
काठमाडौं । चौतारी लघुवित्तसँग मर्जरमा जान अन्तिम तयारीमा रहेको आरम्भ लघुवित्तले तेस्रो त्रैमासको वित्तीय विवरण सोमवार सार्वजनिक गरेको छ । उक्त विवरण अनुसार यस वर्ष कम्पनीको नाफा १ करोड ४ लाख रुपैयाँ रहेको छ । गत वर्षको यसै अवधिको तुलनामा कम्पनीको नाफा ८५.८३ प्रतिशत बढेको हो । गत आवको यसै अवधिमा कम्पनीले ५५ लाख ९७ हजार रुपैयाँ खुद नाफा गरेको थियो । यस वर्ष गत वर्षभन्दा खुद ब्याज आम्दानी र सञ्चालन मुनाफा बढेसँगै नाफा बढ्न सहयोग मिलेको हो ।
यस वर्ष तेस्रो त्रैमाससम्म कम्पनीले ३ करोड १० लाख रुपैयाँ भन्दा बढी खुद ब्याज आम्दानी गरेको छ । गत वर्ष यो अवधिमा कम्पनीले २ करोड ३६ लाख रुपैयाँ भन्दा बढी खुद ब्याज आम्दानी गरेको थियो । गत वर्ष ८४ लाख ३३ हजार रुपैयाँ सञ्चालन नाफा गरेको यो कम्पनीले यस वर्ष १ करोड ६३ लाख रुपैयाँ भन्दा बढी सञ्चालन नाफा गरेको छ ।
हाल कम्पनीको चुक्तापूँजी ६ करोड ४४ लाख २८ हजार रुपैयाँ रहेको छ भने जगेडा कोषमा १ करोड ८४ लाख रुपैयाँ भन्दा बढी रकम जम्मा भएको छ । यस वर्ष कम्पनीले १९ करोड ४३ लाख रुपैयाँ भन्दा बढी निक्षेप संकलन गरेको छ भने ४३ करोड १२ लाख रुपैयाँ भन्दा बढी विभिन्न बैंक तथा वित्तीय संस्थाबाट सापटी लिई ६५ करोड ७७ लाख रुपैयाँभन्दा बढी कर्जा प्रवाह गरेको छ ।
यस वर्ष गत वर्षभन्दा निष्क्रिय कर्जा अनुपात घटेको छ । गत वर्ष २ दशमलव ५९ प्रतिशत रहेको निष्क्रिय कर्जा यस वर्ष १ दशमलव १५ प्रतिशतमा झरेको छ । कम्पनीको वार्षिक प्रतिशेयर आम्दानी रू. २१ दशमलव ५२ र प्रतिशेयर नेटवर्थ १२८ दशमलव ६७ रुपैयाँ रहेको छ ।
प्रतिक्रिया दिनुहोस