
काठमाडौं । एक्सेल डेभलपमेण्ट बैंकको चैत २० गते स्थगित भएको साधारणसभा पुन आव्हान गरेको छ । बैंकको १४ औं वार्षिक साधारण सभा असार १४ गते बोलाएको हो । कम्पनीको असार २ गतेको सञ्चालक समितिको बैठकले होटल टाईमलेस मुमेन्टस, विर्तामोड , झापामा अपरान्ह १ बजे सभा गर्ने निर्णय गरेको हो । गत आर्थिक वर्ष २०७५/७६ को मुनाफाबाट १७ दशमलव १० प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि शून्य दशमलव ९० प्रतिशत नगद लाभांश सभाले पारित गर्नेछ ।
कम्पनीको १३ औं वार्षिक साधारण सभाले पारित गरेको ५५ प्रतिशत हकप्रद शेयर निष्कासन गर्न बाँकी रहेकाले बोनस पश्चात कायम चुक्तापूँजी ८१ करोड ११ लाख २१ हजार रुपैयाँको आधारमा ३० प्रतिशत हकप्रद शेयर निष्कासन गर्ने प्रस्ताव समेत सभाका लाागि तय भएको छ । यस अघि कम्पनीले ६९ करोड २६ लाख ७३ हजार रुपैयाँ चुक्तापूँजीको आधारमा ५५ प्रतिशत हकप्रद शेयर निष्कासन गर्ने निर्णय गरेको हो ।
सभाले संचालन समितिमा रिक्त संचालक पदमा बाँकी अवधिका लागि गरेको संचालन नियुक्ति र स्वतन्त्र संचालकको नियुक्ती अनुमोदन गर्नेछ । कम्पनीले अन्य कुनै बैंक तथा वित्तीय संस्थासँ मर्जर तथा एक्विजिशन गर्ने अवस्थामा सम्पूर्ण अख्तियारी सञ्चालक समितिलाई दिने निर्णय पनि सभाले गर्नेछ ।
साधारण सभा र लाभांश प्रयोजनका लागि कम्पनीले चैत ७ गतेदेखि बुक क्लोज गरेको छ । यसर्थ चैत ६ गतेसम्म कायम भएका शेयरधनीहरुले सभामा भाग लिन र लाभांश प्राप्त गर्न सक्नेछन् ।
प्रतिक्रिया दिनुहोस