
काठमाडौं । गत आर्थिक वर्षको नौं महिनाको तुलनामा यस वर्ष किसान माइक्रोफाइनान्सको नाफा घटेको छ । कम्पनीले सार्वजनिक गरेको यस वर्षको तेस्रो त्रैमासको वित्तीय विवरण अनुसार यस वर्ष कम्पनीको नाफा गत वर्षको तुलनामा ७२ प्रतिशत कम भएको छ । गत वर्ष यस अवधिसम्म १ करोड ३२ लाख ७५ हजार रुपैयाँ खुद नाफा गरेको कम्पनीले यस वर्ष ३६ लाख ७६ हजार रुपैयाँ मात्र नाफा गरेको हो ।
निष्क्रिय कर्जामा उल्लेख्य रुपमा वृद्धि भएपछि कम्पनीले गत वर्षभन्दा करिब ८८ प्रतिशत बढी रकम सम्भावित जोखिम शिर्षकमा छुट्यापछि कम्पनीले ३२ लाख १९ हजार रुपैयाँ सञ्चालन घाटा व्यहोरेको छ । यस वर्ष कम्पनीले सम्भावित जोखिमका लागि १ करोड ७३ लाख रुपैयाँभन्दा बढी रकम छुट्याएको छ । गत वर्ष १ दशमलव ३७ प्रतिशत रहेको निष्क्रिय कर्जा यस वर्ष ५ दशमलव शून्य एक प्रतिशत कायम भएको छ ।
गत वर्ष २३ लाख ३९ हजार रुपैयाँ खराब कर्जा उठाएको यस कम्पनीले यस वर्ष ८९ लाख ९६ हजार रुपैयाँ उठाएको छ । गत वर्षभन्दा यस वर्ष कर्मचारी खर्च र अन्य सञ्चालन खर्च समेत कम्पनीको बढेको छ । गत वर्ष ४ करेड ४१ लाख रुपैयाँभन्दा बढी कर्मचारी खर्च गरेको कम्पनीको यस वर्ष ४ करोड ५९ लाख रुपैयाँभन्दा बढी र गत वर्ष १ करोड ४९ लाख रुपैयाँ अन्य सञ्चालन खर्च गरेको कमपनीले यस वर्ष १ करोड ७६ लाख रुपैयाँभन्दा बढी गरेको छ ।
हाल १० करोड ६६ लाख ८ हजार रुपैयाँ चुक्तापूँजी रहेको यो कम्पनीको जगेडा कोषमा २ करोड २ लाख रुपैयाँभन्दा बढी छ । यस वर्ष १ अर्ब २ करोड ८० लाख रुपैयाँभन्दा बढी कर्जा सापटी लिएको कम्पनीले ४३ करोड ८२ लाख रुपैयाँभन्दा बढी निक्षेप संकलन गरेको छ भने १ अर्ब ४८ करोड ५७ लाख रुपैयाँभन्दा बढी कर्जा प्रवाह गरेको छ ।
प्रतिक्रिया दिनुहोस