
काठमाडौं–नक्कली भारु कारोबारकै आरोपमा दुईपटक जेल परिसकेका युनुस अन्सारी शुक्रबार सात करोड ६७ लाख ९४ हजारसहित फेरि पक्राउ परेका छन् । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट दुई हजार दरका नक्कली भारुसहित ६ जनाको समूह पक्राउ परेको हो ।
आजको नयाँ पत्रिका दैनिक लेख्छ– बरामद नक्कली भारु अहिलेसम्मकै ठूलो परिमाणको भएको प्रहरीले जनाएको छ । गन्न पनि प्रहरी र भन्सार कर्मचारीलाई करिब चार घन्टा लागेको थियो । बरामद नोटमा सक्कलीमा जस्तै वाटरमार्क र अन्य सेक्युरिटी फिचरहरू राखिएका छन् । सर्वसाधारणले नक्कली पहिल्याउन नसक्ने किसिमको रहेको प्रहरीले जनाएको छ ।
को हुन् युनुस ? किन दिए आफैं गिरफ्तारी ?
युनुस अन्सारी बाराका पूर्वमन्त्री एमाले नेता सलीम मिया अन्सारीका छोरा हुन् । उनी पहिलो पटक पक्राउ पर्नुअघि काठमाडौंमा एक निजी टेलिभिजनका सञ्चालक थिए । तर, पक्राउ परेसँगै उनको टेलिभिजन बन्द भएको थियो ।
अनुसन्धान अधिकारीहरुका अनुसार अन्सारी नेपालमा नक्कली भारतीय नोट भित्र्याउने मुख्य व्यक्ति हुन् । ‘उनीहरुको भाषामा यसलाई बुगी पनि भनिन्छ’, ती अधिकारीले भने, ‘नेपालसम्म रकम ल्याइसकेपछि विभिन्न ठाउँमा रहेको सञ्जालमार्फत थोरै थोरै परिणाममा भारततिर पैसा पठाउने गरेको देखिन्छ ।’
अन्सारी कुस्ती खेलाडी संघका पूर्वअध्यक्ष समेत हुन् । उनकी बहिनी उषाकिरण पहिलो संविधानसभाको निर्वाचनमा तत्कालीन एकीकृत माओवादीबाट समानुपातिक सांसद बनेकी थिइन् । प्रहरी अधिकारीहरुका अनुसार उनी पहिले अनौपचारिक कुराकानीमा आफू नक्कली नोटको कारोबारी नभएको दाबी गर्थें । उनी भन्थे, ‘म नक्कली नोटको कारोबारी होइन तर, मलाई जबरजस्ती हो नै भन्छन् भने किन नगर्ने ?’
हरेकपटक भारतीय नक्कली नोट बरामद हुँदा प्रत्यक्ष वा परोक्ष रुपमा युनुसको संलग्नता देखिने गरेको प्रहरी अधिकारीहरुले दाबी गर्दै आएका छन् । युनुस एकपटक वा दुईपटक मात्र होइन, पटक–पटक पक्राउ पर्दै छुट्दै आएका व्यक्ति हुन् । पछिल्लो पटक २ फागुन ०७४ मा उनी नख्खु कारागारबाट छुटेका थिए । थुनामुक्त भएको एक वर्षपछि शुक्रबार उनी ७ करोड बढी नक्कली नोटसहित पुनः नाटकीय ढंगले पक्राउ परेका छन् ।
अन्सारीको पक्राउ यसकारण पनि प्रहरीलाई सहज भयो कि उनी ७ करोड नक्कली नोटका ‘भरिया’ जसरी विमानस्थल पुगेका थिए । अघिल्ला घटनामा चाहिँ राजधानीको विभिन्न ठाउँमा बसेका बेला ‘भरिया’ मार्फत उनीकहाँ प्रहरी पुग्थ्यो । तर, योपटक पाकिस्तानी नागरिकले ल्याएको नक्कली नोटको सुटकेश लिन उनी आफैं विमानस्थल पुगे ।
आतंकवाद र गम्भीर प्रकृतिको अनुसन्धान गर्ने निकाय विशेष ब्युरोका एक कनिष्ठ अधिकारी अनलाइनखबरसँग भन्छन्, ‘यो त लु मलाई समात् भनेको जस्तो देखियो !’
अनुसन्धान अधिकारीहरु सालो र सवारी चालकलाई समेत अन्सारी आफैंले प्रहरीलाई फोन गर्न लगाएको हुनसक्ने आशंका गर्छन् । ‘नत्र पटकपटक जेल पक्राउ परिसकेर जेल पुगिसकेको व्यक्ति आफैं विमानस्थलसम्म पुग्नु आवश्यकै थिएन’, एक सुरक्षा अधिकारीले भने, ‘यसले थुप्रै शंका गर्ने ठाउँ दिएको छ । जुन विषयमाथि गहिरो अनुसन्धान हुनु आवश्यक छ ।’
विमानस्थलबाट समातिएपछि पत्रकार सम्मेलनमा उपस्थित हुँदा समेत अन्सारी मुस्कुराइरहेका थिए । उनको गुहारमा गिरफ्तार हुँदा कुनै ग्लानीको भाव थिएन । बरु पक्राउ परेकी महिला भने आफूलाई केही थाहा नभएको बताइरहेकी थिइन् ।
माक्स समेत नलगाई ढाका टोपीमा सजिएर पत्रकार सम्मेलनमा उपस्थित भएका अन्सारीले आफूले माक्स लगाउनु आवश्यकै नभएको बताए । डीआईजी थापा भन्छन्, ‘हामीले माक्स लगाउन आग्रह गरेका हौं । तर, उनैले मानेनन् ।’
अन्सारीले पुनः पुरानै समूहबाट थ्रेट महसुस गरेपछि सुरक्षित हुन आत्मसमर्पणको बाटो अपनाएको हुनसक्ने अधिकारीहरु बताउँछन् । उनी भन्छन्, ‘अहिले भारतमा नरेन्द्र मोदीको जीत भएपछि त झन् उनले असुरक्षित महसुस गरेको हुनसक्छ ।’
तर, अन्सारीको गतिविधि ओपन सेक्रेट भइसकेका उनले मोदीको जीत/हारभन्दा पनि उनी जुनसुकै वेला पनि थ्रेटमा रहने कतिपय अधिकारीको बुझाइ छ ।
प्रतिक्रिया दिनुहोस