
काठमाडौं । चालू आर्थिक वर्षको तेस्रो त्रैमाससम्म नेपाल सेवा लघुवित्तले १ लाख ६२ हजार रुपैयाँ खुद नाफा गरेको छ । कम्पनीले सार्वजनिक गरेको तेस्रो त्रैमाससम्मको वित्तीय विवरण अनुसार खुद नाफा गत वर्षको तुलनामा ८७ दशमलव ५९ प्रतिशत घटेको हो । गत वर्ष यस अवधिसम्म कम्पनीको यो नाफा १३ लाख ६ हजार रुपैयाँ थियो ।
गत वर्षको भन्दा यस वर्ष एक सय प्रतिशत बढी खराब कर्जा संकलन गरेको कम्पनीको निष्क्रिय कर्जाको अनुपात घटेको छ । गत वर्ष तेस्रो त्रैमाससम्म कम्पनीले १ करोड ३ लाख ८३ हजार रुपैयाँ खराब कर्जा उठाएको थियो ।
यस वर्ष भने २ करोड ८ लाख ४१ हजार रुपैयाँ खराब कर्जा उठाएको कम्पनीले निष्क्रिय कर्जा २ दशमलव ७७ प्रतिशतदेखि घटाएर १ दशमलव ७५ प्रतिशतमा सिमित गरेको छ । खुद ब्याज आम्दानी पनि कम्पनीको गत वर्षभन्दा यस वर्ष साढे ८ प्रतिशत बढी भएको छ । गत वर्ष यस अवधिसम्म १ करोड ७२ लाख ३२ हजार रुपैयाँ खुद ब्याज आम्दानी गरेको कम्पनीले यस वर्ष १ करोड ८६ लाख ९९ हजार रुपैयाँ यो आम्दानी गरेको हो ।
खराब कर्जा संकलन र खुद ब्याज आम्दानी बढाएको कम्पनी तेस्रो त्रैमाससम्म २ करोड ४ लाख १० हजार रुपैयाँ सञ्चालन घाटामा रहेको छ । सम्भावित जोखिम शिर्षकमा बढी रकम छुट्याएकाले कम्पनीको सञ्चालन घाटा रकम गत वर्षभन्दा बढी देखिएको छ । गत वर्ष यस अवधिसम्म कम्पनी ८० लाख ५ हजार रुपैयाँ सञ्चालन घाटामा थियो ।
गत वर्ष सम्भावित जोखिम शिर्षकमा १ करोड ५५ लाख ७८ हजार रुपैयाँ छुट्याएको कम्पनीले यस वर्ष २ करोड ४५ लाख ९७ हजार रुपैयाँ छुट्याएको छ । हाल यस कम्पनीको चुक्तापूँजी ६ करोड रुपैयाँ रहेको छ । जगेडा कोषमा गत वर्षभन्दा ६५ प्रतिशत कम १६ लाख ४१ हजार रुपैयाँ रकम कायम छ ।
चैत ११ गतेदेखि देशमा जारी भएको लकडाउनका कारण ऋण लगानी , बचत संकलन लगाएतका काराबार गर्न नसकिएको कम्पनीले वित्तीय विवरण मार्फत जानकारी गराएको छ । यस कम्पनीले हाल ५ जिल्लामा १७ वटा शाखा कार्यालय मार्फत १० हजारभन्दा बढी सदस्यहरुलाई सेवा प्रदान गरिरहेको छ । प्रतिशेयर नेटवर्थ १०२ दशमलव ७४ रुपैयाँ रहेको यस कम्पनीको वार्षिक प्रतिशेयर आम्दानी शून्य दशमलव ८१ रुपैयाँ रहेको छ ।
प्रतिक्रिया दिनुहोस