
काठमाडौं । ग्लोबल आइएमई बैंकले चालू आर्थिक वर्षको तेस्रो त्रैमासमा गत आर्थिक वर्षको सोहि अवधिभन्दा ४४ दशमलव ३६ प्रतिशत बढी खुद नाफा गरेको छ । जनता बैंकलाई मर्ज गरेको यस बैंकले मंगलवार सार्वजनिक गरेको तेस्रो त्रैमासको वित्तीय विवरण अनुसार यस वर्ष २ अर्ब ७० करोड २६ लाख रुपैयाँभन्दा बढी खुद नाफा गरेको छ । यो नाफा गत वर्षको यसै अवधिसम्म १ अर्ब ८७ करोड २१ लाख रुपैयाँभन्दा बढी थियो । यस वर्ष सञ्चालन नाफा ३ अर्ब ७९ करोड ५२ लाख रुपैयाँभन्दा बढी भएको छ ।
गत वर्षको तुलनामा बैंकको सञ्चालन नाफा ३१८ प्रतिशतले बढी भएको हो । गत वर्ष यस अवधिसम्म बैंकले ९० करोड ७८ लाख रुपैयाँभन्दा बढी सञ्चालन नाफा गरेको थियो । जनतालाई मर्ज गरेपछि बैंकको व्यवसाय अझ मजबुत हुदै गएको बैंकको भनाई छ । यस वर्ष बैंकको खुद व्याज आम्दानी गत वर्षभन्दा ६२ दशमलव ७८ प्रतिशत बढी भएको छ । गत वर्ष यस अवधिसम्म ३ अर्ब ६८ करोड ७९ लाख रुपैयाँभन्दा बढी खुद व्याज आम्दानी गरेको यस बैंकले यो वर्ष सोहि अवधिसम्म ६ अर्ब ३३ लाख रुपैयाँभन्दा बढी खुद व्याज आम्दानी गरेको हो ।
यस वर्ष ८४ प्रतिशतले चुक्तापूँजी बृद्धि भई १८ अर्ब ९७ करोड ५८ लाख २९ हजार रुपैयाँ पुगेको छ । वाणिज्य बैंकमध्य सबैभन्दा बढी चुक्तापूँजी यस बैंकले कायम गरेको हो । जगेडा कोष रकम गत वर्षभन्दा १७२ प्रतिशत बृद्धि भई ९ अर्ब १४ करोड ६ लाख १३ हजार रुपैयाँ कायम भएको छ ।
यस अवधिसम्म बैंकको शेयरधनीहरुलाई वितरण गर्न सक्ने वितरणयोग्य नाफा भने ५७ करोड ९५ लाख ५ हजार रुपैयाँ छ । गत वर्ष शून्य दशमलव ७६ प्रतिशत रहेको निष्क्रिय कर्जा यस वर्ष बढेर १ दशमलव १४ प्रतिशत पुगेको छ ।
निक्षेप संकलन गत वर्षभन्दा ६७ दशमलव ८७ प्रतिशत बढी गरेको यस बैंकले कर्जा प्रवाह ७९ प्रतिशत बढी गरेको छ । यस वर्ष बैंकले २ खर्ब १ अर्ब ५९ करोड ६९ लाख रुपैयाँभन्दा बढी निक्षेप संकलन गरेको छ भने १ खर्ब ९५ अर्ब १८ करोड ८४ लाख रुपैयाँभन्दा बढी कर्जा प्रवाह गरेको छ ।
तेस्रो त्रैमाससम्म बैंकको प्रतिशेयर आम्दानी २२ दशमलव १६ रुपैयाँ र प्रतिशेयर नेटवर्थ १५० दशमलव ६५ रुपैयाँ छ । यस अवधिसम्म बैंकले २० दशमलव शून्य ७ प्रतिशत तरलता व्यवस्थापन गरेको छ ।
प्रतिक्रिया दिनुहोस