aarthiknews.com शुक्रबार, १० जेठ २०८२   Friday, 23 May, 2025
 

मोबाइल बैंकिङ गर्दा दैनिक ५० हजारसम्म कारोबार गर्न पाइने

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • शुक्रबार, १० जेठ २०७६
मोबाइल बैंकिङ गर्दा दैनिक ५० हजारसम्म कारोबार गर्न पाइने

 काठमाडौं । नेपाल राष्ट्र बैंकले मोबाइल बैंकिङ, प्रिपेड कार्ड, इन्टरनेट बैंकिङ लगायतका विद्युतीय माध्यमबाट गरिने भुक्तानी सम्बन्धी कारोबारको सीमा बढाएको छ । 

अब मोबाइल बैंकिङ गर्दा प्रतिदिन अधिकतम ५० हजार रुपैयाँसम्मको कारोबार गर्न पाइने भएको छ । साथै, कारोबारको विल वा विवरण प्राप्त हुने अवस्थामा बाहेक मासिक रुपमा १ लाख रुपैयाँभन्दा बढीको भुक्तानी÷जम्मा गर्न पाइने छैन । मोबाइल बैंकिङ सेवा अन्तर्गत क्यूआर (क्विक रेस्पोन्स) कोडको माध्यमबाट भुक्तानी तथा रकमान्तर गर्दा पनि यसै अनुसार गर्नुपर्ने व्यवस्था गरिएको छ । यसअघि प्रतिकारोबार ५ हजार, प्रतिदिन १५ हजार र मासिक ५० हजार रुपैयाँसम्मको कारोबार सीमा तोकिएको थियो ।

यसैगरी, इन्टरनेट बैंकिङको माध्यमबाट भुक्तानी कारोबार गर्दा प्रतिदिन अधिकतम १० लाख रुपैयाँसम्मको कारोबार गर्न पाइने भएको छ । तर, मासिक रुपमा अधिकतम ३० लाख रुपैयाँभन्दा बढीको भुक्तानी कारोबार गर्न पाइने छैन । यसअघि यसबाट भुक्तानी गर्दा प्रतिदिन १ लाख र मासिक ५ लाख रुपैयाँसम्म कारोबार गर्न सकिन्थ्यो ।

इन्टरनेट बैंकिङको माध्यमबाट बैंक तथा वित्तीय संस्थाहरूको खातामा ट्रान्सफर गर्दा प्रतिदिन अधिकतम १० लाख रुपैयाँसम्मको कारोबार गर्न पाइने भएको छ । तर मासिक रूपमा अधिकतम ५० लाख रुपैयाँभन्दा बढीको ट्रान्सफर गर्न पाइने छैन । यसअघि यसरी ट्रान्सफर गर्दा एक पटकमा १ लाख र मासिक १० लाख रुपैयाँसम्मको सीमा थियो ।

नयाँ व्यवस्था सँगै अब प्रिपेड कार्डबाट नेपाल भित्र मासिक रूपमा जतिसुकै नगद भिक्न सकिने भएको छ । ग्राहकले प्रतिकारोबार न्यूनतम ५०० रूपैयाँदेखि अधिकतम २५ हजार रुपैयाँसम्म प्रिपेड कार्डबाट नगद झिक्न सक्छन् । तर, यस्तो व्यवस्थाले बैंक तथा वित्तीय संस्थाहलाई ग्राहकको चाहना अनुसार नगद झिक्न सक्ने अधिकतम सीमा निर्धारण गर्न बाधा नपुग्ने बताइएको छ । यसअघि प्रतिमहीना ५० हजार रुपैयाँसम्म नगद झिक्न पाउने व्यवस्था थियो । अब यो व्यवस्थालाई खारेज गरिएको छ ।

यसैगरी, क्रेडिट कारोबारबाट गरिने नगद कारोबारमा राष्ट्र बैंकले कडाइ गरेको छ । क्रेडिट कार्डबाट नगद झिक्ने सीमालाई घटाएर स्वीकृत सीमा रकमको १० प्रतिशत राखेको छ । यसअघि गत असार ३१ गतेदेखि ग्राहकले क्रेडिट कार्डबाट स्वीकृत रकमको २५ प्रतिशतसम्म नगद झिक्दै आएका थिए । क्रेडिट कार्ड भुक्तानीको लागि मात्र प्रयोग गर्नुपर्नेमा ग्राहकले यसबाट नगद झिक्नमा बढी प्रयोग गर्न थालेपछि यसमा कडाइ गरेको राष्ट्र बैंकले बताएको छ ।

प्रतिक्रिया दिनुहोस