
काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले सहयोगी विकास बैंकलाई प्राप्ती गर्ने प्रस्ताव पारित गर्न जेठ २७ गते विशेष साधारण सभा बोलाएको छ । यस अघि चैत १० गते लकडाउनका कारण स्थगित पाँचौ विशेष साधारण सभा बैंकले पुनः बोलाएको हो । बैंकको प्रधानकार्यालय दरबारमार्ग, काठमाडौंमा विहान ११ बजेका लागि तय गरिएको सभाले प्राप्ति सम्बन्धीको पस्ताव पारित गर्नेछ ।
सभाले सहयोगी विकास बैंकको १०० कित्ता शेयर बराबर सिटिजन्स बैंक इन्टरनेसनलको ९१ दशमलव ७५ कित्ता शेयर आदान प्रदान अनुपात कायम गर्ने गरि प्राप्ति गर्न स्वीकृति प्रदान गर्नेछ । यी दुबै कम्पनीविच गत असार २२ गते प्राप्ति सम्बन्धी सम्झौता भएको थियो । उक्त सम्झौतालाई नेपाल राष्ट्र बैंकले सैद्धान्तिक सहमति प्रदान गरिसकेकाले अन्तिम सम्झौताका लागि सभा मार्फत प्रस्ताव पारित गर्न लागिएको हो ।
उता, सहयोगी विकास बैंकले पनि प्रािप्त लगाएत लाभांश प्रस्ताव पारित गर्न जेठ २४ गतेका लागि १६ औं वार्षिक साधारण सभा बोलाएको छ । यस अघि सहयोगी विकास बैंकले पनि गत चैत १० गतेका सभा बोलाएको थियो । लकडाउनका कारण स्थगित सभा बैंकले पुनः आव्हान गरेको हो ।
बैंकको केन्द्रिय कार्यालय जनकपुरधाम , धनुषामा दिनको २ बजे आयोजना हुने सभाले प्रस्तावित १८ दशमलव ७२ प्रतिशत नगद लाभांश पारित गर्नुका साथै सिटिजन्स बैंक इन्टरनेशनलसँग बिलय हुने प्रस्ताव समेत पारित गर्नेछ । प्राप्ती प्रयोजनका लागि सहयोगीको शेयर कारोबार गत असार २३ गतेदेखि बन्द रहेको छ ।
सहयोगी विकास बैंकलाई प्राप्ती गरेपश्चात सिटिजन्स बैंक इन्टरनेसनलको जारी तथा चुक्तापूँजी साविकको ८ अर्ब ६२ करोड २१ लाख ९६ हजार रुपैयाँदेखि बृद्धि भइ ९ अर्ब ८ करोड ९८ लाख १७ हजार रुपैयाँ पुग्नेछ । चुक्ताूपूँजी बृद्धि हुने भएकाले आगामी सभाले सोही बमोजिम हुने गरि बैंकको प्रबन्धपत्र संशोधन समेत गर्नेछ ।
प्रतिक्रिया दिनुहोस