
काठमाडौं । चालू आर्थिक वर्षको दोस्रो त्रैमाससम्म कर्णाली डेभलपमेण्ट बैंक ५९ लाख २८ हजार रुपैयाँ घाटामा रहेको छ । तेस्रो त्रैमासको वित्तीय विवरण सार्वजनिक भैरहेको अवस्थामा यस बैंकले आइतवार दोस्रो त्रैमाससम्मको वित्तीय विवरण सार्वजनिक गरेको हो । गत वर्षसम्म यस अवधिमा बैंकले ४९ लाख २३ हजार रुपैयाँ खुद नाफा गरेको थियो ।
गत वर्ष ७० लाख ३३ हजार रुपैयाँ सञ्चालन घाटामा रहेको बैंकको यस वर्ष यो घाटा रकम ५८ लाख २८ हजार रुपैयाँ रहेको हो । बैंकिङ क्षेत्रमा कायम अधिक तरलता , लगानीको अवसरहरुको कमि , नीतिगत परिवर्तन र प्रतिस्पर्धाका कारण सञ्चालनमा भएको परिवर्तनले बैंकको नाफामा प्रतिकुल असर परेको कम्पनीले प्रष्ट पारेको छ ।
हाल कम्पनीको चुक्तापूँजी ५० करोड २८ लाख ३० हजार रुपैयाँ छ । गत वर्षको तुलनामा कम्पनीको चुक्तापूँजीमा कुनै परिवर्तन देखिएको छैन् । जगेडा कोष रकम पनि स्थिर रहेको छ । गत वर्ष २ करोड २३ लाख ४२ हजार रुपैयाँ रहेको कम्पनीको जगेडा कोष रकममा कुनै परिवर्तन नदेखिएको हो । कम्पनीको निक्षेप संकलन गत वर्षभन्दा ७ प्रतिशत र कर्जा प्रवाह साढे १३ प्रतिशत बढी भएको छ ।
गत वर्ष यस अवधिसम्म कम्पनीले ३ अर्ब ३७ करोड २७ लाख ११ हजार रुपैयाँ निक्षेप संकलन गरेकोमा यस वर्ष ३ अर्ब ६१ करोड ७६ लाख २५ हजार रुपैयाँ गरेको छ । त्यस्तै , गत वर्ष २ अर्ब १५ करोड ९९ लाख ७५ हजार रुपैयाँ कर्जा प्रवाह गरेको कम्पनीले यस वर्ष २ अर्ब ४५ करोड २१ लाख २६ हजार रुपैयाँ प्रवाह गरेको हो ।
गत वर्षभन्दा यस वर्ष कम्पनीको निष्क्रिय कर्जा अनुपात घटेको छ । गत वर्ष २ दशमलव ९७ प्रतिशत रहेको कम्पनीको निष्क्रिय कर्जा यस वर्ष १ दशमलव १४ प्रतिशतमा सिमित भएको हो । घाटामा रहेको कम्पनीको प्रतिशेयर आम्दानी पनि १ दशमलव १३ रुपैयाँ ऋणात्मक छ भने प्रतिशेयर नेटवर्थ १०४ दशमलव ६४ रुपैयाँ रहेको छ ।
प्रतिक्रिया दिनुहोस