अहिले सबै बैंक तथा वित्तीय संस्था तथा अन्य सूचीकृत कम्पनीहरुले समेत प्रत्येक त्रैमास सकिएको एक महिनाभित्र सो त्रैमासको वित्तीय विवरण प्रकाशन गरिसक्नुपर्ने व्यवस्था छ । अन्यथा नहुने हो भने अबको ८ दिनमा सबै कम्पनीहरुले त्यस्तो रिपोर्ट प्रकाशित गरिसक्नेछन् । तर, ती कम्पनीहरुले जारी गरेको रिपोर्ट हेरेर तपाईँले आफ्नो वित्तीय निर्णय लिनुभयो भने चाहिँ पछुताउनुको विकल्प छैन । यसमा सावधान रहनु जरुरी छ ।
विश्वमै प्रचलित अन्तराष्ट्रिय वित्तीय लेखांकन प्रणाली (आईएफआरएस) लाई पछ्याउँदै नेपालले नेपाल वित्तीय लेखांकन प्रणाली (एनएफआरएस) लागु गर्दै आएको छ । सुरुमा बहुराष्ट्रिय कम्पनीबाट सुरु भएको यस्तो लेखांकन प्रणाली अहिले क्रमशः बैंक तथा वित्तीय संस्था, बीमा कम्पनी र अन्य ठूला संस्थाहरुमा लागु भइसकेको छ । यही प्रणालीको दोषका कारण हामीले चैत महिनाको रिपोर्टमा वास्तविक चित्र देख्न नसक्ने भएका हौं ।
एकछिन बैंक तथा वित्तीय संस्थामै केन्द्रित होऔं ।
चैत महिनामा बैंक तथा वित्तीय संस्थाले उठाउनुपर्ने ब्याजको ६० प्रतिशत रकम उठेको छैन । नेपाल बैंकर्स संघका अध्यक्ष भुवन दाहालले केही दिनअघि एउटा सार्वजनिक कार्यक्रममै ४० प्रतिशतको हाराहारीमा मात्रै ब्याज उठेकोले यो त्रैमासमा राम्रो रिपोर्टको अपेक्षा नगर्न सुझाव दिएका थिए ।
हुन पनि कोरोनाभाइरस (कोभिड–१९) को संक्रमणका कारण सबै क्षेत्र संकटग्रस्त भएको अवस्थामा यसको स्वभाविक असर बैंक तथा वित्तीय संस्थामा परिहाल्छ । ऋण लिएकाहरुको सावाँब्याज तिर्ने क्षमता कमजोर हुँदा यसैमाथि ऋण उठ्ने सम्भावना कम नै हुन्थ्यो । त्यसैले नेपाल राष्ट्र बैंकले चैतमा बुझाउनुपर्ने ऋणको सावाँब्याजलाई अनिवार्य समेत नगरेको हो । चैतमा तिर्नुपर्ने सावाँब्याज असारसम्म तिरे हुने व्यवस्था गरिदिएपछि ऋणीहरु तत्कालका लागि भए पनि ढुक्क भएका छन् ।
तर, बैंकहरुको रिपोर्टमा भने त्यस्तो देखिएको छैन । अहिलेसम्म वित्तीय विवरण प्रकाशित गरेका सबै बैंक तथा वित्तीय संस्थाले उठेका र नउठेका सबै सावाँब्याजलाई एकैठाउँमा राखेर रिपोर्ट सार्वजनिक गरेका छन् । यसले गर्दा उनीहरुको उच्च नाफा देखिएको छ ।
अहिले त कस्तो भइदिएको समेत छ भने यदि चैतमा सावाँब्याज नउठेर शुक्ष्म निगरानी कर्जामा जानुपर्ने रकमलाई समेत असल कर्जाकै रुपमा ‘ट्रिटमेन्ट’ गर्ने छुट बैंकहरुले दिइएको छ । त्यसैले, यो रिपोर्टमा यति ठूलो महामारीका बाबजुद वित्तीय विवरण भने झनै राम्रो देखिएको छ ।
किन हुन्छ त्यस्तो ?
