
काठमाडौं । नाडेप लघुवित्त चालू आर्थिक वर्षको तेस्रो त्रैमाससम्म २४ लाख ४८ हजार रुपैयाँ सञ्चालन घाटामा रहेको छ । सोमबार कम्पनीले चालू आवको तेस्रो त्रैमाससम्मको वित्तीय विवरण सार्वजनिक गरेको हो । गत वर्ष यस अवधिसम्म २ करोड २९ लाख ५८ हजार रुपैयाँ सञ्चालन नाफा गरेको कम्पनीले यस वर्ष सम्भावित जोखिमका लागि बढी रकम छुट्याएका कारण सञ्चालन घाटा भएको देखिन्छ । गत वर्ष ५ करोड २८ लाख ५५ हजार रुपैयाँ सम्भावित जोखिमका लागि छुट्याएकोमा यस वर्ष ८ करोड २९ लाख ३ हजार रुपैयाँ छुट्याएको छ । जुन रकम गत वर्षभन्दा यस वर्ष ५६ दशमलव ८५ प्रतिशत बढी हो ।
यस वर्ष निष्क्रिय कर्जाको अनुपात उल्लेख्य मात्रामा बढेकाले सम्भावित जोखिम शिर्षकमा बढी रकम छुट्याउनु परेको हो । गत वर्ष यस अवधिसम्म ४ दशमलव ३८ प्रतिशत रहेको नाडेपको निष्क्रिय कर्जा अनुपात ८ दशमलव ४२ प्रतिशत पुगेको छ । यस अवधिसम्म कम्पनीले खराब कर्जा संकलन गरेको देखिदैन । यस वर्ष कम्पनीको नाफा ७ लाख ३३ हजार रुपैयाँमा खुम्चिएको छ । गत वर्ष यस अवधिसम्म कम्पनीले १ करोड ६८ लाख ६१ हजार रुपैयाँ खुद नाफा गरेको थियो ।
सञ्चालन घाटामा रहेको यस कम्पनीलाई नाफामै राख्न भने यस वर्ष गैर सञ्चालन आम्दानीले सहयोग गरेको हो । गत वर्ष यस अवधिसम्म ३५ लाख ३७ हजार रुपैयाँ गैर सञ्चालन आम्दानी गरेको कम्पनीले यस वर्ष ३६ लाख १ हजार रुपैयाँ गरेको छ । यस वर्ष १५ प्रतिशत बोनस दिएको कम्पनीको चुक्तापूँजी ३६ करोड ८० लाख रुपैयाँ छ । जगेडा कोष रकम गत वर्षभन्दा १७ दशमलव ६६ प्रतिशत कम १८ करोड ५१ लाख ४ हजार रुपैयाँ कायम भएको छ । खुद व्याज आम्दानी पनि गत वर्षभन्दा यस वर्ष ६ प्रतिशत बढी भएको छ ।
कम्पनीले विभिन्न बैंक तथा वित्तीय संस्थाबाट गत वर्षभन्दा करिब ११ प्रतिशत बढी २ अर्ब ३९ करोड ८३ लाख रुपैयाँभन्दा बढी कर्जा सापटी लिएर गत वर्षभन्दा १२ प्रतिशत बढी ४ अर्ब १४ करोड ७ लाख रुपैयाँभन्दा बढी कर्जा प्रवाह गरेको छ । गत वर्ष १ अर्ब ५ करोड ६४ लाख रुपैयाँभन्दा बढी निक्षेप संकलन गरेको यो कम्पनीले यस वर्ष १ अर्ब ३६ करोड ७८ लाख भन्दा बढी निक्षेप संकलन गरेको छ । यो रकम गत वर्षभन्दा यस वर्ष २९ प्रतिशत बढी हो । यस वर्ष कम्पनीले १९ करोड ९७ लाख रुपैयाँभन्दा बढी खुद व्याज आम्दानी गरेको हो । प्रतिशेयर आम्दानी वार्षिक शून्य दशमलव २६६ रूपैयाँ रहेको नाडेपको प्रतिशेयर नेटवर्थ रू. १५० दशमलव ३० रहेको छ ।
प्रतिक्रिया दिनुहोस