
काठमाडौं । एनआइसी एशिया लघुवित्त वित्तीय संस्थाको आइपीओ शुक्रबार प्रि अलोटमेण्ट हुने भएको छ । विक्री प्रबन्धक सानिमा क्यापिटलले विहान १० बजे प्रि अलोटमेण्ट गर्ने जानकारी दिएको हो । आईपीओ बाँडफाँट गर्नुपूर्व तीन कार्यदिन अघि प्रि अलोटमेण्ट गर्नुपर्ने व्यवस्था छ ।
सोहि व्यवस्था बमोजिम क्यापिटलले प्रकृया पुरा गर्न लागेको हो । प्रि अलोटमेण्ट गरेको तीन कार्यदिनभित्र आईपीओ बाँडफाँट गर्नुपर्ने व्यवस्था अनुसार सोमबार बाँडफाँट गर्नुपर्ने हुन्छ । क्यापिटलले बोर्डले निर्देशन दिएमा त्यस अघि पनि गर्न सकिने बताएको छ ।
एनआईसी एशिया लघुवित्तको आईपीओमा ४ लाख १४ हजार १८० जनाको आवेदन परेको छ । विक्री प्रबन्धक सानिमा क्यापिटलले दिएको जानकारी अनुसार यस आईपीओमा २ करोड ३० लाख ६५ हजार ३९० कित्ताको माग गर्दै आवेदन परेको छ ।
जुन मागभन्दा ५ गुणा बढी हो । अहिलेको व्यवस्था अनुसार सबै आवेदकलाई १० कित्ता पर्ने र बाँकी गोलाप्रथाद्वारा वितरण गर्दा बढी पाउनेले २० कित्तासम्म पाउने देखिन्छ ।
असार १० गतेदेखि १४ गतेसम्म कम्पनीले सर्वसाधारणका लागि छुट्याएको कुल ४७ लाख ५५ हजार कित्ता मध्य ७४ हजार कर्मचारीहरुको लागि सुरक्षित गरि २ लाख ३७ हजार ८०० कित्ता सामूहिक लगानी कोषको लागि बाँडफाँट पश्चात बाँकी ४४ लाख ४३ हजार २०० कित्ता शेयर सार्वजनिक निष्कासन मार्फत विक्री गरेको हो ।
हाल रू. १ अर्ब ४५ लाख चुक्तापूँजी रहेको कम्पनीको आईपीओ पश्चात रू. १ अर्ब ४८ करोड पुग्नेछ ।
प्रतिक्रिया दिनुहोस