aarthiknews.com शुक्रबार, १० जेठ २०८२   Friday, 23 May, 2025
 

सारथीसँग गाभिन लागेको नयाँ नेपालले बोलायो विशेष साधारण सभा

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • विहीबार, २२ जेठ २०७७
सारथीसँग गाभिन लागेको नयाँ नेपालले बोलायो विशेष साधारण सभा

काठमाडौं । सारथी लघुवित्त वित्तीय संस्थासँग मर्जरमा जान लागेको नयाँ नेपाल लघुवित्त वित्तीय संस्थाले असार ८ गते विशेष साधारण सभा बोलाएको छ । कम्पनीले मर्जर सम्बन्धी सम्झौतालाई अन्तिम रुप विशेष साधारण सभा मार्फत दिन लागेको हो ।

कम्पनीको जेठ २० गतेको सञ्चालक समितिको निर्णय अनुसार म्याकडोनाल्ड फुड क्याफे रेष्टुरेन्ट एण्ड क्याफे, मध्यवानेश्वर, काठमाडौंमा विहान ११ बजे सभा सुरु हुनेछ । सारथी लघुवित्तको १ कित्ता शेयर बराबर नयाँ नेपाल लघुवित्तको पनि १ कित्ता शेयर आदानप्रदान गर्ने सम्झौता बमोजिम यी दुई कम्पनी एक आपसमा गाभिन लागेका हुन ।

दुई कम्पनी एक भएपश्चात कम्पनीको नाम सारथी नेपाल लघुवित्त वित्तीय संस्था रहने प्रस्तावलाई समेत सभाले पारित गर्नेछ । मर्जर पश्चात बन्ने सञ्चालकहरुको मनोनयनलाई अनुमोदन गर्ने र पुराना सञ्चालकहरुको कार्यकाल स्वतः समाप्त भएको मानिनुका साथै नयाँ सञ्चालकहरुको कार्यकाल आगामी साधारण सभा नभएसम्मका लागि कायम रहने प्रस्ताव समेत सभाका लागि तय भएको छ ।

साथै, मर्जर कार्य सम्पन्न गर्न आवश्यक सम्पूर्ण कामको जिम्वेवारी समेत सभाले सञ्चालक समितिलाई प्रदान गर्नेछ । एक आपसमा गाभ्ने गाभिने प्रयोजनका लागि नयाँ नेपाल लघुवित्तको शेयर कारोबार गत माघ २१ गतेदेखि रोक्का रहेको छ । 

सारथीले पनि मर्जर सम्बन्धी प्रस्ताव पारित गर्न असार ५ गते विशेष साधारण सभा बोलाएको छ । दियालो फुडल्याण्ड, बसुन्धरा, काठमाडौंमा विहान ८ बजे बोलाईएको विशेष साधारण सभाले मर्जर सँगै १ बराबर १ को अनुपातमा हकप्रद शेयर जारी गर्ने प्रस्ताव समेत पारित गर्नेछ । हकप्रद पश्चात थप साधारण शेयर निष्कासन गर्ने प्रस्ताव समेत सारथीले सभाका लागि तय गरेको छ । 
 

प्रतिक्रिया दिनुहोस