
काठमाडौं । सामूदायिक लघुवित्त वित्तीय संस्थाले चालू आर्थिक वर्षको तेस्रो त्रैमाससम्म २ करोड ६ लाख ५९ हजार रुपैयाँ खुद नाफा गरेको छ । शुक्रबार सार्वजनिक कम्पनीको तेस्रो त्रैमासको वित्तीय विवरणलाई आधार मान्दा कम्पनीको नाफा १५ प्रतिशतले बढेको हो । गत वर्ष यस अवधिसम्म यो नाफा १ करोड ७९ लाख ५१ हजार रुपैयाँ थियो ।
यस वर्ष गत वर्षभन्दा १२ प्रतिशत बढी ३ करोड १६ लाख ७२ हजार रुपैयाँ सञ्चालन मुनाफा गरेको यस कम्पनीको जगेडा कोष रकम भने ९० दशमलव ४४ प्रतिशत बढी कायम भएको छ । यस अवधिसम्म कम्पनीको जगेडा कोषमा ९ करोड ३२ लाख २० हजार रुपैयाँ जम्मा भएको छ ।
विभिन्न बैंक तथा वित्तीय संस्थाबाट ६२ करोड १४ लाख ७६ हजार रुपैयाँ सापटी लिएर १ अर्ब ८ करोड ७५ लाख १८ हजार रुपैयाँ कर्जा प्रवाह गरेको कम्पनीले ४० करोड ९६ लाख ११ हजार रुपैयाँ निक्षेप संकलन गरेको छ । सापटी रकम गत वर्षभन्दा ३६ दशमलव ७४ प्रतिशत बढी रहेको छ भने कर्जा प्रवाह २१ प्रतिशत बढी गरेको छ ।
यस वर्ष निक्षेप संकलन २३ दशमलव ८१ प्रतिशत बढी भएको छ । निष्क्रिय कर्जा गत वर्ष १ दशमलव ४० प्रतिशत रहेकोमा यस वर्ष २ दशमलव शून्य ५ प्रतिशत पुगेको छ । हाल कम्पनीको चुक्तापूँजी १० करोड रुपैयाँ छ । यस अवधिसम्म कम्पनीको प्रतिशेयर आम्दानी २७ दशमलव ५५ रुपैयाँ र प्रतिशेयर नेटवर्थ १९३ दशमलव २२ रुपैयाँ रहेको छ ।
प्रतिक्रिया दिनुहोस