aarthiknews.com शनिबार, ३२ जेठ २०८२   Saturday, 14 June, 2025
 

उन्नती र सहकार्य लघुवित्तले असार २६ गतेदेखि एकिकृत कारोबार

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • सोमबार, ०८ असार २०७७
उन्नती र सहकार्य लघुवित्तले असार २६ गतेदेखि एकिकृत कारोबार

काठमाडौं । उन्नती लघुवित्त वित्तीय संस्था र सहकार्य लघुवित्त वित्तीय संस्थाले मर्जर प्रकृया सम्पन्न गरी असार २६ गतेदेखि एकिकृत कारोबार सुरु गर्ने भएका छन् । मर्जरपश्चात उन्नती सहकार्य लघुवित्त वित्तीय संस्थाको नामबाट कारोबार सुरु गर्न लागिएको हो । 

१५ जिल्ला कार्यक्षेत्र भएको उन्नती लघुवित्त र १० जिल्ला कार्यक्षेत्र भएको सहकार्य लघुवित्तले मर्जरका लागि फागुन १८ गते नेपाल राष्ट्र बैंकबाट अन्तिम स्वीकृति पाएका थिए । दुबै कम्पनीले गत पुस २९ गते साधारण सभा सम्पन्न गरि मर्जर सम्बन्धी प्रस्ताव पारित गरेका थिए । 

मर्जर पश्चात उन्नती सहकार्य लघुवित्त वित्तीय संस्थाको रजिष्ट्रार कार्यालय सिद्धार्थनगर नगरपालिका वडा नम्वर १ , रुपन्देहीमा रहनेछ । यी दुई कम्पनी सहकार्य लघुवित्तको १०० कित्ता शेयर बराबर उन्नती लघुवित्तको ७५ कित्ता शेयर आदान प्रदान गर्ने सहमति अनुसार मर्जरमा गएका हुन । मर्जरपश्चात कम्पनीको शेयर स्वामित्व अनुपात संस्थापकतर्फ ७५ दशमलव ४५ र सर्वसाधारणतर्फ २४ दशमलव ५५ कायम भएको छ ।

एकिकृत कारोबार गर्दा दुबै संस्थाको तथ्याङ्कलाई एउटै सफ्टवेयरमा मिलाउनुपर्ने भएकाले असार २५ गते एक दिन दुबै संस्थाको सेवा बन्द हुने भएको छ । मर्जर पश्चात चुक्तापूँजी  १४ करोड ९५ लाख ३६ हजार रुपैयाँ पुगेको छ । 

मर्जर पश्चात कायम चुक्तापूँजीको शतप्रतिशत हकप्रद शेयर निष्कासन गर्ने प्रस्ताव समेत उन्नतीको गत पुस २९ गतेको पाँचौ वार्षिक साधारण सभा ले पारित गरेको छ । मर्जर प्रयोजनका लागि उन्नतीको शेयर कारोबार गत साउन १० गतेदेखिनै बन्द रहेको छ ।
 

प्रतिक्रिया दिनुहोस