aarthiknews.com विहीबार, ०९ जेठ २०८२   Thursday, 22 May, 2025
 

शाखा बिस्तार गर्ने लिगलिगे दौडमा बैंक, अझै ४० स्थानीय तहमा पुग्न बाँकी

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • बुधबार, ०४ बैशाख २०७६
शाखा बिस्तार गर्ने लिगलिगे दौडमा बैंक, अझै ४० स्थानीय तहमा पुग्न बाँकी

काठमाडौं,  वैशाख ४ । अहिले सञ्चालनमा रहेका २८ वटा वाणिज्य बैंक शाखा विस्तार गर्ने होडबाजीमा लागेका छन् । प्रत्येक दिन जसो एउटा न एउटा बैंकले शाखा विस्तार गरिरहेका हुन्छन् ।

पछिल्लो समय शाखा विस्तारलाई बैंकहरुले तीव्रता दिन थालेका छन् । सम्बन्धित क्षेत्रमा अर्को बैंकभन्दा आफ्नो बैंकको उपस्थिति मजबुत बनाउने ध्याउन्नमा बैंक लागिरहेका छन् ।

शाखा बिस्तार गर्ने काममा बैंकहरुको लिगलिगे दौड शुरु भएको धेरै भएको छैन । खासगरी स्थानीय तहको निर्वाचनपछि बैंकहरुले शाखा खोल्ने कामलाई दु्रत गतिमा बढाउन पुगेका हुन् । शान्ति सुरक्षालगायतका कारणले पनि त्योभन्दा पहिला स्थानीय तहमा बैंक शाखा खुल्न सकेका थिएनन् । 

फागुनसम्ममा सबै वाणिज्य बैंकले ३३०५ शाखा खोलिसकेका छन् । अझै खोल्दै जाने क्रममा बैंक छन् । संघीय संरचना अनुसार बनाइएका सात सय ५३ स्थानीय तहमध्ये हालसम्म ७ सय १३ स्थानमा शाखा स्थापना गरिसकेको राष्ट्र बैंकको पछिल्लो तथ्यांकले देखाएको छ । अझै ४० स्थानीय तहमा बैंकका शाखा पुग्न सकेका छैनन् ।

प्रदेश ६ मा अझै १४ स्थानीय तहमा बैंकका शाखा पुग्न सकेका छैनन् । उक्त प्रदेशमा ७९ स्थानीय तहमध्ये ६५ स्थानीय तहमा मात्र बैंकका शाखा पुगेका छन् । यो प्रदेशका स्थानीय तहमा सबैभन्दा बढी शाखा पुग्न बाँकी छ ।

प्रदेश १ मा १३७ स्थानीय तहमध्ये १३० स्थानीय तहमा मात्र बैंकका शाखा पुगेका छन् । दोस्रो बढी बैंकको उपस्थिति नभएको यो प्रदेश हो । 

त्यसैगरी प्रदेश ७ मा ८८ स्थानीय तहमध्ये ८२ वटा स्थानीय तहमा मात्र बैंकका शाखा पुगेका छन् । यो तेस्रो बढी बैंकको उपस्थिति नभएको प्रदेश हो । उक्त प्रदेशमा अझै ६ स्थानीय तहमा बैंकका शाखा पुग्न सकेका छैनन् ।

प्रदेश ३ का अझै पाँच स्थानीय तहमा बैंकका शाखा पुग्न सकेका छैनन् । उक्त प्रदेशमा कुल ११९ स्थानीय तहमध्ये ११४ स्थानीय तहमा बैंकका शाखा पुगेका छन् । यो स्थानीय तह चौथो बढी बैंकका शाखा पुग्न बाँकीमा पर्दछ । 

प्रदेश २ र ४ मा बराबरी ३–३ स्थानीय तहमा शाखा पुग्न बाँकी छ । प्रदेश ५ मा सबैभन्दा बढी स्थानीय तहमा बैंकका शाखा पुगेका छन् । उक्त प्रदेशमा दुई स्थानीय तहमा मात्र बैंक पुग्न सकेका छैनन् । कुल १०९ स्थानीय तहमध्ये १०७ स्थानिय तहमा बैंकका शाखा पुगेका छन् ।

सबै स्थानीय तहमा बैंकका शाखा पुर्याउने अभियानमा लागेको नेपाल राष्ट्र बैंकका प्रवक्ता नारायणप्रसाद पौडेलले बताए । ‘अझै ४० स्थानीय तहमा बैंकको सेवा पुग्न बाँकी छ,’ उनले भने–‘नपुगेका बाँकी ठाउँमा पनि पुर्याउने कोसिस गरेका छौं।’

क्षेत्रगत रुपमा स्थानीय तहमा बैंकको पँहुच जसरी बढ्दै छ, जनसंख्याका आधारमा पनि बैंकको पहँुच बढ्दै गएको छ । बैंक तथा वित्तीय संस्थाले कुल जनसंख्याको ६० प्रतिशतलाई सेवा दिइरहेका छन् । बैंकहरुले मात्र ४० प्रतिशत जनतामा बैंकिङ पहुँच पुर्याएका छन् । पहिला ग्राहक बैंकमा धाउनुपर्ने स्थिति थियो भने अहिले बैंक ग्राहक कहाँ जाने ‘ट्रेन्ड’ स्थापित भएको छ । बैंक तथा वित्तीय संस्थाको प्रतिस्पर्धात्मक उपस्थितिको उपज हो यो, जसले साना व्यवसायी, उद्यमी र निक्षेपकर्तालाई सहज बनाइदिएको छ ।

पछिल्लो समय बैंकहरुले प्रतिस्पर्धी रुपमा बजार विस्तार गर्दै लगेका छन् । केन्द्रीय बैंक नेपाल राष्ट्र बैंकले बैंक नपुगेका स्थानीय तहमा पहुँच पुर्याउन निर्देशन दिएपछि बैंकहरुले शाखा स्थापना गरेर ती क्षेत्रमा सुविधा पुर्याउन थालेका हुन् ।
 

प्रतिक्रिया दिनुहोस