
काठमाडौं । विश्व बैंकले नेपालको सडक पूर्वाधार विकास गर्नका लागि करिब ५४ अर्ब ४५ करोड रुपैयाँ सहयोग स्वीकृत गरेको छ । विश्व बैंकले नेपालका सडक सञ्जाल सुधार, अन्तरदेशिया व्यापार र कोरोनासँग जुध्नका लागि ४५ करोड अमेरिकी डलर सहयोग स्वीकृत गरेको हो ।
विश्व बैंकले कोभिड १९ पछिको आर्थिक पुनरुत्थान, क्रस बोर्डर व्यापार, रोजगारी सृजना, महिला शसक्तिकरण र सडक सुरक्षामा खर्च गर्न यो आर्थिक सहयोग गरेको जनाएको छ । नेपाललाई कोरोनासँग लड्न, सुरक्षित सडकमा चाँडो र सुरक्षित यात्रा तथा समान ढुवानीको व्यवस्थाका लागि सहयोग गरिएको पनि विश्व बैंकले बताएको छ ।
‘कोभिड १९ को त्रासमा नागरिकको जीवन रक्षा र आर्थिक पुनरुत्थानको आवश्यकता प्रथामिकतामा हुनुपर्छ’, विश्व बैंक कन्ट्री मेनेजर फारिस हदाद जर्भेसले प्रेस विज्ञप्तीमा भनेका छन् । नेपाल रणनीतिक सडक सञ्जाल र व्यापार प्रवर्धन परियोजनाले नागढुंगा–नौबिसे–मुग्लिन सडक तथा कमला–ढल्केबर–पथलैया सडकको स्तरोन्नतिमा केन्द्रीत गरिने छ ।
नागढुंगा–नौबिसे–मुग्लिन सडक विस्तार गर्न नेपाल सरकार(अर्थ मन्त्रालय) र विश्व बैंंकबीच गत वर्षदेखि नै छलफल शुरु गरिएको थियो । उक्त पूर्वाधार निर्माणको लागि सरकारको २० अर्ब रुपैयाँ ऋण लिने तयारी थियो । नारायणगढ–मुग्लिन सडकको विस्तार पनि विश्व बैंककै ऋण सहयोगबाट गरिएको हो ।
यी दुबै सडक नेपाल–भारत व्यापार र कनेक्टीभीटीका लागि महत्वपूर्ण मानिन्छन् । परियोजनाले सीमा नाकामा पूर्वाधार तथा सरसफाईका साथै कृषि उपजको अभिवृद्धि र निर्यातमा पनि महत्वपूर्ण मानिने छ ।
प्रतिक्रिया दिनुहोस