काठमाडौं । नेपाल राष्ट्र बैंकले विद्युतीय भुक्तानीलाई सहज बनाउन राष्ट्रिय भुक्तानी द्वार (नेशनल पेमेन्ट स्वीच) स्थापना गर्ने भएको छ । बैकिङ कारोबार र अन्य विद्युतीय भुक्तानी सम्बन्धी खुद्रा कारोबारलाई एकीकृत गर्न नेशनल पेमेन्ट स्वीच स्थापना गर्न लागिएको राष्ट्र बैंकका डेपुटी गभर्नर चिन्तामणि शिवाकोटीले बताए ।
‘राष्ट्र बैंकले सञ्चालन गर्ने तयारी गरिरहेको स्वीचले विद्युतीय भुक्तानीको कारोबारका लागि एकीकृत प्लेटफर्म उपलब्ध गराउँछ,’ उनले भने ‘स्वीचले सबै प्रकारका भुक्तानी प्रणालीलाई एकीकृत गरी मास्टर स्वीचका रुपमा सूचना एकीकृत गर्ने काम गर्दछ ।’ स्वीचले देशभित्रको विद्युतीय भुक्तानीको कारोबारमा आन्तरिक राउटिङ गर्ने गर्दछ ।
राष्ट्र बैंकले नेशनल पेमेन्ट स्वीच स्थापना गर्ने तयारी स्वरुप नेपाल क्लियरिङ हाउस (एनसीएचएल) लाई सो काम गर्न सक्छ कि सक्दैन, कति खर्च लाग्छ, कति प्राविधिक आवश्यक पर्छ, यो प्रणाली विकास गर्न कति समय लाग्छ सो समेटेर अवधारणा पत्र पेश गर्न भनिएको थियो ।
‘नेपाल क्लियरिङ हाउसबाट सो अवधारणा पत्र राष्ट्र बैंक आइसकेको छ,’ उनले भने ‘यस विषयमा राष्ट्र बैंक भुक्तानी प्रणाली विभागले अध्ययन गरिरहेको छ ।’ ‘आर्थिक वर्ष २०७७÷७८ को मौद्रिक नीतिमा नेशनल पेमेन्ट स्वीच प्रणाली सञ्चालन गर्ने बारे घोषणा गर्ने तयारी राष्ट्र बैंकले गरेको छ,’ उनले भने स्वीच स्थापनाको प्रारम्भिक काम शुरु भएको छ ।’ ।
एनसीएचएलले सो अवधारण पत्र बुझाइ सकेको पनि छ । यसको अध्ययन भइरहेको राष्ट्र बैंक भुक्तानी प्रणाली विभागका कार्यकारी निर्देशक रेवतीप्रसाद नेपालले बताए । ‘राष्ट्र बैंकले स्वीच प्रणाली विकास गर्ने क्रममा एनसीएचएललाई एउटा विकल्पको रुपमा लिइएको हो,’ नेपालले भने ‘उसले गर्न सक्छ कि सक्दैन, त्यो भने हेर्न नै वाँकी छ ।’
यो प्रणाली लागू भएपछि आम सेवाग्राहीलाई आफूले एउटै माध्यमबाट बैकिङ कारोबार गर्न सक्छन् भने नियामक निकायले विभिन्न माध्यमबाट भएको भुक्तानीको सूचना एकीकृत रुपमा थाहा पाउन सकिन्छ ।’ भुक्तानी प्रणालीको कारोबारलाई एकीकृत गर्न शुरु गर्न लागिएको उक्त प्रणाली सञ्चालनमा आएपछि सेवाग्राहीले विभिन्न वालेट तथा सेवा प्रयोग गर्नु पर्दैन ।
हाल नेपाल इलेक्ट्रोनिक पेमेन्ट सिस्टम लिमिटेड (नेप्स), नबिल, हिमालयन, स्ट्याण्डर्ड चार्टड, नेपाल इन्भेष्टमेन्ट बैंकले आफ्नै स्वीच सञ्चालन गरिरहेका छन् । भीसा, मास्टर कार्ड वा युनियन पे, सेल पे, जस्ता नेटवर्क अन्तर्गतको बैंक कार्डबाट भुक्तानी गर्दा सम्बन्धित नेटवर्कसम्म सूचना पुगेर मात्रै भुक्तानी हुन्छ ।
स्वीच प्रणालीमार्फत बैंक तथा वित्तीय संस्थाको मोबाइल बैकिङ, इन्टरनेट बैकिङलाई समेत एकीकृत गर्नेछ । राष्ट्रिय सूचना प्रविधि केन्द्रले सरकारी राजस्व संकलन र भुक्तानी एकद्वारबाट गर्न नेशनल पेमेन्ट गेटवे खरीद गरेको छ ।
यो सहित नेपाल क्लियरिङ हाउस लिमिटेड (एनसीएचएल), ईसेवा, खल्ती जस्ता भुक्तानी सेवा प्रदायक संस्थाले चलाएका स्थानीय गेटवेलाई पनि राष्ट्र बैंकको स्वीचमा एकीकृत गरिने राष्ट्र बैंकले जानकारी दिएको छ । चेक क्लियरिङको काम गर्न स्थापना भएको एनसीएचएलले पनि अहिले पेमेन्ट गेटवेका रुपमा काम गरिरहेको छ ।
नेपाल बैंकर्स संघले पनि आगामी आर्थिक वर्षको मौद्रिक नीतिको सुझाव दिँदा ‘नेशनल पेमेन्ट स्वीच’ स्थापना गर्न सुझाएको छ ।
प्रतिक्रिया दिनुहोस