
काठमाडौं । सिभिल लघुवित्त वित्तीय संस्थाले १० प्रतिशत लाभांश र शतप्रतिशत हकप्रद निष्कासनको प्रस्ताव सहित असार २६ गते ८ औं वार्षिक साधारण सभा बोलाएको छ । कम्पनीको असार ३ गतेको सञ्चालक समितिको बैठकले होटल आर्किट परिसर, त्रिपुरेश्वर, काठमाडौंमा बिहान ११ बजे सभा गर्ने निर्णय गरेको हो । कम्पनीले हाल कायम चुक्तापूँजी ११ करोड ४१ लाख १४ हजार रुपैयाँको आधारमा ५ प्रतिशत बोनस शेयर र बोनस कर प्रयोजन समेत गरी ५ १० प्रतिशत लाभांश दिने प्रस्ताव गरेको छ ।
उक्त प्रस्ताव सहित सर्वसाधारण शेयरधनीतर्फबाट १ जना सञ्चालकको निर्वाचन समेत सभाले गर्नेछ । यस वाहेक गत आर्थिक वर्ष २०७५÷७६ को वार्षिक प्रतिवेदन पारित तथा चालू आवको लागि लेखापरिक्षक नियुक्ती र निजको पारिश्रमिक निर्धारणको कार्यक्रम पनि सभाका लागि तय भएको छ । साधारण सभा प्रयोजनका लागि कम्पनीले असार १५ गते एक दिन बुक क्लोज गर्ने बताएको छ ।
उक्त मिति कम्पनीले निष्कासन गर्न लागेको शतप्रतिशत हकप्रदको लागि पनि भएको कम्पनीले नेपाल स्टक एक्सचेञ्ज मार्फत सार्वजनिक गरेको सुचनामा उल्लेख छ । सिभिल लघुवित्तले गत फागुन १४ गतेनै नियामक निकाय नेपाल धितोपत्र बोर्डबाट शतप्रतिशत हकप्रद शेयर निष्कासनका लागि स्वीकृति पाएको छ ।
स्वीकृत पाएको दुई महिनाभित्र सार्वजनिक निष्कास गरिसक्नुपर्ने अवस्थामा लकडाउनका कारण निष्कासन प्रकृया रोकिएको थियो । बुक क्लोजको मिति तय गरेसँगै कम्पनीले हकप्रद निष्कासन प्रकृयालाई अघि बढाएको बुझिन्छ ।
प्रतिक्रिया दिनुहोस