aarthiknews.com आइतबार, ०१ असार २०८२   Sunday, 15 June, 2025
 

ऋण तिर्नका लागि मानसिक दबाब नदिन आग्रह

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • बुधबार, २४ असार २०७७
ऋण तिर्नका लागि मानसिक दबाब नदिन आग्रह

कास्की । कोभिड–१९ को महामारीसँगै नेपालमा जारी बन्दाबन्दीका कारण पर्यटन क्षेत्र प्रभावित भएको अवस्थामा पश्चिमाञ्चल होटल संघ पोखराले कर्जाको साँवा र ब्याज भुक्तानीका लागि ताकेता नगर्न बैंक तथा वित्तीय संस्थाहरुसँग आग्रह गरेको छ । पर्यटन तथा होटल क्षेत्रलाई असार मसान्तको कारण देखाउँदै बैंक तथा वित्तीय क्षेत्रबाट साँवा तथा ब्याज भुक्तानीका निम्ति गरिएको ताकेताप्रति संघले ध्यानाकर्षण भएको भन्दै त्यस्तो आग्रह गरेको हो ।

होटल सङ्घका अध्यक्ष विकल तुलाचनद्वारा जारी विज्ञप्तिमा भनिएको छ, “हाल कुनै पनि व्यवसायीले कर्जा भुक्तान गर्ने स्थिति नरहेको प्रति जानकार हुँदाहुदै कर्जा भुक्तानको लागि बैंक तथा वित्तीय क्षेत्रबाट ताकेता तथा मानसिक दबाब दिँदा असहज परिस्थिति उत्पन्न हुने र  त्यस असहज परिस्थितिको भागीदार बैंक तथा वित्तीय क्षेत्र हुने पनि जानकारी गराउँदछौँ ।”

संघले सरकारद्वारा हाल होटल व्यवसायलाई बन्द नै घोषणा गरी सो अनुसार व्यवसाय पूर्णरूपमा बन्दाबन्दी भएको अवस्थामा बैंकको कर्जाको साँवा तथा ब्याज भुक्तान गर्न असमर्थ रहेको उल्लेख गरेको छ । यसैगरी सङ्घले पुनर्कर्जाको कार्यविधि जारी गर्न नेपाल राष्ट्र बैंकले ढिलाइ गरेको प्रति पनि आपत्ति प्रकट गरेको छ । वर्तमान परिस्थितिमा नेपाल राष्ट्र बैंकले पुनर्कर्जाको कार्यविधि र मौद्रिक नीति असार महिनाभित्र नै जारी गर्नु पर्नेमा साउन महिनामा जारी गर्न गरेको तयारीप्रति सङ्घले असन्तुष्टि व्यक्त गरेको हो । 

सरकारद्वारा घोषणा गरिएको लकडाउनका कारण पर्यटन तथा होटल क्षेत्र विगत साढे तीन महिनादेखि बन्दाबन्दी भई व्यावसायिक कारोबार शून्य रहेको र यसबाट पर्यटन तथा होटल व्यवसाय प्रत्यक्ष प्रभावित भएको सङ्घले जनाएको छ । संयुक्त राष्ट्र सङ्घअन्तरगत  विश्व पर्यटन संस्थाबाट समेत विश्वका सम्पूर्ण राष्ट्रहरुलाई  पर्यटन तथा होटल व्यवसाय सबैभन्दा पहिले प्रभावित हुने र पुरानो लयमा आउन केही वर्ष लाग्ने उद्योग भएको स्मरण गराइएको छ । रासस

प्रतिक्रिया दिनुहोस