
काठमाडौं । आशा लघुवित्त वित्तीय संस्था लिमिटेडले सोमवार २ करोड ९० लाख २६ हजार रुपैयाँ खुद नाफा गरेको तेस्रो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेको छ । यो वर्ष गत वर्षको यसै अवधिको तुलनामा ९९ प्रतिशत नाफा बढेको हो । गत वर्ष कम्पनीको नाफा १ करोड ४५ लाख ५५ हजार रुपैयाँ रहेको थियो । गत वर्षभन्दा यस वर्ष कम्पनीले साढे आठ गुणा बढी खराब कर्जा संकलन गरेको कम्पनीको नाफा बढ्नुमा खराब कर्जा संकलनले सहयोग गरेको छ ।
गत वर्ष तेस्रो त्रैमाससम्म ६२ लाख ४ हजार रुपैयाँ खराब कर्जा उठाएको यस कम्पनीले यो वर्ष सोहि अवधिसम्म ५ करोड ३० लाख १८ हजार रुपैयाँ खराब कर्जा उठाएको छ । खराब कर्जा संकलन बढेसँगै कम्पनीको खुद व्याज आम्दानी ४३ प्रतिशत बढी संकलन भएको छ । गत वर्ष ७ करोड ८१ लाख ६५ हजार रुपैयाँ खुद व्याज आम्दानी गरेको यो कम्पनीले यस वर्ष १० करोड ६४ लाख १४ हजार रुपैयाँ गरेको छ ।
२०७५ साल माघ २५ गते सर्वसाधारणलाई आईपीओ बाँडफाँट गरेको यस कम्पनीले यो वर्ष शेयरधनीहरुलाई १२ प्रतिशत बोनस शेयर वितरण गरेको छ । तेस्रो त्रैमाससम्ममा कम्पनीको चुक्तापूँजी रू. २३ करोड २२ लाख ८८ हजार पुगेको छ । कम्पनीको जगेडा कोषमा ६ करोड ४९ लाख रुपैयाँभन्दा बढी रकम जम्मा भएको छ ।
निष्क्रिय कर्जा गत वर्षभन्दा यस वर्ष बढेको छ । गत वर्ष तेस्रो त्रैमाससम्म २ दशमलव ६७ प्रतिशत रहेको निष्क्रिय कर्जाको अनुपात यस वर्ष ४ दशमलव ४६ प्रतिशत पुगेको छ । सरकाले गरेको लकडाउनका कारण यस अवधिमा फिल्ड गतिविधिहरु ठप्प हुदाँ कर्जा असुली हुन नसकेकाले निष्क्रिय कर्जाको अनुपात बढी भएको कम्पनीले प्रष्ट पारेको छ ।
गत वर्ष सम्भावित जोखिम शिर्षकमा २ करोड ६७ लाख रुपैयाँभन्दा बढी रकम छुट्याएको कम्पनीले यस वर्ष सोही शिर्षकमा ६ करोड ९४ लाख रुपैयाँभन्दा बढी रकम छुट्याएको छ । सम्भावित जोखिम शिर्षकमा बढी रकम छुट्याउनु परेकाले यो वर्ष कम्पनीको सञ्चालन मुनाफा ७२ लाख ३६ हजार रुपैयाँ ऋणात्मक देखिएको छ ।
यस वर्ष करिब ८२ प्रतिशत बढी ७३ करोड रुपैयाँ निक्षेप संकलन गरेको छ भने ४३ प्रतिशत बढी २ अर्ब २६ करोड ४७ लाख रुपैयाँ भन्दा बढी कर्जा प्रवाह गरेको छ । कम्पनीको प्रतिशेयर आम्दानी १६ दशमलव ६६ र प्रतिशेयर नेटवर्थ १२७ दशमलव ९५ रुपैयाँ छ ।
प्रतिक्रिया दिनुहोस