
काठमाडौं । मेगा बैंक नेपाल र गण्डकी विकास बैंकले प्राप्ति सम्बन्धी प्रस्ताव पारित गर्न जेठ २१ गते विशेष साधारण सभा बोलाएका छन् । मेगा बैंकले गण्डकी विकास बैंकलाई प्राप्ति गर्न लागेको हो । मेगाले विहान ११ बजे बैंकको केन्द्रिय कार्यालय कमलादी, काठमाडौंमा र गण्डकीले केन्द्रिय कार्यालय पोखरामा सभा बोलाएका हुन ।
उक्त सभामार्फत मेगा बैंकले गण्डकीलाई प्राप्ती गर्ने र गण्डकीले मेगामा विलय हुने प्रस्तावलाई पारित गर्नेछन् । मेगाले गण्डकी विकास बैंकको एक शेयर बराबर आफ्नो एक शेयर प्रदान गर्ने प्राप्ती गर्न लागेको हो ।
गण्डकीलाई प्राप्ती गरेपश्चात पनि मेगा बैंकले अन्य बैंक तथा वित्तीय संस्थालाई प्राप्ती गर्ने वा मर्जरमा जाने योजना अघि सारेको छ । यसका लागि आवश्यक सम्पूर्ण काम गर्ने जिम्वेवारी सञ्चालक समितिलाई दिने निर्णय समेत सभाले गर्नेछ । विशेष साधारण सभा प्रयोजनका लागि बैंकले जेठ ११ गते बुक क्लोज गर्ने निर्णय गरेको छ ।
२०७६ कात्तिक २६ गते मेगाले गण्डकीलाई प्राप्ति गर्न नेपाल राष्ट्र बैंकबाट सैद्धान्तिक सहमति प्राप्त गरेको हो । प्राप्ती प्रकृया प्रयोजनका लागि गण्डकीको शेयर कारोबार भने गत असोज ९ गतेदेखिनै बन्द रहेको छ । विशेष साधारण सभाका लागि गण्डकीले असोज ८ गतेसम्म कायम शेयरधनीहरुलाई मात्र योग्य ठानेको छ ।
प्रतिक्रिया दिनुहोस