
काठमाडौं । चालू आर्थिक वर्षको नौ महिनासम्ममा प्रोग्रेसिभ फाइनान्स २ लाख ८ हजार रुपैयाँ घाटामा रहेको छ । गत वर्षको यस अवधिसम्म कम्पनीले रू. ३ करोड ९ लाख २० हजार नाफा गरेको थियो । यस वर्ष कम्पनीको कुल सञ्चालन खर्च बढेकाले घाटा व्यहोर्नु परेको देखिन्छ ।
गत वर्ष २ करोड ६५ लाख ६७ हजार रुपैयाँ कुल सञ्चालन खर्च गरेको कम्पनीले यस वर्ष ९० दशमलव ८२ प्रतिशत बढी ५ करोड ६ लाख ९६ हजार रुपैयाँ उक्त शिर्षकमा खर्च गरेको हो ।
हाल ८० करोड १० लाख रुपैयाँ चुक्तापूँजी रहेको यस कम्पनीको जगेडा कोष रकम भने गत वर्षभन्दा ११४ प्रतिशत बढी ६ करोड ८ लाख ८७ हजार रुपैयाँ कायम भएको छ । गत वर्षभन्दा ३९ प्रतिशत बढी रू. १ अर्ब ४८ करोड ९७ लाख रुपैयाँ निक्षेप संकलन गरेको कम्पनीले २६ प्रतिशत बढी १ अर्ब १७ करोड ८९ लाख रुपैयाँ कर्जा प्रवाह गरेको छ ।
गत वर्षभन्दा यस वर्ष कम्पनीको निष्क्रिय कर्जाको अनुपातमा भने कमि आएको छ । यस अवधिसम्म गत वर्ष ३ दशमलव ३९ रहेको निष्क्रिय कर्जा अनुपात यस वर्ष २ दशमलव ९४ मा झरेको छ । तेस्रो त्रैमाससम्म प्रतिशेयर आम्दानी ३ दशमलव १६ रुपैयाँ र प्रतिशेयर नेटवर्थ १०५ दशमलव ४४ रुपैयाँ छ ।
प्रतिक्रिया दिनुहोस