
काठमाडौं । चालू आर्थिक वर्षको नौ महिनामा चौतारी लघुवित्तले रू. २ करोड ६८ लाख ६८ हजार खुद नाफा गरेको छ । बिहीबार कम्पनीले तेस्रो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेको हो । उक्त विवरण अनुसार कम्पनीको नाफा गत वर्षको यसै अवधिको तुलनामा ४४ दशमलव ७८ प्रतिशत बढी भएको देखिन्छ । गत वर्ष कम्पनीले रू. १ करोड ८५ लाख ५८ हजार नाफा गरेको थियो ।
कम्पनीको सञ्चालन नाफा यस वर्ष साढे ४४ प्रतिशत बढी रू. ४ करोड २२ लाखभन्दा बढी भएको छ । यस वर्ष शेयरधनीहरुलाई ७ प्रतिशत बोनस शेयर वितरण गरी चुक्तापूँजी रू. १९ करोड ९० लाख २० हजार पुगेको छ ।
जगेडा कोष रकम ६९ प्रतिशत बढी रू. ५ करोड ६६ लाख ९२ हजार कायम भएको छ । यस वर्ष कम्पनीको अन्य परिसूचकको तुलनामा जगेडा कोष रकम बढी बृद्धि भएको हो । विभिन्न बैंक तथा वित्तीय संस्थाहरुबाट यस त्रैमाससम्म रू. ९४ करोड १९ लाख ९० हजार सापटी लिएको कम्पनीले रू. १ अर्ब ७४ करोड ५२ लाख २८ हजार कर्जा प्रवाह गरेको छ भने निक्षेप संकलन रू. ६३ करोड ७४ लाख ७५ हजार गरेको छ ।
निक्षेप यस वर्ष ६० दशमलव ३४ र कर्जा प्रवाह ३१ प्रतिशत बढी भएको छ । निष्क्रिय कर्जाको अनुपात गत वर्ष शून्य दशमलव ७२ प्रतिशत रहेकोमा यस वर्ष बढेर २ दशमलव ५३ प्रतिशत पुगेको छ । कम्पनीको वार्षिक प्रतिशेयर आम्दानी रू. १८ र प्रतिशेयर नेटवर्थ रू. १२८ दशमलव ७४ छ ।
प्रतिक्रिया दिनुहोस