
काठमाडौं । बैंक अफ काठमाण्डू लिमिटेडको गत आर्थिक वर्षको तेस्रो त्रैमाससम्ममा ८७ करोड ३४ लाख ९३ हजार रुपैयाँ खुद नाफा गरेको छ । बुधवार कम्पनीले सार्वजनिक गरेको तेस्रो त्रैमासको वित्तीय विवरणमा नाफा गत वर्षको यसै अवधिसम्म १ अर्ब २० करोड ४६ लाख ८२ हजार रुपैयाँ थियो ।
गत वर्षभन्दा यस वर्ष कम्पनीको नाफामा २७ दशमलव ४९ प्रतिशत कमि आएको हो । यस वर्ष सञ्चालन नाफा २७ दशमलव ७८ प्रतिशत कम भएको छ । गत वर्ष १ अर्ब ७१ करोड ६ लाख १३ हजार रुपैयाँ सञ्चालन नाफा गरेको यस कम्पनीले यस वर्ष १ अर्ब २३ करोड ५३ लाख ४७ हजार रुपैयाँ मात्र सञ्चालन नाफा गरेको हो ।
सञ्चालन नाफामा कमि आएसँगै कम्पनीको खुद नाफामा पनि कमि आएको देखिन्छ । खुद ब्याज आम्दानी भने गत वर्षभन्दा ६ दशमलव २५ प्रतिशत बढी भएको छ । गत वर्ष २ अर्ब ७३ करोड ५२ लाख ८४ हजार रुपैयाँ खुद व्याज आम्दानी गरेको यो कम्पनीले यस वर्ष २ अर्ब ८७ करोड ८७ लाख ८० हजार रुपैयाँ खुद व्याज आम्दानी गरेको छ । तेस्रो त्रैमाससम्मको विवरण अनुसार कम्पनीको वितरणयोग्य नाफा ९ करोड ८ लाख ८३ हजार रुपैयाँ ऋणात्मक देखिएको छ ।
यस वर्ष शेयरधनीहरुका लागि ६ प्रतिशत बोनस वितरण गरी कम्पनीले चुक्तापूँजी ८ अर्ब ५४ करोड ६८ लाख ८७ हजार रुपैयाँ पु¥याएको छ । जगेडा कोष रकम गत वर्षभन्दा १५ प्रतिशत बढेर ५ अर्ब २० करोड ७३ लाख ६४ हजार रुपैयाँ कायम भएको छ ।
यस वर्ष कम्पनीले गत वर्षको तुलनामा साढे ८ प्रतिशत बढी ८९ अर्ब ७७ करोड ९ लाख २४ हजार रुपैयाँ निक्षेप संकलन गरेको छ भने ११ दशमलव ७० प्रतिशत बढी ७८ अर्ब ७२ करोड ४९ लाख ८२ हजार रुपैयाँ कर्जा प्रवाह गरेको छ । गत वर्ष यस अवधिसम्म २ दशमलव १२ प्रतिशत रहेको निष्क्रिय कर्जा यस वर्ष घटेर १ दशमलव ५३ प्रतिशतमा सिमित भएको छ ।
प्रतिशेयर आम्दानी १३ दशमलव ६३ रुपैयाँ रहेको यस कम्पनीको प्रतिशेयर नेटवर्थ १५९ दशमलव ९२ छ । यस अवधिसम्म कम्पनीले २३ दशमलव ४६ प्रतिशत तरलता व्यवस्थापन गरेको छ । गत वर्ष यस अवधिमा १० दशमलव शून्य ७ प्रतिशत रहेको आधार व्याजदर यस वर्ष सोहि अवधिमा ९ दशमलव ३३ मा खुम्चिएको छ ।
प्रतिक्रिया दिनुहोस