यसअघि कार्यान्वयनमा रहेको नेशनल एकाउन्टिङ सिस्टम (एनएएस) जति रकम प्राप्त हुन्छ, त्यसलाई मात्रै आम्दानी मानेर नाफा–नोक्सान हिसाब खातामा देखाइन्थ्यो । आउन बाँकी रकमलाई वासलातमा सम्पत्तिको रुपमा उल्लेख गरिन्थ्यो । यसले ब्याज पाकिसकेका तर उठ्न बाँकी रहेका रकमलाई आयव्यय विवरणमा आम्दानीको रुपमा देखाउँदैनथ्यो । यदि त्योे प्रणालीअनुसार वित्तीय विवरण प्रकाशित गरिएको थियो भने यो त्रैमासमा बैंकहरु ‘शुन्य नाफा’को नजिक–नजिक पुग्थे । किनभने, ६ महिनासम्म बैंकहरुले गरेको आम्दानी बाँकी ३ महिनाको खर्चमा जान्थ्यो ।
तर, अहिले जति ब्याज पाकेको छ, त्यो उठ्नुभन्दा अघि नै आयब्यय विवरणमा आम्दानीको रुपमा देखाइदिने प्रचलन भयो । यसबाट ऋण तिर्ने क्षमता गुमाएर वा चाहना नभएर ऋण नतिर्ने ठूलो रकम र त्यसबापत हुने प्रोभिजनिङलाई यसले सम्बोधन नै गर्दैन ।
एकजना चार्टर्ड एकाउन्टेन्ट भन्छन्, ‘अहिले बैंकहरुको वित्तीय विवरण एक्युरल बेसिसमा राखिएको छ, त्यसैले यसमा खासै केही देखिँदैन । चौथो क्वाटरको रिपोर्टमा त्यसको असर देखिन सक्छ ।’
एनएफआरएस प्रणाली आफ्नै विशेषता छन् । ‘नतिजा’ भन्दा ‘कार्यसम्पादन’लाई प्रमुख मानेर यो प्रणालीले वित्तीय लेखांकन गर्छ । सामान्य अवस्थामा यो ठीक पनि हो । तर, देश यति ठूलो संकटमा परेको अवस्थामा र वित्तीय क्षेत्र पनि भित्रभित्रै समस्यामा परिसकेको अवस्थामा बैंकहरुको वास्तविक रिपोर्ट भने उत्साहजनक देखिनुले राम्रो संकेत गर्दैन ।्
बैंकर्स संघका अध्यक्ष दाहालले केही दिनअघि भनेका थिए, ‘सबै क्षेत्र निराशाजनक हुँदा बैंकिङ क्षेत्रले मात्रै नाफा कमायो भनेर देखिनु आफैंमा अस्वाभाविक पनि हुन्छ ।’ तर अहिले अवस्था त्यस्तै भएर आइदिएको छ । उठ्दै नउठेको रकमलाई आम्दानी देखाएर बैंकहरु अरबौं नाफा गरेको वित्तीय विवरण निकालेर बसिरहेका छन् ।
यो लेखको आशय एनएफआरएस सिस्टमको विरोध गर्नु होइन । न त यो सिस्टमलाई छाडेर फेरि पुरानै प्रणालीमा फर्किनुपर्छ भन्ने नै । तर, वित्तीय रिपोर्टले देखाउनुपर्ने वास्तविक चित्र कहिँ कतैबाट धुमिल हुनु हुँदैन । वित्तीय विवरणलाई गलत तरिकाले बुझेर कारोबार गर्दा भविष्यमा आउने जोखिमलाई कम्तीमा पनि नियामकले मनन गरेर आवश्यक कदम चाल्नुपर्छ भन्ने हो ।
साथै, सबैलाई आह्वान, सावधान ! चैत महिनाको उत्साहजनक रिपोर्टको ‘ललिपप’मा फसेर कुनैपनि निर्णय नगर्नुहोला ।
प्रतिक्रिया दिनुहोस